काठमाडौं। नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले विश्व पर्यटन दिवस २०२६ को अवसरमा दुई दिने विशेष कार्यक्रम सुरु गरेको छ।
नाट्टाले ‘नेपाल बोलाउँदै छ’ र ‘नेपाल खुला छ’ भन्ने नारासहित अभियान सञ्चालन गरेको हो। यस अभियानमार्फत नेपाल सुरक्षित र विदेशी पर्यटकका लागि पूर्ण रूपमा खुला रहेको सन्देश प्रवाह गर्ने लक्ष्य राखिएको छ।
अभियानको पहिलो दिन आज बिहान ‘नाट्टा स्वच्छ तथा हरियाली अभियान’ सम्पन्न भएको छ। नाट्टाका महासचिव राजकुमार देवकोटाका अनुसार शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज करिडोरअन्तर्गत बुढानीलकण्ठ-टोखा-चण्डेश्वरी क्षेत्रमा सरसफाइ कार्यक्रम गरिएको हो।
कार्यक्रमको दोस्रो दिन आइतबार बिहान ७ बजे ‘नेपाल बोलाउँदै छ-नाट्टा सम्पदा दौड’ आयोजना हुनेछ। काठमाडौंको वसन्तपुर दरबार क्षेत्रबाट सुरु हुने यो दौड पाटन दरबार क्षेत्रमा पुगेर समापन हुनेछ। करिब ६ किलोमिटर लामो यो दौडमा पर्यटन व्यवसायी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, युवा र सर्वसाधारणको सहभागिता रहने देवकोटाले जानकारी दिए।
नाट्टाले यी कार्यक्रममार्फत नेपालको सम्पदा, संस्कृति, वातावरण र पर्यटन क्षेत्रबीचको सम्बन्धलाई थप बलियो बनाउने उद्देश्य राखेको छ। साथै, यस अभियानले पर्यटन क्षेत्रमा सकारात्मक सन्देश फैलाउने र नेपाल भ्रमणका लागि सुरक्षित रहेको विश्वास दिलाउने नाट्टाले जनाएको छ।
