Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

जलविद्युत् कम्पनीको आईपीओमा कडाइ

नेटवर्थ, प्राविधिक परीक्षण, आयोजना प्रगति र रकम उपयोगमा कडाइ प्रस्ताव भएपछि निर्माणाधीन जलविद्युत् आयोजनाको पुँजी परिचालन मोडलमै प्रश्न उठेको छ ।

जलविद्युत् कम्पनीको आईपीओमा कडाइ
A A+ A-

काठमाडौं । नेपालमा जलविद्युत् आयोजना निर्माणका लागि बैंक ऋण र संस्थापकको लगानीसँगै सर्वसाधारणबाट उठाइने प्राथमिक सेयर अर्थात् आईपीओ प्रमुख पुँजी स्रोत बन्दै आएको छ ।

आयोजना निर्माणाधीन अवस्थामै सर्वसाधारणलाई सेयर बेचेर पुँजी जुटाउने अभ्यासले निजी क्षेत्रलाई ठूलो परियोजनामा प्रवेश गर्न सहज बनाएको छ भने लाखौँ सर्वसाधारणलाई जलविद्युत् आयोजनाको लगानीकर्ता बन्ने अवसर दिएको छ ।

यही मोडलमा अब नेपाल धितोपत्र बोर्डले कडा नियामकीय लगाम लगाउने तयारी गरेको छ ।

बोर्डले असोज १ गते सार्वजनिक गरेको ‘सार्वजनिक निष्कासनको सामान्य योग्यता सम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदाले आईपीओ निष्कासन गर्न चाहने कम्पनीका लागि वित्तीय अवस्था, संस्थागत सुशासन, आयोजना कार्यान्वयन, प्राविधिक परीक्षण, व्यवस्थापनको योग्यता र आईपीओबाट उठेको रकमको उपयोगसम्म विस्तृत मापदण्ड प्रस्ताव गरेको छ ।

मस्यौदा अहिले सुझावका लागि सार्वजनिक गरिएको हो, त्यसैले यसका सबै व्यवस्था अन्तिम रूपमा लागू भइसकेका छैनन् ।

जलविद्युत् क्षेत्रका लागि सबैभन्दा ठूलो प्रभाव भने प्रतिसेयर नेटवर्थको प्रस्तावित सीमाले पार्ने देखिन्छ । मस्यौदाको दफा १६ अनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ अंकित मूल्यभन्दा कम हुनु हुँदैन ।

अहिले अधिकांश साधारण आईपीओको अंकित मूल्य १०० रुपैयाँ भएकाले यो व्यवस्था हुबहु लागू भए प्रतिसेयर नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनीले त्यही संरचनामा आईपीओ निष्कासन गर्न सक्ने छैनन् ।

बोर्डले उद्योग वा क्षेत्रअनुसार न्यूनतम खुद सम्पत्तिको छुट्टै मापदण्ड तोक्न सक्ने व्यवस्था पनि मस्यौदामा राखेको छ ।

समस्या यति मात्र होइन । निर्माणाधीन जलविद्युत् आयोजनामा परियोजनाको वास्तविक प्रगति, लागत, ऋण दायित्व, उत्पादन सुरु हुने समय र आम्दानी आउने चरणबीच ठूलो अन्तर हुन्छ ।

त्यसैले निर्माणकै चरणमा कम्पनीको नेटवर्थलाई मात्र आधार बनाएर आईपीओको योग्यता निर्धारण गर्दा परियोजनाको वास्तविक वित्तीय चक्रसँग नियमन नमेलिन सक्ने प्रश्न पनि उठेको छ । यही बिन्दुमा नियामक र ऊर्जा उद्यमीबीचको बहस तीव्र बनेको छ ।

