काठमाडौं। नेपाल पर्वतारोहण संघले सञ्चालन गरेको ‘प्रोफेसनल माउन्टेन गाइड-समर स्किल’ तालिममा सहभागी २८ जना प्रशिक्षार्थी र पाँच जना प्रशिक्षकले कञ्चनजङ्घा क्षेत्रमा रहेको ६,२२० मिटर अग्लो दङ्गा पिकको सफल आरोहण गरेका छन्। तालिमको समापनका क्रममा उनीहरूले सो हिमाल आरोहण गरेका हुन्।
संघले पछिल्लो तीन वर्षदेखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट स्वीकृत १,६९६ घण्टाको पाठ्यक्रममा आधारित रहेर यो तालिम सञ्चालन गर्दै आएको छ। तालिममा आधारभूत पर्वतारोहण, ग्रीष्मकालीन र हिउँदे सीपका साथै प्राथमिक उपचार, स्की, क्यान्योनिङ र उद्धारसम्बन्धी प्राविधिक कक्षा समावेश छन्। दीगो पर्यटन परियोजनासँगको साझेदारीमा सञ्चालित यस तालिममा एक विदेशीसहित ३४ जना प्रशिक्षार्थी सहभागी थिए।
तालिमका प्रमुख प्रशिक्षक सर्की शेर्पाका अनुसार प्रशिक्षार्थीहरूले काठमाडौं र हिमालमा गरी झन्डै ४० दिनसम्म व्यावहारिक तथा सैद्धान्तिक सीप सिकेका थिए। उनले भने, ‘उक्त आरोहणको नेतृत्व पूर्ण रूपमा प्रशिक्षार्थीहरूले नै गर्छन्। प्रशिक्षकहरूले उनीहरूको काम र प्रदर्शन गरेको सीपको अवलोकन तथा मूल्याङ्कन गर्छन्।’
संघका केन्द्रीय कार्यसमिति सदस्य तथा प्रशिक्षक दावा टशी शेर्पाले यति ठूलो संख्यामा प्रशिक्षार्थीले हिमाल आरोहण गर्नुलाई पर्वतीय पर्यटनका लागि उपलब्धिमूलक मानिएको बताए। प्रशिक्षक सञ्जीव गुरुङका अनुसार यो तालिमले दक्ष जनशक्ति उत्पादन गरी नेपालको पर्वतीय पर्यटनलाई सुरक्षित र भरपर्दो बनाउन मद्दत पुर्याउनेछ। तालिम सफलतापूर्वक सम्पन्न गर्ने प्रशिक्षार्थीले ‘निलो बुक’ प्राप्त गर्ने र दक्ष पर्वतीय पथप्रदर्शकका रूपमा काम गर्न सक्ने व्यवस्था छ।
