काठमाडौं । शंकर ग्रुपको स्वामित्वमा रहेको जगदम्बा सिन्थेटिक्स प्रालिको व्यापार एक वर्षमा ३१ प्रतिशतले बढेको छ। कम्पनीले सन् २०२६ मा २ अर्ब ६५ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ।
कम्पनीको व्यापार सन् २०२५ मा २ अर्ब १ करोड रुपैयाँ र सन् २०२४ मा १ अर्ब ६८ करोड ५० लाख रुपैयाँ थियो। सन् २०२५ को तुलनामा सन् २०२६ मा कम्पनीको आम्दानीमा उल्लेख्य वृद्धि भएको हो।
जगदम्बा सिन्थेटिक्सको नेतृत्व सुलभ अग्रवालले गर्दै आएका छन्। कम्पनीको कुल आम्दानीमध्ये सन् २०२६ मा ७९ प्रतिशत हिस्सा पीपी ओभन सिमेन्ट बोरा बिक्रीबाट आएको उल्लेख छ।
व्यापार बढे पनि कम्पनीको सञ्चालन मार्जिन भने घटेको छ। सन् २०२५ मा १६ प्रतिशत रहेको सञ्चालन मार्जिन सन् २०२६ मा १२ प्रतिशतमा झरेको छ। त्यस्तै, कम्पनीको खुद नाफा मार्जिन ३ प्रतिशतमा सीमित भएको छ। सन् २०२५ मा यस्तो मार्जिन ४ प्रतिशत थियो।
सन् २००२ मा स्थापना भएको जगदम्बा सिन्थेटिक्सले पोलिप्रोपिलिन ओभन फ्याब्रिक तथा ब्याग, सिमेन्ट प्याकिङ बोरा, खाद्यान्न प्याकेजिङ सामग्री, पोलिमर र अन्य प्याकिङ सामग्री उत्पादन गर्दै आएको छ।
कम्पनीले ननओभन पीपी, हाई डेनसिटी पोलिथिलिन फ्याब्रिक, ब्याग उत्पादनमा प्रयोग हुने सामग्री तथा विभिन्न किसिमका कभरिङ सामग्रीसमेत उत्पादन गर्छ।
कम्पनीको वित्तीय संरचनामा ऋणको भार उच्च रहेको छ। यद्यपि, समग्र गियरिङ अनुपातमा सुधार आएको छ। सन् २०२५ मा ४.४८ गुणा रहेको गियरिङ अनुपात सन् २०२६ मा २.७५ गुणामा झरेको छ।
कम्पनीको ब्याज भुक्तानी क्षमता पनि केही सुधारिएको छ। सन् २०२५ मा २.६४ गुणा रहेको ब्याज कभरेज अनुपात सन् २०२६ मा ३.०९ गुणा पुगेको छ।
त्यस्तै, कुल ऋण र ग्रस क्यास अक्रुअलको अनुपात पनि सुधारिएको छ। सन् २०२५ मा ९.१९ गुणा रहेको यस्तो अनुपात सन् २०२६ मा ६.०२ गुणामा झरेको छ।
कम्पनीले उत्पादनमा प्रयोग गर्ने प्रमुख कच्चा पदार्थ आन्तरिक बजारबाट पर्याप्त रूपमा उपलब्ध नहुने भएकाले भारतबाट आयात गर्दै आएको छ। कच्चा पदार्थ आयातमा निर्भर रहँदा कम्पनीको लागत तथा आपूर्ति व्यवस्थापनमा बाह्य बजारको प्रभाव रहने गरेको छ।
जगदम्बा सिन्थेटिक्ससँग मासिक ३ हजार मेट्रिक टन फ्याब्रिक तथा ब्याग उत्पादन गर्ने क्षमता रहेको छ। शंकर अर्गनाइजेसनको स्वामित्वमा रहेको कम्पनीले दीर्घकालीन र अल्पकालीन गरी कुल ३ अर्ब ५९ करोड ६ लाख रुपैयाँ बराबरको कर्जाको रेटिङ गराएको छ।
कम्पनीले १ अर्ब १९ करोड ६ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि डबल बी प्लस र २ अर्ब ४० करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि ए थ्री प्लस रेटिङ प्राप्त गरेको छ।
