Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

साइप्रस : सानो भूगोल, ठूलो अर्थतन्त्र

सानो टापु राष्ट्रले पर्यटन, समुद्री सेवा, वित्तीय क्षेत्र, सूचना प्रविधि र विदेशी लगानीलाई जोडेर उच्च आयको अर्थतन्त्र निर्माण गरेको छ।

साइप्रस : सानो भूगोल, ठूलो अर्थतन्त्र
साइप्रसको प्रमुख व्यावसायिक सहर लिमासोलको समुद्री किनारा। साइप्रसको उपपर्यटन मन्त्रालय, Visit Cyprus।
A A+ A-

भूमध्यसागरको पूर्वी भागमा एउटा सानो टापु छ। क्षेत्रफल करिब ९ हजार २५० वर्ग किलोमिटर।

जनसंख्या पनि १० लाखभन्दा केही बढी। प्राकृतिक स्रोतका हिसाबले ठूला मुलुकसँग तुलना गर्न सकिने अवस्था छैन।

आफ्नै ठूलो घरेलु बजार छैन। कृषि भूमि सीमित छ। ऊर्जा क्षेत्रमा पनि आयातमा निर्भरता छ।

तर यही सानो भूगोलले आफूलाई युरोपको उच्च आय भएका अर्थतन्त्रको समूहमा उभ्याएको छ।

यो हो साइप्रस।

साइप्रसको आर्थिक कथा केवल समुद्र, घाम र पर्यटकको कथा होइन।

पर्यटन उसको महत्वपूर्ण आधार हो, तर त्यसभन्दा बाहिर समुद्री व्यापार, जहाज व्यवस्थापन, वित्तीय सेवा, व्यावसायिक सेवा, सूचना प्रविधि र विदेशी लगानीले अर्थतन्त्रलाई फराकिलो बनाएका छन्।

२०२५ मा साइप्रसको वास्तविक कुल गार्हस्थ्य उत्पादन ३.८ प्रतिशतले बढ्यो। युरोपेली आयोगका अनुसार यो वृद्धि निजी उपभोगसँगै सेवा निर्यात, विशेषगरी सूचना तथा सञ्चार प्रविधि र पर्यटनको विस्तारबाट समर्थित थियो।

२०२६ मा भूराजनीतिक तनाव र ऊर्जा मूल्यको दबाबका कारण वृद्धि केही सुस्त हुने अनुमान छ, तर अर्थतन्त्र अझै लचिलो अवस्थामा रहने प्रक्षेपण गरिएको छ।

साइप्रसको आर्थिक शक्ति यहीँबाट बुझ्न सकिन्छ। उसले आफ्नो सानो भूगोललाई ठूलो बजारमा बदल्न खोजेन। बरु सानो भूगोललाई विश्व बजारसँग जोड्ने रणनीति अपनायो।

समुद्रलाई पर्यटनका लागि मात्र प्रयोग गरेन। त्यसलाई जहाज व्यवसायसँग जोड्यो। युरोपेली सदस्यतालाई राजनीतिक उपलब्धिमा मात्र सीमित राखेन। त्यसलाई बजार पहुँच र लगानीको अवसरमा बदल्यो।

पर्यटनलाई होटल र समुद्र तटमा मात्र सीमित राखेन। वित्त, सेवा, यातायात र रोजगारीसँग जोड्यो। आज साइप्रसको अर्थतन्त्रमा यही बहुआयामिक सेवा संरचनाको प्रभाव देखिन्छ।

टापु राष्ट्रको कठिन सुरुवात

साइप्रस सन् १९६० मा बेलायती शासनबाट स्वतन्त्र भयो। स्वतन्त्रतापछि देशले राजनीतिक अस्थिरता, समुदायगत तनाव र क्षेत्रीय द्वन्द्वको सामना गर्‍यो। सन् १९७४ पछि टापु विभाजित अवस्थामा रह्यो।

यसको आर्थिक विकासमा पनि यी घटनाको प्रभाव परेको थियो। तर समयसँगै साइप्रसले आफ्नो अर्थतन्त्रलाई सेवा क्षेत्रतर्फ मोड्न थाल्यो।

प्राकृतिक स्रोतमा आधारित अर्थतन्त्रको विकल्प खोज्नुपर्ने अवस्था थियो। ठूलो औद्योगिक आधार थिएन। घरेलु बजार सानो थियो। त्यसैले अन्तर्राष्ट्रिय सेवा, व्यापार र पर्यटनलाई आर्थिक रणनीतिको केन्द्रमा राखियो।

