काठमाडौं: अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला सडक खण्ड क्षतिग्रस्त भएपछि मुस्ताङका स्याउ किसान मारमा परेका छन्। सडक र पुल बगाएपछि ढुवानी ठप्प हुँदा पाकिसकेको स्याउ बोटमै थन्किएको छ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ का आङ्ग्या गुरूङ र घरपझोङ गाउँपालिका-५ का कर्म गुरूङलगायतका किसानले दशैं लक्षित गरी बजार पठाउन तयार पारेको स्याउ सडक अवरुद्ध भएसँगै बिक्री गर्न नपाएको बताएका छन्। कृषक ङवाङ गुरूङले सडक मर्मतमा ढिलाइ भए किसानलाई ठूलो नोक्सानी हुने भन्दै चिन्ता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, ‘धेरै कृषकले टिप्दै गरेको स्याउ रोकेका छन्, बाटो मर्मतमा ढिलाइ भए स्याउ कृषकलाई ठुलो नोक्सानी हुन्छ।’
कृषि तथा पशु विकास कार्यालय मुस्ताङका निमित्त प्रमुख बबिता नेपालीका अनुसार हालसम्म करिब २० प्रतिशत स्याउ मात्र बजार पुगेको छ। सडक सहज भए असोजको अन्तिम सातासम्म ९० प्रतिशत स्याउ बजार पुग्ने अनुमान गरिएको छ। उहाँले भन्नुभयो, ‘चिसो मौसम भएकाले पाकेको स्याउ यो महिनाभित्र बजारमा लैजाँदा राम्रो हुन्छ, बगैँचा निरीक्षणमा पुगेका प्राविधिकले सडकको अवस्थाका बारेमा जानकारी गराउनुभएको छ।’
घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचनले सडक मर्मतलाई प्राथमिकतामा राखेर कृषकको उत्पादन ढुवानी गर्ने वातावरण बनाउन माग गर्नुभएको छ। मुस्ताङमा यस वर्ष ८३० हेक्टरमा ६ हजार ७८ मेट्रिक टन स्थानीय स्याउ र ६५ हेक्टरमा ८ हजार ४ सय ९६ मेट्रिक टन उच्च घनत्वको स्याउ उत्पादन हुने लक्ष्य राखिएको छ। गत वर्ष मुस्ताङबाट १ अर्ब १० करोड रुपैयाँभन्दा बढीको स्याउ कारोबार भएको थियो।