९० बाट १०० रुपैयाँसम्मको यात्रा

अंकित मूल्यमा आईपीओ निष्कासन गर्ने कम्पनीको नेटवर्थसम्बन्धी बहस नयाँ होइन । पछिल्ला केही वर्षदेखि प्रतिसेयर नेटवर्थ ९० रुपैयाँभन्दा कम भएका कम्पनीको आईपीओ स्वीकृतिमा रोक लगाउने अभ्यास हुँदै आएको छ ।

यसको पृष्ठभूमिमा प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २०८० पुसमा प्रतिसेयर नेटवर्थ ९० रुपैयाँभन्दा कम भएका कम्पनीलाई सेयर बिक्री नगर्न दिएको निर्देशन जोडिएको छ । त्यसपछि सेबोनले त्यस्ता कम्पनीलाई आईपीओ पाइपलाइनबाट हटाउँदै आएको थियो ।

सेबोनकै पछिल्ला आवेदन विवरणले पनि यसको प्रत्यक्ष प्रभाव देखाउँछ । उदाहरणका लागि रिचेट जलविद्युत् कम्पनी र बेनी हाइड्रोपावर प्रोजेक्टले प्रतिसेयर नेटवर्थ ९० रुपैयाँ नाघेपछि पुनः आवेदन दिएको विवरण बोर्डको अभिलेखमा छ ।

रिचेटले १६ लाख ८९ हजार ५०० कित्ता र बेनी हाइड्रोपावरले २० लाख ८० हजार कित्ता सेयर निष्कासनका लागि आवेदन दिएका थिए ।

अब प्रस्तावित मस्यौदाले यही अभ्यासलाई अझ औपचारिक र कडा बनाउने संकेत गरेको छ ।

९० रुपैयाँको प्रशासनिक अभ्यासबाट १०० रुपैयाँको प्रस्तावित मापदण्डमा पुग्दा अंकित मूल्यमा आईपीओ ल्याउने कमजोर नेटवर्थ भएका कम्पनीका लागि बजारमा प्रवेश थप कठिन हुनेछ ।

सेबोनका अधिकारीहरूको तर्क भने यो व्यवस्था सबै क्षेत्रका लागि अन्तिम र स्थिर सीमा नभएको भन्ने छ ।

मस्यौदामा नै बोर्डले उद्योग वा व्यवसायको प्रकृति, आकार, जोखिम, पुँजी संरचना तथा अन्य आधारमा फरक योग्यता निर्धारण गर्न सक्ने व्यवस्था राखेको छ ।

सेबोनसम्बद्ध स्रोतले निर्माणाधीन जलविद्युत्, होटल तथा पर्यटनजस्ता क्षेत्रमा क्षेत्रगत मापदण्ड ल्याउने तयारी रहेको बताएको छ ।

यसको अर्थ अहिलेको १०० रुपैयाँको प्रावधानलाई मात्र हेरेर अन्तिम निष्कर्ष निकाल्न मिल्दैन ।

जलविद्युत्का लागि आउने छुट्टै क्षेत्रगत मापदण्डले वास्तविक प्रभाव निर्धारण गर्नेछ । तर, मस्यौदाले नियामकको दिशा भने स्पष्ट गरिसकेको छ, अब आईपीओलाई केवल कम्पनीको कागजी विवरणका आधारमा स्वीकृति दिनेभन्दा जोखिमअनुसार परीक्षण गर्ने प्रणाली विकास हुँदैछ ।

कागज होइन, आयोजनास्थलमै पुग्ने बोर्ड

जलविद्युत् कम्पनीको आईपीओ परीक्षणमा प्रस्तावित अर्को महत्वपूर्ण परिवर्तन प्राविधिक परीक्षण हो ।

मस्यौदाको दफा ७६ ले पूर्वाधार, जलविद्युत्, ऊर्जा तथा अन्य प्राविधिक आयोजनाको सार्वजनिक निष्कासनअघि स्वतन्त्र इन्जिनियरमार्फत आयोजनाको प्राविधिक अवस्था, निर्माण प्रगति, लागत र सञ्चालन तयारी परीक्षण गर्नुपर्ने व्यवस्था गरेको छ ।

