काठमाडौं। शनिबार आएको हावाहुरी र निरन्तरको वर्षाका कारण दाङको देउखुरी क्षेत्रमा धानबालीमा ठुलो क्षति पुगेको छ। पाक्न लागेको धान खेतमै ढलेपछि किसानहरू चिन्तित बनेका छन्।
लमही नगरपालिका-३ फल्कापुरका किसान हस्तवीर चौधरीका अनुसार हावाहुरीले खेतको ठुलो फाँटमा धानबाली ढालेको छ। देउखुरीका अधिकांश क्षेत्रमा यस्तो समस्या देखिएको उनले बताए।
चौधरीले भने, “कुनै क्षेत्रमा धान काट्ने बेला भइसकेको छ भने कुनै ठाउँमा धान पसाउँदै छ, महिनौँ दिन दुःख गरेर उत्पादन गरेको धान घर भित्र्याउने समयमा लगातारको वर्षा र हावाहुरीले सबै ढलाइदियो।”
हावाहुरीले धान ढलाएपछि बाली काट्न कठिन हुने र उत्पादनमा समेत कमी आउने किसानको भनाइ छ। हावाहुरीसँगै निरन्तरको झरीले गर्दा धानबालीमा थप क्षति पुग्ने सम्भावना बढेको छ।
यद्यपि, दाङको देउखुरी क्षेत्रमा धान ढलेको पुष्टि भए पनि क्षतिको यकिन विवरण आउन अझै केही समय लाग्ने कृषि ज्ञान केन्द्रले जनाएको छ।
