काठमाडौं: बाढीपहिरोका कारण आन्तरिक विद्युत उत्पादनमा ठूलो क्षति पुगेपछि आगामी हिउँदमा लोडसेडिङ हुन नदिन नेपाल विद्युत प्राधिकरणले भारतबाट १ हजार १ सय ५४ मेगावाट बिजुली आयात गर्ने तयारी गरेको छ। माग र आपूर्तिको सन्तुलन मिलाउँदै उपभोक्तालाई नियमित विद्युत उपलब्ध गराउन प्राधिकरणले यस्तो रणनीति बनाएको हो।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठका अनुसार ढल्केबर-मुजफ्फरपुर प्रसारण लाइनबाट ६०० मेगावाट, टनकपुर-महेन्द्रनगरबाट ५४ मेगावाट, बिहारका विभिन्न विन्दुबाट ३५० मेगावाट र आरटीसीमार्फत थप १५० मेगावाट बिजुली आयात गरिनेछ। अघिल्लो वर्षको सुख्खायाममा उच्चतम मागका समयमा ८०० मेगावाटसम्म बिजुली आयात गरिएको थियो।
प्राधिकरणको प्रक्षेपणअनुसार आगामी सुख्खायाममा नदीमा पानीको बहाव घट्दा स्वदेशी उत्पादन १ हजार २ सय १८ मेगावाटमा सीमित हुनेछ। भारतबाट हुने आयातसहित कुल विद्युत उपलब्धता २ हजार ३ सय ७२ मेगावाट पुग्नेछ। अघिल्लो वर्षको उच्चतम राष्ट्रिय माग २ हजार २ सय ९२ मेगावाट रहेको थियो। यस वर्ष पनि माग अघिल्लो वर्षकै हाराहारीमा रहने भएकाले उपलब्ध बिजुलीले सहजै धान्ने कार्यकारी निर्देशक श्रेष्ठले बताए।
हालैको बाढीपहिरोले जलविद्युत क्षेत्रमा ठूलो असर पारेको छ। असोजको बाढीपहिरोका कारण ३१७ मेगावाट र भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदीको बाढीले ४३० मेगावाट विद्युत उत्पादन अवरुद्ध भएको छ। आन्तरिक प्रणालीमा करिब साढे सात सय मेगावाटको अभाव भए पनि आयातको भरपर्दो व्यवस्थापनमार्फत उपभोक्तालाई नियमित बिजुली दिने प्राधिकरणको दाबी छ।