स्वतन्त्र इन्जिनियरले आफ्नो निष्कर्ष बोर्डसमक्ष पेस गर्नुपर्नेछ ।

यसको प्रभाव जलविद्युत् कम्पनीका लागि सीधा छ । कुनै आयोजनाले विवरणपत्रमा ५० प्रतिशत निर्माण प्रगति भएको दाबी गरे पनि वास्तविक आयोजना स्थलमा त्यसअनुसारको काम नभएको अवस्था भए त्यसलाई प्राविधिक परीक्षणले उजागर गर्न सक्छ ।

लागत बढेको छ भने त्यसको कारण, निर्माणको गति सुस्त छ भने त्यसको अवस्था र आयोजना सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार छ कि छैन भन्ने विषय पनि परीक्षणको दायरामा आउनेछ ।

बोर्डले आवश्यक ठानेमा आफैँ आयोजना स्थल निरीक्षण गर्न सक्नेछ । विशेष लेखापरीक्षण, फरेन्सिक परीक्षण, सूचना प्रविधि परीक्षण वा अन्य स्वतन्त्र परीक्षण गराउन सक्ने अधिकार पनि मस्यौदामा प्रस्ताव गरिएको छ ।

विस्तृत मूल्याङ्कनमा परियोजना वा व्यवसायको सम्भाव्यता, सञ्चालन तयारी, कानुनी अवस्था, वित्तीय जोखिम, परियोजना कार्यान्वयन जोखिम र लगानीकर्ता संरक्षणसम्बन्धी जोखिमसमेत हेरिनेछ ।

त्यसैगरी, बोर्डले विद्युत् विकास विभाग र नेपाल विद्युत् प्राधिकरणलगायत नियामकीय निकायसँग सूचना आदानप्रदान गर्न सक्ने व्यवस्था पनि राखेको छ ।

यसको अर्थ अब आयोजना अनुमतिपत्र, विद्युत् खरिद सम्झौता, निर्माण प्रगति वा सञ्चालन अवस्थाबारे कम्पनीले दिएको विवरण मात्रमा निर्भर रहनेभन्दा सम्बन्धित सरकारी निकायबाट समेत तथ्य पुष्टि गर्ने बाटो खोलिएको छ ।

जलविद्युत् आयोजना निर्माणमा लागत र समय बढ्ने विषय सामान्य भए पनि लगानीकर्ताले त्यसको वास्तविक अवस्था थाहा पाउनुपर्ने हुन्छ ।

यही कारण प्राविधिक परीक्षणलाई अनिवार्य बनाउने प्रस्तावले कम्पनीले प्रस्तुत गर्ने विवरण र आयोजनास्थलको वास्तविक अवस्थाबीचको दूरी घटाउने लक्ष्य राखेको देखिन्छ ।

आईपीओको पैसा अब छुट्टै निगरानीमा

सेबोनले आईपीओबाट उठेको रकम प्रयोग गर्ने विषयमा पनि मस्यौदामा निकै विस्तृत व्यवस्था प्रस्ताव गरेको छ ।

सार्वजनिक निष्कासनबाट उठेको रकम नियमित सञ्चालन खर्च, असम्बन्धित लगानी वा बोर्डबाट स्वीकृत नभएको प्रयोजनमा खर्च गर्न नपाइने व्यवस्था गरिएको छ ।

कम्पनीले आवेदनसँगै रकम उपयोगको विस्तृत योजना पेस गर्नुपर्नेछ, जसमा परियोजना, अनुमानित खर्च, कार्यान्वयन समयसीमा, चरणगत रकम उपयोग, अपेक्षित उपलब्धि र जिम्मेवार अधिकारीको विवरण समावेश गर्नुपर्नेछ ।

संकलित रकम छुट्टै बैंक खातामा राख्नुपर्नेछ । उक्त खाताबाट भएको प्रत्येक भुक्तानी अभिलेखयोग्य र लेखापरीक्षण गर्न मिल्ने हुनुपर्नेछ ।

