बाँके। बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म पानी पुर्याउने उद्देश्यले शाखा र उपशाखा नहरको विस्तार कार्य अघि बढाएको छ।
खजुरा र बैजनाथ गाउँपालिका क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्न आयोजनाको पश्चिम मूल नहरअन्तर्गत गुरुवागाउँ शाखा र उपशाखा निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको आयोजनाका निर्देशक राजु आचार्यले जानकारी दिए।
जिल्ला प्रशासन कार्यालय बाँकेले २०८३ असोज ८ गते सूचना जारी गर्दै जग्गा प्राप्ति ऐन, २०३४ को दफा ३ अनुसार जग्गा अधिग्रहणको प्रक्रिया थालेको हो। यसअन्तर्गत खजुरा गाउँपालिकाका वडा नं १, २, ५, ८ र ९ तथा बैजनाथ गाउँपालिकाका वडा नं ५ र ६ भित्रका जग्गाहरू अधिग्रहण गरिनेछ।
जग्गाधनीहरूलाई सूचना प्रकाशित भएको १५ दिनभित्र जिल्ला प्रशासन कार्यालय वा आयोजनाको कार्यालयमा निवेदन दिई मुआब्जा दाबी गर्न भनिएको छ। अधिग्रहण गरिने जग्गामा रहेका घर, गोठ वा रुखविरुवाहरू एक महिनाभित्र हटाएर जग्गा खाली गर्न पनि निर्देशन दिइएको छ।
सिक्टा सिँचाइ आयोजनाको लक्ष्य राप्ती नदीको पश्चिम भेगको ३३ हजार ७६६ हेक्टर र पूर्वी भेगको ९ हजार हेक्टर गरी कुल ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने रहेको छ। निर्देशक आचार्यका अनुसार हाल २५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगिसकेको छ।
चालु आर्थिक वर्ष २०८३-०८४ का लागि आयोजनामा रु २ अर्ब ५५ करोड बजेट विनियोजन गरिएको छ, जुन गत आर्थिक वर्षको रु १ अर्ब ५७ करोडको तुलनामा बढी हो।
हाल डुडुवा शाखा नहरको निर्माण कार्य धमाधम भइरहेको छ भने सिधनीया, प्रसेनीपुर र अकलघरवा शाखा नहर निर्माणका लागि ठेक्का सम्झौता भई कामलाई तीव्रता दिइएको छ।
