काठमाडौं। प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् रूपमा सुरु भएको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोअनुसार आज प्रतिपदा तिथिको श्राद्ध गरिँदै छ।
धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईका अनुसार प्रतिपदा तिथिको पिण्डदान अपराह्नपछि गर्नुपर्ने विधान छ। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ दिनमा दिवङ्गत पितृको सम्झनामा तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिएको हो। यो समयलाई अपर वा प्रेत पक्षका रूपमा पनि लिइन्छ।
वैदिक सनातन हिन्दू परम्पराअनुसार ठूला चाडपर्व र यज्ञयगादि गर्नुअघि पितृलाई श्रद्धापूर्वक सम्झिने गरिन्छ। धर्मशास्त्रविद् एवं समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमका अनुसार पितृप्रतिको दायित्व पूरा गर्न र पितृ ऋणबाट मुक्त हुन यो कर्म अनिवार्य मानिन्छ।
श्राद्ध अपराह्नको समयमा गर्नुपर्ने शास्त्रीय मान्यता छ। जाताशौच, मृताशौच र पत्नी रजस्वला भएको अवस्थाबाहेक यो कर्म छाड्न नहुने शास्त्रीय वचन छ।
विभिन्न कारणवश श्राद्ध गर्न नसकिएमा शास्त्रमा विकल्पहरू पनि दिइएका छन्। अप्ठ्यारो परेको अवस्थामा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म श्राद्ध गर्न सकिन्छ।
त्यसपछि पनि सम्भव नभएमा कार्तिक कृष्ण औँसी वा मङ्सिर महिनाको वृश्चिक सङ्क्रान्तिसम्म जुराउन सकिने धर्मसिन्धु ग्रन्थमा उल्लेख छ। यसबाहेक अष्टमी, द्वादशी, भरणी नक्षत्र र व्यतीपात योग परेका दिन पनि रोकिएको श्राद्ध गर्न सकिने विकल्प रहेको छ।
अन्तिम विकल्पका रूपमा ब्राह्मणमार्फत दैनिक १०८ मन्त्र जप गराउन सकिन्छ। यो विधि १० महिनासम्म पालना गर्नुपर्ने हुन्छ। केही पुरोहितले आफ्नो सुविधाका लागि बिहानै श्राद्ध गराउने गरेको पाइए पनि त्यो शास्त्रसम्मत नभएको विज्ञहरूको भनाइ छ।
यस वर्ष जेठमा अधिकमास परेका कारण पितृ पक्ष र बडादसैँ केही पछि सरेका हुन्। पितृ पक्षको समापनसँगै दुर्गा पक्ष अर्थात् बडादसैँ सुरु हुन्छ।