सञ्चालक समितिले प्रत्येक त्रैमासिक बैठकमा रकम उपयोगको समीक्षा गर्नुपर्ने र लेखापरीक्षण समितिले त्यसको स्वतन्त्र समीक्षा गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

कम्पनीले आईपीओबाट प्राप्त रकमको उपयोगसम्बन्धी त्रैमासिक तथा वार्षिक प्रतिवेदन बोर्डमा बुझाउनुपर्नेछ ।

प्रतिवेदनमा कति रकम प्राप्त भयो, कति खर्च भयो, कति बाँकी छ, कुन आयोजनामा कति प्रयोग भयो, स्वीकृत योजनासँग खर्चको अवस्था कति मिल्यो र कुनै फरक परेको भए त्यसको कारण तथा सुधारात्मक उपायसमेत उल्लेख गर्नुपर्नेछ ।

यो व्यवस्था जलविद्युत् कम्पनीका लागि विशेष महत्वको छ ।

आयोजना निर्माणका लागि उठाइएको पैसा अन्यत्र परिचालन गर्ने, परियोजना खर्च र अन्य व्यवसायिक खर्चबीच स्पष्ट सीमा नराख्ने वा आयोजना निर्माणको गति सुस्त हुँदासमेत रकम प्रयोगको पर्याप्त विवरण नदिने प्रवृत्तिमाथि यसले नियामकीय निगरानी बढाउनेछ ।

बोर्डले आवश्यक ठानेमा रकम उपयोगको विशेष निरीक्षण, फरेन्सिक परीक्षण, स्वतन्त्र समीक्षा र आयोजना स्थल निरीक्षण गर्न सक्नेछ ।

सार्वजनिक लगानीकर्ताको हितमा तत्काल जोखिम देखिएमा आईपीओबाट प्राप्त रकमको उपयोग रोक्न सक्ने अधिकारसमेत मस्यौदामा प्रस्ताव गरिएको छ ।

जलविद्युत्को पुँजी मोडलमै दबाब

नेपालको जलविद्युत् क्षेत्रमा बैंक ऋण र पुँजी बजारबीचको सम्बन्ध निकै गहिरो छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपालले तयार पारेको अध्ययनअनुसार आर्थिक वर्ष २०८१/८२ सम्म नेपालमा विभिन्न चरणमा रहेका जलविद्युत् आयोजनाको संख्या ९२३ पुगेको थियो ।

ती आयोजनाको कुल अनुमानित लगानी १३ खर्ब १० अर्ब रुपैयाँभन्दा बढी थियो । सञ्चालनमा रहेका तथा निर्माणाधीन ३४७ आयोजनाको क्षमता ७ हजार २५१ मेगावाट र लगानी १२ खर्ब ४३ अर्ब रुपैयाँभन्दा बढी रहेको अध्ययनले देखाएको छ ।

जलविद्युत् क्षेत्रमा बैंक ऋणको आकार पनि ठूलो छ । आईपीपीएएनको सोही अध्ययनअनुसार सन् २०२५ अगस्टसम्म जलविद्युत् क्षेत्रमा बैंकको ऋण लगानी ४४७ अर्ब ४६ करोड रुपैयाँ पुगेको थियो ।

यसबाहेक विदेशी लगानी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायत अन्य वित्तीय स्रोतबाट समेत ठूलो रकम परिचालन भएको छ ।

पुँजी बजारको योगदान पनि सानो छैन । आईपीपीएएनको अध्ययनअनुसार नेसनल हाइड्रोपावरबाट सुरु भएको जलविद्युत् आईपीओ यात्रामा ९३ कम्पनीले हालसम्म ४१ अर्ब ६५ करोड रुपैयाँ उठाएका छन् ।