भूमध्यसागरको भौगोलिक अवस्थाले यसमा सहयोग गर्‍यो।

युरोप, मध्यपूर्व र उत्तर अफ्रिकाबीच रहेको साइप्रस ऐतिहासिक रूपमा समुद्री मार्गसँग जोडिएको थियो। यही भौगोलिक अवस्थालाई आधुनिक आर्थिक संरचनासँग जोड्ने प्रयास भयो।

पर्यटन विस्तार भयो। होटल र रिसोर्ट बढे। हवाई सम्पर्क विस्तार भयो। समुद्री व्यवसाय विकसित भयो। व्यावसायिक तथा वित्तीय सेवाले स्थान बनाउन थाले।

सानो देशका लागि यो महत्वपूर्ण रणनीति थियो। आफ्नो बजार ठूलो बनाउने होइन, बाहिरी बजारलाई आफ्नो अर्थतन्त्रसँग जोड्ने।

पर्यटनले बनाएको पहिलो आर्थिक आधार

साइप्रसको नाम सुन्नासाथ धेरैको ध्यान समुद्र, न्यानो मौसम, समुद्री किनारा र पर्यटकीय सहरतर्फ जान्छ। त्यसको आर्थिक कारण पनि छ।

भूमध्यसागरको मौसम, समुद्री तट, ऐतिहासिक सम्पदा, पुरातात्विक स्थल र होटल पूर्वाधारले साइप्रसलाई युरोपेली पर्यटकको महत्वपूर्ण गन्तव्य बनाएको छ।

पर्यटनले होटल मात्र चलाउँदैन। यसले हवाई सेवा, यातायात, रेस्टुरेन्ट, खुद्रा व्यापार, मनोरञ्जन, निर्माण र रोजगारीमा समेत प्रभाव पार्छ।

यसैले साइप्रसले पर्यटनलाई एउटा छुट्टै उद्योगभन्दा व्यापक सेवा अर्थतन्त्रको हिस्सा बनाएको छ।

हालैका वर्षमा पनि पर्यटन अर्थतन्त्रको महत्वपूर्ण चालक बनेको छ। अन्तर्राष्ट्रिय पर्यटक आगमन र पर्यटन आम्दानीले घरेलु माग तथा सेवा निर्यातलाई समर्थन गरेको अन्तर्राष्ट्रिय मुद्रा कोष र युरोपेली आयोगका पछिल्ला मूल्यांकनमा उल्लेख छ।

यद्यपि पर्यटनमा निर्भर अर्थतन्त्र जोखिममुक्त हुँदैन।

भूराजनीतिक तनाव, ऊर्जा मूल्य, अन्तर्राष्ट्रिय यात्रा खर्च र पर्यटकको सुरक्षासम्बन्धी धारणा परिवर्तन हुँदा साइप्रसको पर्यटन प्रभावित हुन सक्छ। युरोपेली आयोगले पनि २०२६ मा क्षेत्रीय द्वन्द्वका कारण पर्यटन निर्यातमा दबाब पर्न सक्ने उल्लेख गरेको छ।

यही कारण साइप्रसले पर्यटनसँगै अन्य सेवा क्षेत्र विस्तार गरिरहेको छ।

समुद्रलाई व्यापारमा बदल्ने रणनीति

साइप्रसको आर्थिक कथाको सबैभन्दा रोचक पक्षमध्ये एउटा उसको समुद्री व्यवसाय हो।

सानो टापु भए पनि साइप्रस विश्व समुद्री उद्योगमा उल्लेखनीय स्थान बनाउन सफल भएको छ। जहाज दर्ता, जहाज व्यवस्थापन, समुद्री कानुन, बीमा, वित्तीय सेवा, प्राविधिक सेवा र अन्य समुद्री व्यवसायलाई जोडेर उसले एउटा ठूलो समुद्री व्यवसायिक समूह विकास गरेको छ।

साइप्रस सरकारका अनुसार देशसँग विश्वकै ठूला जहाज बेडामध्ये एक रहेको छ र उसको समुद्री व्यवसायिक समूहमा सयौं कम्पनी संलग्न छन्।

साइप्रसको पाफोसस्थित समुद्री किनारा र पर्यटकीय क्षेत्र। फोटो स्रोत: साइप्रसको उपपर्यटन मन्त्रालय, Visit Cyprus।

