काठमाडौं। नेपालमा गहुँको मूल्यमा वृद्धि भएको छ। बैशाख महिनामा प्रतिकिलो ४२ रुपैयाँ रहेको गहुँको मूल्य बढेर अहिले ५० रुपैयाँ पुगेको छ।
भारतमा गहुँको मूल्य बढेपछि त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि परेको मैदा मिल सञ्चालकहरूले जानकारी दिएका छन्।
गहुँको मूल्य बढेसँगै यसलाई कच्चा पदार्थको रूपमा प्रयोग गर्ने उद्योगहरूलाई समस्या भइरहेको नेपाल फ्लोर मिल एसोसिएसनले जनाएको छ। एसोसिएसनका उपाध्यक्ष विकास बेगवानीका अनुसार उद्योगहरूसँग अहिले करिब एक महिनालाई पुग्ने गहुँ मौज्दात रहेकाले तत्कालका लागि ठूलो संकट भने छैन।
बेगवानीका अनुसार भारत सरकारले आफूसँग रहेको गहुँको मौज्दात बिक्रीका लागि खुला नगरेसम्म बजारमा मूल्य नघट्ने सम्भावना छ। यद्यपि, भारत सरकारले गत अगस्ट २४, २०२६ देखि गहुँको कोटा हटाएकाले आयातमा भने कुनै अवरोध नरहेको एसोसिएसनले स्पष्ट पारेको छ।
नेपालमा नयाँ गहुँ उत्पादन भित्रिन आगामी चैत मध्यसम्म कुर्नुपर्ने अवस्था छ। यसका कारण गहुँबाट बन्ने खाद्यवस्तुको मूल्य अझ बढ्न सक्ने आँकलन गरिएको छ। गहुँको अभावका कारण अहिले नेपालका फ्लोर मिलहरू आफ्नो कुल क्षमताको ५० प्रतिशतमा मात्र सञ्चालन भइरहेका छन्।