४३ कम्पनीले हकप्रद सेयरमार्फत थप ५६ अर्ब ३२ करोड रुपैयाँ संकलन गरेका छन् । सूचीकृत जलविद्युत् कम्पनीको संयुक्त इक्विटी १ खर्ब ७४ अर्ब ५४ करोड रुपैयाँ पुगेको अध्ययनमा उल्लेख छ ।

यस्तो संरचनामा आईपीओ केवल सर्वसाधारणलाई सेयर बेच्ने माध्यम होइन, आयोजना वित्तीय संरचनाको एउटा महत्वपूर्ण पाटो हो । आईपीपीएएनका अनुसार कतिपय परियोजनाको वित्तीय संरचना बैंक ऋण र सर्वसाधारणबाट उठाउने इक्विटीमा आधारित हुन्छ ।

आईपीओ स्वीकृतिमा लामो ढिलाइ हुँदा बैंक ऋणको ब्याजभार बढ्ने र आयोजना वित्तीय दबाबमा पर्ने समस्या यसअघि नै देखिएको थियो ।

अगस्ट २०२६ मा प्रकाशित रिपोर्टअनुसार करिब ४ हजार मेगावाट क्षमतासँग सम्बन्धित आयोजना आईपीओ तथा हकप्रद स्वीकृतिको प्रतीक्षामा रहेको आईपीपीएएनले जनाएको थियो ।

यही कारण नयाँ मापदण्डले लगानीकर्ताको सुरक्षा बढाउने उद्देश्य पूरा गर्दा निर्माणाधीन आयोजनाको पुँजी परिचालन क्षमतामा कस्तो प्रभाव पार्छ भन्ने प्रश्न पनि महत्वपूर्ण बनेको छ ।

नियमनको उद्देश्य र निजी क्षेत्रको आपत्ति

सेबोनले भने नयाँ मस्यौदाको उद्देश्य नै सार्वजनिक निष्कासनका लागि योग्य, पारदर्शी र दिगो कम्पनी छनोट गर्नु, लगानीकर्ताको हित संरक्षण गर्नु तथा वित्तीय अनुशासन र संस्थागत सुशासन बलियो बनाउनु रहेको जनाएको छ ।

बोर्डले पहिलोपटक सार्वजनिक निष्कासनलाई जोखिममा आधारित प्रणालीबाट मूल्याङ्कन गर्ने अवधारणा पनि मस्यौदामा समेटेको छ ।

मस्यौदाले कम्पनीको वित्तीय अवस्था मात्र होइन, आम्दानीको गुणस्तर र नगद प्रवाहसमेत परीक्षण गर्ने प्रस्ताव गरेको छ ।

वास्तविक व्यवसायिक कारोबारबाट आम्दानी भएको हो कि कृत्रिम रूपमा आम्दानी वा नाफा बढाइएको हो भन्ने विषयमा बोर्डले आवश्यक परीक्षण गर्न सक्नेछ ।

ऋण दायित्व, ऋण तिर्ने क्षमता, ब्याज भुक्तानी क्षमता र पुँजी संरचनासमेत मूल्याङ्कनको हिस्सा बन्नेछन् ।

संस्थागत सुशासनतर्फ पनि बोर्डले परियोजना व्यवस्थापन तथा अनुगमन समिति र सम्बन्धित क्षेत्रमा ‘प्रोजेक्ट ओभरसाइट समिति’ गठनको प्रस्ताव गरेको छ ।

प्रमुख कार्यकारी अधिकृत, प्रमुख वित्तीय अधिकृत, कम्पनी सचिव र अनुपालना अधिकृतजस्ता जिम्मेवार पदाधिकारीको व्यवस्था पनि मस्यौदामा छ ।

निजी ऊर्जा क्षेत्रले भने निर्माणाधीन जलविद्युत् आयोजनालाई परिपक्व कम्पनीसरह नेटवर्थको मापदण्डमा बाँध्दा समस्या पर्ने बताएको छ ।

