काठमाडौं। अमेरिकाले बाढी प्रभावितको सहयोगका लागि थप ३ करोड १० लाख अमेरिकी डलर उपलब्ध गराउने योजना घोषणा गरेको छ।
न्युयोर्कमा परराष्ट्रमन्त्री शिशिर खनालसँग भएको भेटवार्तामा राजनीतिक मामिला हेर्ने अमेरिकी उपविदेशमन्त्री एलिसन हुकरले उक्त सहयोग घोषणा गरेकी हुन्।
भेटका क्रममा उपविदेशमन्त्री हुकरले हाल बेपत्ता रहेका करिब ७० जना अमेरिकी नागरिकका परिवारसहित नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित सबैप्रति अमेरिकाको सहानुभूति व्यक्त गरिन्।
उनले बाढी प्रभावित क्षेत्रमा आवश्यकताअनुसार निर्माण गरिने स्थायी पुलका लागि १ करोड अमेरिकी डलर (करिब डेढ अर्ब रुपैयाँ) कोष उपलब्ध गराउने योजना रहेको बताइन्। ती पुल अमेरिकी कम्पनीबाट खरिद गरिने र बाढी प्रभावित क्षेत्रमा यातायात पूर्वाधार पुनर्स्थापना तथा क्षेत्रीय कनेक्टिभिटी सुधारमा सहयोग पुग्ने उनको भनाइ थियो।
त्यस्तै, बाढी प्रभावित समुदायका लागि खानेपानी, स्वच्छता तथा सरसफाइ, आश्रय, सुरक्षा, जीविकोपार्जन र जाडोयामका लागि थप ८० लाख डलर (करिब सवा अर्ब रुपैयाँ) सहायता उपलब्ध गराउने योजना पनि उनले सार्वजनिक गरिन्।
अमेरिकी विदेश मन्त्रालयले भविष्यमा विपद् पुनर्स्थापना कार्यमा प्रभावकारी सहयोग पुर्याउने उद्देश्यले अमेरिकामा निर्मित ड्रोनका लागि १ करोड ३० लाख डलर (करिब २ अर्ब रुपैयाँ) उपलब्ध गराउने योजना बनाएको जनाएको छ।
नयाँ घोषणासँगै नेपालको बाढी प्रतिकार्य तथा पुनर्लाभका लागि अमेरिकाको कुल सहयोग ३ करोड ६० लाख अमेरिकी डलर (करिब साढे ५ अर्ब रुपैयाँ) नाघ्नेछ। अमेरिकाले सबैभन्दा बढी सहयोग आवश्यक पर्ने क्षेत्र पहिचान गरी त्यहाँ सहायता पुर्याउन नेपालसँग सहकार्य जारी राख्ने जनाएको छ। https://nepalnews.com/2026/09/23/us-provides-additional-31-million-in-aid-to-flood-victims/
