काठमाडौं: अष्ट्रेलियाको केन्द्रीय बैङ्कले मुद्रास्फीति नियन्त्रण गर्ने उद्देश्यले मङ्गलबार प्रमुख ब्याज दर १५ वर्षयताकै उच्च विन्दुमा पुर्याएको छ। केन्द्रीय बैङ्क (आरबीआई) ले नगद दर २५ आधार अङ्कले बढाएर ४ दशमलव ६ प्रतिशत कायम गरेको हो।
बैङ्कले मध्यपूर्वमा जारी द्वन्द्व र त्यसले विश्वव्यापी ऊर्जा आपूर्तिमा पारेको असरका कारण मूल्यवृद्धि बढेको जनाएको छ। इन्धनको उच्च मूल्यले अन्य वस्तु तथा सेवाको लागतमा समेत चाप परेको बैङ्कले उल्लेख गरेको छ। पछिल्लो तथ्याङ्कअनुसार अष्ट्रेलियामा आर्थिक वृद्धि र मुद्रास्फीति अपेक्षाभन्दा बढी देखिएको छ।
यसैगरी, कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा भइरहेको उच्च लगानीले प्रविधिजन्य वस्तुको विश्वव्यापी मूल्यमा तीव्र वृद्धि गराएको बैङ्कको भनाइ छ। एआईसँग सम्बन्धित मागले मध्यपूर्वको द्वन्द्वभन्दा बढी लागत बढाएको र यसले अष्ट्रेलियाका प्रमुख व्यापारिक साझेदारहरूमा अपेक्षाभन्दा बढी आर्थिक वृद्धि देखिएको बैङ्कले जनाएको छ।
अर्कोतर्फ, अष्ट्रेलियाको आवास बजारमा देखिएको मन्दीले आर्थिक अनिश्चितता थपेको छ। बैङ्कका अनुसार देशका अधिकांश प्रमुख सहरहरूमा घरजग्गाको मूल्य घटेको छ भने नयाँ आवास ऋण लिने क्रममा पनि उल्लेख्य कमी आएको छ।
