काठमाडौं। इस्टर्न हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको असोज ५ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असोज २९ गते काठमाडौंको बागबजारस्थित होटल हार्दिकमा बिहान ११ बजे साधारण सभा गर्ने निर्णय गरेको हो।
सभामा कम्पनीले १ः०.८७१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पेस गर्नेछ। कम्पनीको रजिस्टर्ड कार्यालयको ठेगाना परिवर्तन हुने भएकाले सोहीअनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ।
सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ। त्यस्तै, सोही आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अनुसूचीहरूमाथि छलफल गरी पारित गरिनेछ।
यसैगरी आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि साधारण सभामा पेस गरिने कम्पनीले जनाएको छ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज २१ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।