आईपीपीएएनका वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोनले १०० रुपैयाँको आईपीओ निष्कासन गर्न प्रतिसेयर नेटवर्थ पनि १०० रुपैयाँ पुर्‍याउने व्यवस्था निर्माणाधीन जलविद्युत् आयोजनाका लागि व्यवहारिक नहुने तर्क गरेका छन् ।

उनका अनुसार जलविद्युत् आयोजनामा आम्दानी उत्पादन सुरु भएपछि मात्र आउँछ, त्यसअघि ठूलो लगानी र खर्च हुने भएकाले निर्माणकै चरणमा नेटवर्थ कमजोर देखिन सक्छ ।

ऊर्जा उद्यमीहरूले आईपीओबाट पुँजी जुटाउनुपर्ने समयमा नै नियामकीय अवरोध बढे आयोजना निर्माणमा थप वित्तीय दबाब पर्ने बताएका छन् ।

सेबोनसम्बद्ध अधिकारीहरूले भने अहिलेको १०० रुपैयाँको व्यवस्था समग्र आधार भएको र जलविद्युत् तथा अन्य क्षेत्रका लागि क्षेत्रगत मापदण्ड छुट्टै बनाउने तयारी रहेको बताएका छन् ।

यहीँबाट आगामी बहसको केन्द्र तय हुन्छ । लगानीकर्ताको पैसा उठाउने कम्पनीलाई बलियो वित्तीय तथा प्राविधिक परीक्षणबिना बजारमा पठाउनु जोखिमपूर्ण हुन सक्छ ।

अर्कोतर्फ, निर्माणाधीन पूर्वाधार आयोजनालाई सञ्चालनमा पुग्नुअघि नै परिपक्व व्यवसायको वित्तीय मापदण्डमा बाँध्दा पुँजी जुटाउने मूल उद्देश्य नै कमजोर हुन सक्छ । त्यसैले जलविद्युत्का लागि अन्तिम क्षेत्रगत मापदण्ड कस्तो बन्छ भन्ने विषय मस्यौदाभन्दा पनि महत्वपूर्ण हुनेछ ।

नेपालमा जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक पुँजीको आकार बढ्दै गएको छ ।

बैंक ऋणमा निर्भरता उच्च छ, पुँजी बजारले अहिलेसम्म अर्बौँ रुपैयाँ परिचालन गरिसकेको छ र निर्माणाधीन आयोजनाको संख्या पनि ठूलो छ ।

यस्तो अवस्थामा सेबोनको नयाँ निर्देशिका केवल आईपीओ निष्कासनसम्बन्धी प्रशासनिक व्यवस्था मात्र रहने छैन, यसले जलविद्युत् आयोजनाको वित्तीय संरचना, प्रवर्द्धकको पुँजी आवश्यकता र सर्वसाधारणको लगानी जोखिमबीचको सम्बन्धलाई नै नयाँ ढंगले परिभाषित गर्नेछ ।

मस्यौदा अहिले सुझावको चरणमा भएकाले अन्तिम व्यवस्था कस्तो हुन्छ भन्ने टुंगो लागिसकेको छैन । तर सेबोनले दिएको संकेत स्पष्ट छ, अब आईपीओका लागि कम्पनीको नाम, परियोजनाको कागजी विवरण र निष्कासनयोग्य सेयर संख्या मात्र पर्याप्त हुने छैन ।

कम्पनीको वित्तीय स्वास्थ्य, आयोजना स्थलको वास्तविक अवस्था, निर्माणको गति, लागतको यथार्थता, व्यवस्थापनको क्षमता र सर्वसाधारणबाट उठेको रकमको प्रत्येक चरणको उपयोगसम्म नियामकको निगरानी पुग्नेछ ।

यही परिवर्तनले नेपालको जलविद्युत् आईपीओ बजारलाई संख्याको विस्तारबाट गुणस्तर र जवाफदेहिताको नयाँ चरणतर्फ लैजाने आधार तयार गर्नेछ ।

2