काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले काठमाडौंस्थित अपाङ्ग नवजीवन केन्द्रमा रहेका विद्यार्थीलाई न्यानो कपडा, स्कुल ब्याग तथा विभिन्न शैक्षिक सामग्री वितरण गरेको छ ।
कम्पनीका अनुसार विद्यार्थीको अध्ययनलाई सहज बनाउन र दैनिक आवश्यकतामा सहयोग पुर्याउने उद्देश्यले सामग्री वितरण गरिएको हो ।
शिवम् सिमेन्ट्सले यसअघि रोल्पाका सन्देश बुढा मगरको माध्यमिक तहसम्मको अध्ययनमा सहयोग गर्ने व्यवस्था मिलाएको थियो । जन्मजात दुवै हात नचल्ने भए पनि खुट्टाको सहाराले लेखेर पढाइलाई निरन्तरता दिइरहेका सन्देशको संघर्षबारे जानकारी पाएपछि कम्पनीले उनको अध्ययनमा सहयोग सुरु गरेको जनाएको छ ।
कम्पनीले काठमाडौंस्थित अपाङ्ग नवजीवन केन्द्र र खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयसँग समन्वय गरी सन्देशको अध्ययन तथा आवश्यक व्यवस्थापनमा सहयोग गर्दै आएको छ । केन्द्रले उनको आवास र हेरचाहको जिम्मेवारी लिएको छ भने विद्यालयले अध्ययनको अवसर उपलब्ध गराएको छ ।
कम्पनीका अनुसार सन्देशको अध्ययनसँगै आवश्यक व्यवस्थापन खर्चमा समेत नियमित सहयोग उपलब्ध गराउँदै आएको छ ।
सामग्री वितरण कार्यक्रममा कम्पनीका प्रतिनिधिले विशेष आवश्यकता भएका बालबालिकाले पनि समान अवसरमा गुणस्तरीय शिक्षा प्राप्त गर्नुपर्ने बताए । केन्द्रका पदाधिकारीले प्राप्त सहयोगले विद्यार्थीको मनोबल बढाउनुका साथै उनीहरूको अध्ययनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् ।