पछिल्ला दुई वर्षमा साइप्रसको जहाज दर्ताको कुल टनेज २० प्रतिशतले बढेर पछिल्लो दुई दशककै उच्च स्तरमा पुगेको सरकारी तथ्यांकले देखाउँछ। जहाज व्यवस्थापन क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा योगदान २०२३ देखि २०२४ बीच २७ प्रतिशतले बढेको पनि सरकारले जनाएको छ।

यो उपलब्धि केवल जहाजको संख्या बढाएर हासिल भएको होइन। यसका पछाडि कानुनी संरचना, कर व्यवस्था, जहाज दर्ता प्रणाली, समुद्री सेवा, दक्ष जनशक्ति र अन्तर्राष्ट्रिय व्यवसायिक नेटवर्क छ।

साइप्रसले आफ्नो समुद्री क्षेत्रलाई डिजिटल बनाउन पनि थालेको छ।

२०२५ मा साइप्रसको नौवहन उपमन्त्रालयले समुद्री सेवाका लागि एकीकृत डिजिटल पोर्टल सुरु गर्‍यो। जहाज दर्ता, नाविकसम्बन्धी सेवा, प्राविधिक तथा वातावरणीय प्रक्रिया र टनेज कर प्रणालीसँग सम्बन्धित सेवाहरूलाई एउटै डिजिटल प्रणालीमा ल्याउने उद्देश्य राखिएको छ।

यसबाट एउटा कुरा देखिन्छ। पुरानो उद्योगलाई जोगाएर मात्र पुग्दैन। समयअनुसार त्यसलाई डिजिटल र प्रतिस्पर्धी बनाउँदै लैजानुपर्छ।

साइप्रसले समुद्रलाई प्राकृतिक सम्पदाका रूपमा मात्र हेरेन। उसले समुद्र वरिपरि व्यवसायिक सेवा उद्योग निर्माण गर्‍यो।

वित्तीय सेवाबाट सूचना प्रविधिसम्म

साइप्रसको अर्थतन्त्रमा वित्तीय तथा व्यावसायिक सेवाको भूमिका पनि महत्वपूर्ण छ।

युरोपेली संघको सदस्यता, युरो मुद्रा, अन्तर्राष्ट्रिय व्यवसायिक सम्बन्ध र तुलनात्मक रूपमा विकसित सेवा क्षेत्रले विदेशी कम्पनी तथा लगानीकर्तालाई आकर्षित गर्ने आधार तयार गरेका छन्।

विगतमा बैंकिङ क्षेत्रले ठूलो संकट पनि सामना गर्‍यो।

सन् २०१२-२०१३ को वित्तीय संकटका क्रममा साइप्रसको बैंकिङ प्रणाली गम्भीर समस्यामा परेको थियो। बैंकहरूको पुनर्संरचना भयो।

ठूलो निक्षेपमाथि पनि असर पर्ने कठोर कदम चालियो। युरोपेली संघ र अन्तर्राष्ट्रिय संस्थाबाट वित्तीय सहायता लिँदै आर्थिक सुधार कार्यक्रम अघि बढाइयो।

त्यो संकट साइप्रसको अर्थतन्त्रका लागि ठूलो चेतावनी थियो। बैंकिङ र वित्तीय सेवामा अत्यधिक निर्भरता जोखिमपूर्ण हुन सक्छ भन्ने पाठ त्यही संकटले दियो।

त्यसपछि अर्थतन्त्रलाई थप विविध बनाउने प्रयास भयो। सूचना तथा सञ्चार प्रविधि, व्यावसायिक सेवा र अन्य उच्च मूल्यका सेवा विस्तार हुन थाले।

आज सेवा निर्यातभित्र सूचना तथा सञ्चार प्रविधिको भूमिका बढेको छ। २०२५ को आर्थिक वृद्धिमा पनि आईसीटी तथा पर्यटनसहित सेवा निर्यातको विस्तार महत्वपूर्ण रहेको अन्तर्राष्ट्रिय मुद्रा कोषले उल्लेख गरेको छ।

यसले साइप्रसको आर्थिक रूपान्तरणको नयाँ चरण देखाउँछ।

पहिलो चरणमा पर्यटन। त्यसपछि वित्तीय सेवा। त्यससँगै समुद्री व्यापार। अहिले सूचना प्रविधि र उच्च मूल्यका व्यावसायिक सेवातर्फ विस्तार।

