काठमाडौं: ताप्लेजुङस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्थापनाको ४८ वर्षपछि पहिलो पटक चिनी बिक्री सुरु गरेको छ। वि.सं. २०३५ सालमा स्थापना भएयता चामल मात्र बिक्री गर्दै आएको यस शाखाले बुधबारदेखि चिनी बिक्री गर्न थालेको हो।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङ शाखाका प्रमुख प्रकाश तिम्सिनाका अनुसार पहिलो चरणमा १८ हजार किलोग्राम चिनी ताप्लेजुङ ल्याइएको छ। मंगलबार ३६० बोरा चिनी शाखा कार्यालयमा आइपुगेको र बिक्रीका लागि आवश्यक तयारी पूरा भएको छ।
उपभोक्ताले प्रतिकिलोग्राम ११० रुपियाँमा चिनी खरिद गर्न पाउनेछन्। एक व्यक्ति वा परिवारले बढीमा छ किलोग्रामसम्म चिनी खरिद गर्न सक्ने व्यवस्था गरिएको छ। यो चिनी व्यक्तिगत उपभोगका लागि मात्र बिक्री गरिने र व्यावसायिक प्रयोजनका लागि पुनः बिक्री गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने कार्यालयले जनाएको छ।
चाडपर्वलाई लक्षित गरी चामलसँगै दाल, तेल र चिनी बिक्री गर्ने योजना रहे पनि हाल चिनीको बिक्री प्रक्रिया मात्र सुरु भएको तिम्सिनाले बताए। अन्य वस्तुको बिक्री सुरु गर्न पहल भइरहेको उनले जानकारी दिए। चिनी बिक्री सुरु भएसँगै जिल्लाका उपभोक्ताले सहुलियत मूल्यमा थप खाद्य सामग्री खरिद गर्न पाउने भएका छन्।
