काठमाडौं: अमेरिकी प्रविधि कम्पनी एप्पललाई पेटेन्ट गरिएको प्रविधि प्रयोग गरेको अभियोगमा ५.७ अर्ब डलरभन्दा बढी क्षतिपूर्ति तिर्न आदेश दिइएको छ। यो मुद्दा एप्पलका उपकरणमा प्रयोग हुने ह्याप्टिक फिडब्याक प्रविधिसँग सम्बन्धित छ।
अमेरिकाको क्यालिफोर्नियास्थित संघीय अदालतको जुरीले एप्पलले सान डिएगोस्थित ट्याक्सन टेक्नोलोजीको स्वामित्वमा रहेका दुईवटा पेटेन्ट उल्लंघन गरेको ठहर गरेको हो। ट्याक्सनका वकिल लान्स याङले जुरीको निर्णयले कम्पनीको पेटेन्ट अधिकारलाई मान्यता दिएको भन्दै खुसी व्यक्त गरेका छन्।
यो कानुनी विवाद सन् २०२१ मा ट्याक्सनले एप्पलविरुद्ध मुद्दा दायर गरेपछि सुरु भएको थियो। सन् २०२३ मा संघीय अदालतले एप्पलले पेटेन्ट उल्लंघन नगरेको फैसला सुनाएको भए पनि गत वर्ष पुनरावेदन अदालतले मुद्दा पुनः अघि बढाउने बाटो खोलेको थियो। ट्याक्सनले एप्पलले आफ्नो अनुमतिबिना प्रविधि प्रयोग गरेको र पेटेन्ट उल्लंघनबारे जानकारी हुँदाहुँदै पनि बेवास्ता गरेको आरोप लगाएको थियो। यद्यपि जुरीले एप्पलले जानाजानी पेटेन्ट उल्लंघन गरेको भने ठहर गरेको छैन।
एप्पलले उक्त फैसलाविरुद्ध पुनरावेदन गर्ने जनाएको छ। कम्पनीले आफ्नो ट्याप्टिक इन्जिन ट्याक्सनको प्रविधिभन्दा मौलिक रूपमा फरक रहेको दाबी गरेको छ। एप्पलले भनेको छ, एप्पलको ट्याप्टिक इन्जिन ट्याक्सनको प्रविधिभन्दा मौलिक रूपमा फरक छ। परीक्षणका क्रममा ट्याक्सनले आफ्नै परीक्षणमार्फत एप्पलका उत्पादनमा समेत यही कुरा पुष्टि गरेको थियो।
यो फैसला यस्तो समयमा आएको छ जतिबेला एप्पलमा नेतृत्व परिवर्तन भएको छ। सेप्टेम्बरमा जोन टर्नसले टिम कुकको स्थानमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका छन्। हाल एप्पल एआई प्रविधिमा अन्य कम्पनीभन्दा पछाडि परेको चर्चा चलिरहेको छ। फैसला सार्वजनिक भएपछि सोमबार एप्पलको शेयर मूल्यमा करिब २ प्रतिशतको गिरावट आएको छ।