सानो अर्थतन्त्रका लागि यही विविधीकरण महत्वपूर्ण हुन्छ।

युरोपेली संघले खोलिदिएको ठूलो बजार

साइप्रस सन् २००४ मा युरोपेली संघको सदस्य बन्यो। सन् २००८ मा युरो क्षेत्र प्रवेश गर्‍यो। यसले उसको आर्थिक संरचनामा ठूलो प्रभाव पार्‍यो।

युरोपेली संघको सदस्यताले साइप्रसलाई साझा बजारसँग गहिरो रूपमा जोड्यो। वस्तु तथा सेवाको आवागमन, लगानी र व्यवसायिक सम्बन्ध विस्तार गर्ने अवसर बढ्यो।

युरो अपनाएपछि युरो क्षेत्रमा कारोबार गर्ने कम्पनीका लागि मुद्रा विनिमय जोखिम पनि घट्यो। सानो घरेलु बजार भएको साइप्रसका लागि बाहिरी बजारको पहुँच महत्वपूर्ण थियो।

युरोपेली संघले त्यसका लागि ठूलो आर्थिक आधार प्रदान गर्‍यो। तर युरोपेली एकीकरणको अर्को पक्ष पनि छ। प्रतिस्पर्धा बढ्छ। नियम कडा हुन्छन्। उत्पादन तथा सेवाको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्डअनुसार हुनुपर्छ।

साइप्रसले यही प्रतिस्पर्धालाई आफ्नो सेवा क्षेत्र विस्तार गर्ने माध्यम बनायो।

युरोपेली बजारसँग जोडिएर पनि उसले मध्यपूर्वसँगको भौगोलिक सम्बन्धलाई उपयोग गर्‍यो। यही कारण साइप्रस युरोप र पूर्वी भूमध्यसागरबीच व्यवसायिक पुलको भूमिकामा रहन खोजिरहेको छ।

संकटबाट बाहिर निस्किएको अर्थतन्त्र

साइप्रसको समृद्धिको कथा लेख्दा बैंकिङ संकटलाई छोड्न मिल्दैन। सन् २०१३ को संकटले देशको वित्तीय संरचनाको कमजोरी उजागर गर्‍यो। बैंकिङ क्षेत्र ठूलो थियो। खराब कर्जा बढेको थियो। ग्रीसको संकटको असर साइप्रससम्म पुगेको थियो।

बैंक पुनर्संरचना, वित्तीय अनुशासन र आर्थिक सुधारका कडा कार्यक्रम लागू भए।

त्यसपछि अर्थतन्त्र विस्तारै पुनःस्थापित भयो। सार्वजनिक वित्तमा सुधार आयो। बैंकिङ क्षेत्रमा खराब सम्पत्ति घटाउने प्रक्रिया अघि बढ्यो। आर्थिक गतिविधि पर्यटन, निर्माण, सेवा र विदेशी लगानीतर्फ फैलियो।

आज अवस्था पहिलेभन्दा धेरै फरक छ। युरोपेली आयोगका अनुसार २०२५ को अन्त्यसम्म साइप्रसको सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको ६० प्रतिशतभन्दा तल झरेको थियो।

२०२५ मा सरकारको वित्तीय बचत पनि सकारात्मक रह्यो।

अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि साइप्रसको वित्तीय क्षेत्रलाई बलियो पुँजी र तरलता तथा सुधारिएको सम्पत्ति गुणस्तरका कारण तुलनात्मक रूपमा सबल रहेको मूल्यांकन गरेको छ।

संकटबाट बाहिर निस्किएपछि साइप्रसले एउटा महत्वपूर्ण कुरा सिक्यो। वित्तीय क्षेत्र ठूलो हुनु मात्र पर्याप्त हुँदैन। त्यसको जोखिम व्यवस्थापन, नियमन र वास्तविक अर्थतन्त्रसँगको सन्तुलन पनि आवश्यक हुन्छ।

अहिलेको अर्थतन्त्र र नयाँ चुनौती

२०२५ मा साइप्रसको अर्थतन्त्र ३.८ प्रतिशतले विस्तार भयो। २०२६ का लागि युरोपेली आयोगले २.३ प्रतिशत र २०२७ का लागि २.७ प्रतिशत वृद्धिको प्रक्षेपण गरेको छ।

तर अहिलेको वातावरण सजिलो छैन।

मध्यपूर्वको द्वन्द्वले ऊर्जा मूल्य र क्षेत्रीय पर्यटनमा जोखिम बढाएको छ। साइप्रसको ऊर्जा प्रणाली अझै आयातित तेलमा धेरै निर्भर भएकाले अन्तर्राष्ट्रिय ऊर्जा मूल्य बढ्दा यसको अर्थतन्त्रमा सीधा असर पर्न सक्छ।

युरोपेली आयोगले यही जोखिमलाई प्रमुख चुनौतीका रूपमा उल्लेख गरेको छ। पर्यटन पनि भूराजनीतिक घटनाप्रति संवेदनशील छ। त्यसैले साइप्रसका लागि आर्थिक विविधीकरण अझ महत्वपूर्ण बनेको छ।

सूचना प्रविधि, वित्तीय सेवा, व्यावसायिक सेवा र समुद्री व्यवसायलाई विस्तार गर्ने प्रयास भइरहेको छ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले आगामी वर्षहरूमा उत्पादकत्व बढाउन न्याय प्रणालीलाई थप प्रभावकारी बनाउने, दक्ष जनशक्ति विकास गर्ने, डिजिटल प्रविधिको प्रयोग विस्तार गर्ने र ऊर्जा क्षेत्रमा सुधार अघि बढाउने आवश्यकता औंल्याएको छ।

अर्थात् साइप्रसको अर्को चरण पर्यटन थप्ने मात्र होइन। उच्च उत्पादकत्वको अर्थतन्त्र बनाउने हो।

सानो भूगोलबाट ठूलो आर्थिक पाठ

साइप्रसको सबैभन्दा ठूलो उपलब्धि उसको आकारभन्दा बाहिर छ। करिब ९ हजार वर्ग किलोमिटरको टापुले आफ्नो अर्थतन्त्रलाई एउटा मात्र क्षेत्रमा निर्भर हुन दिएन।

पर्यटनबाट आम्दानी गर्‍यो। समुद्रबाट जहाज व्यवसाय निर्माण गर्‍यो। वित्तीय सेवाबाट अन्तर्राष्ट्रिय कारोबार आकर्षित गर्‍यो।

युरोपेली संघबाट ठूलो बजार पायो। युरोबाट साझा मुद्रा क्षेत्रमा प्रवेश गर्‍यो। सूचना प्रविधि र व्यावसायिक सेवातर्फ विस्तार गर्‍यो। यही संयोजनले उसको अर्थतन्त्रलाई बलियो बनाएको छ।

तर साइप्रसको अनुभवमा जोखिम पनि छन्। पर्यटनमा अत्यधिक निर्भरता, ऊर्जा आयात, भूराजनीतिक जोखिम, वृद्ध हुँदै गएको जनसंख्या र बाह्य बजारमा निर्भरता दीर्घकालीन चुनौती हुन्।

त्यसैले साइप्रसलाई सफलताको पूर्ण मोडलभन्दा निरन्तर रूपान्तरण गरिरहेको अर्थतन्त्रका रूपमा बुझ्नु उपयुक्त हुन्छ।

उसको उपलब्धि समस्याविहीन अर्थतन्त्र बनाउनु होइन। समस्या आएपछि अर्थतन्त्रको संरचना परिवर्तन गर्न सक्ने क्षमता विकास गर्नु हो।

नेपालले साइप्रसबाट के सिक्ने ?

नेपाल र साइप्रसबीच ठूलो भिन्नता छ। साइप्रस युरोपेली संघको सदस्य हो। नेपाल दक्षिण एसियामा भारत र चीनबीच रहेको भूपरिवेष्ठित मुलुक हो। साइप्रससँग समुद्री पहुँच छ भने नेपालसँग छैन।

त्यसैले साइप्रसको मोडल जस्ताको तस्तै नेपालमा लागू गर्न सकिँदैन। तर केही आर्थिक पाठ भने उपयोगी छन्। पहिलो पाठ सानो वा सीमित बजारलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने रणनीति हो।

नेपालको घरेलु बजार बढिरहेको भए पनि दीर्घकालीन आर्थिक विस्तारका लागि निर्यात आवश्यक छ। जलविद्युत्, सूचना प्रविधि, पर्यटन, कृषि प्रशोधन, जडीबुटी र विशिष्ट नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न सकिन्छ।

दोस्रो पाठ पर्यटनलाई होटल व्यवसायभन्दा बाहिर लैजानु हो।

साइप्रसमा पर्यटनले यातायात, सेवा, निर्माण, मनोरञ्जन, खुद्रा व्यापार र रोजगारीलाई जोडेको छ।

नेपालले पनि पर्यटनबाट केवल होटलको कारोबार होइन, स्थानीय उत्पादन, कृषि, यातायात, संस्कृति, साहसिक पर्यटन र डिजिटल सेवासम्म आर्थिक लाभ विस्तार गर्न सक्छ।

तेस्रो पाठ भौगोलिक अवस्थालाई आर्थिक सम्पत्तिमा बदल्नु हो। साइप्रसले समुद्री अवस्थिति प्रयोग गरेर समुद्री व्यवसायिक समूह बनायो। नेपालसँग समुद्र छैन, तर भारत र चीनबीचको अवस्थिति छ।

नेपालले पारवहन, ऊर्जा व्यापार, सीमा पूर्वाधार, भण्डारण, वितरण, पर्यटन र दुई ठूला बजारसँग जोडिने सेवा क्षेत्रमा आफ्नो अवस्थिति उपयोग गर्न सक्छ।

चौथो पाठ सेवा क्षेत्रको उच्च मूल्यतर्फको विस्तार हो। नेपालमा सेवा क्षेत्र ठूलो भए पनि उच्च मूल्यका अन्तर्राष्ट्रिय सेवाको हिस्सा अझै सीमित छ।

सूचना प्रविधि, सफ्टवेयर, डिजिटल सेवा, लेखा, डिजाइन, अनुसन्धान, परामर्श र अन्य ज्ञानमा आधारित सेवाको निर्यात बढाउन सकिन्छ।

पाँचौं पाठ आर्थिक संकटपछि संरचनागत सुधार हो।

साइप्रसले बैंकिङ संकटपछि वित्तीय प्रणाली सुधार गर्‍यो। नेपालका लागि पनि बैंक तथा वित्तीय प्रणाली, सार्वजनिक वित्त, पूर्वाधार र लगानी वातावरणमा समस्या देखिँदा तत्कालीन उपचारसँगै दीर्घकालीन सुधार आवश्यक हुन्छ।

छैटौं पाठ डिजिटल सरकारी सेवा हो। साइप्रसले समुद्री सेवासमेत डिजिटल बनाउँदैछ। नेपालले पनि लगानी, कम्पनी दर्ता, कर, भन्सार, भूमि, निर्यात, अनुमति र सरकारी सेवामा डिजिटल प्रणाली विस्तार गर्न सके व्यवसायको लागत घटाउन सकिन्छ।

सातौं पाठ पर्यटन र प्रविधिबीचको सम्बन्ध हो। नेपालले पर्यटनलाई केवल हिमाल र प्राकृतिक सौन्दर्यमा सीमित राख्नु हुँदैन।

डिजिटल बुकिङ, पर्यटक डेटा, स्मार्ट पर्यटन, डिजिटल भुक्तानी र अन्तर्राष्ट्रिय प्रचारमार्फत पर्यटनलाई आधुनिक सेवा उद्योगमा बदल्न सकिन्छ।

साइप्रसको कथा अन्ततः एउटा सानो टापुको कथा मात्र होइन। यो आफ्नो सीमिततालाई आर्थिक रणनीतिमा बदल्ने प्रयासको कथा हो।

उससँग ठूलो भूगोल छैन। ठूलो जनसंख्या छैन। विशाल प्राकृतिक स्रोत छैन। तर समुद्र छ। स्थान छ। पर्यटन सम्भावना छ। युरोपेली बजारको पहुँच छ। व्यवसायिक सेवा विस्तार गर्ने क्षमता छ। र यी सबैलाई जोडेर आर्थिक संरचना निर्माण गर्ने नीतिगत प्रयास छ।

यही कारण साइप्रसको अर्थतन्त्र आज पर्यटनमा मात्र निर्भर टापु अर्थतन्त्र रहेन। सूचना प्रविधि, वित्तीय सेवा, समुद्री व्यवसाय, व्यावसायिक सेवा र विदेशी लगानीसँग जोडिएको बहुआयामिक सेवा अर्थतन्त्र बनेको छ।

२०२५ मा उच्च आर्थिक वृद्धि र २०२६ मा बाह्य जोखिमबीच पनि अपेक्षाकृत बलियो वृद्धि प्रक्षेपण हुनु यसको पछिल्लो प्रमाण हो।

सानो भूगोलले अवसरलाई सीमित गर्न सक्छ। तर रणनीति, संस्था, मानव पूँजी र अन्तर्राष्ट्रिय बजारसँगको सम्बन्धले त्यसलाई फराकिलो बनाउन सक्छ।

साइप्रसको आर्थिक यात्राले यही सन्देश दिन्छ। देश ठूलो हुनुपर्दैन, अर्थतन्त्र ठूलो बनाउन सकिन्छ।

2