काठमाडौं । दसैँलाई लक्षित गर्दै अटो बजारमा लाखौँ रुपैयाँसम्मको छुट, एक्सचेन्ज सुविधा र आकर्षक अफरको होड चलेको छ। ग्राहक तान्न कम्पनीहरूले धमाधम योजना सार्वजनिक गरिरहेका छन्। तर, गाडी बेच्ने समयमै व्यवसायीलाई भने बिक्रीभन्दा डेलिभरीको तनाव बढेको छ।
चीनबाट गाडी आयात हुने प्रमुख सडक र नाका अवरुद्ध हुँदा नयाँ सवारीसाधन नेपाल भित्रिन सकेका छैनन्। यसले दसैँअघि बुकिङ भएका गाडी ग्राहकलाई समयमै हस्तान्तरण गर्न व्यवसायीलाई समस्या परेको हो।
भोटेकोसीमा आएको बाढीले सडक तथा भन्सार पूर्वाधारमा क्षति पुर्याएपछि भदौ १० गतेदेखि रसुवागढी नाका बन्द छ। त्यसपछि बाढी र पहिरोको जोखिम बढेको भन्दै चीनतर्फबाट तातोपानी नाका पनि भदौ १४ गतेदेखि बन्द गरिएको थियो। चीनसँगको व्यापारका लागि अर्को विकल्पका रूपमा प्रयोग हुँदै आएको कोरला नाका पनि असोजको पहिलो साता परेको लगातारको वर्षासँगै बाढीपहिरोका कारण प्रभावित भएको छ।
एकै समयमा चीनतर्फका प्रमुख व्यापारिक नाका र सडक अवरुद्ध हुँदा विशेषगरी चीनबाट विद्युतीय सवारीसाधन आयात गर्ने व्यवसायी प्रत्यक्ष प्रभावित भएका छन्। दसैँलाई मुख्य बिक्री सिजन मानेर ठूलो संख्यामा गाडी बुकिङ लिएका कम्पनीहरू अहिले सडक खुल्ने प्रतीक्षामा छन्।
एक व्यवसायीका अनुसार कम्पनीहरूले चाडपर्वलाई लक्षित गरेर अफर सार्वजनिक गरिसकेका छन्। अफरका कारण गाडीबारे सोधपुछ र बुकिङ बढे पनि सोरुममा आवश्यक संख्यामा गाडी उपलब्ध छैनन्।
‘एक हजारभन्दा बढी गाडी बुकिङ छन्। सोरुममा गाडी छैन। अब कसरी डेलिभरी गर्ने भन्ने चिन्ता छ,’ ती व्यवसायीले भने।
उनका अनुसार समस्या कुनै एउटा ब्रान्ड वा कम्पनीको मात्र होइन। चीनबाट गाडी आयात गर्ने अधिकांश व्यवसायीले अहिले समान समस्या भोगिरहेका छन्। दसैँअघि ग्राहकलाई गाडी हस्तान्तरण गर्ने दबाब भए पनि सडक र नाका कहिले खुल्छ भन्ने विषय व्यवसायीको नियन्त्रणमा छैन।
नाडा अटो शो तथा अन्य व्यापारिक कार्यक्रममार्फत बुकिङ लिएका ग्राहकलाई दसैँअघि नै गाडी उपलब्ध गराउने योजना बनाएका व्यवसायी अहिले आयातको बाटो खुल्ने प्रतीक्षामा छन्। दसैँमा नयाँ गाडी चढ्ने योजनासहित बुकिङ गरेका ग्राहकलाई समयमै सवारीसाधन दिन नसक्दा कम्पनीमाथि डेलिभरीको दबाब थपिएको छ।
अर्कोतर्फ, दसैँको बजार समात्न अटो कम्पनीहरूले आक्रामक छुट तथा अफर सार्वजनिक गरेका छन्। एक्सपेङ, आयोन, हुन्डाई, होन्डा, एमजी, ओमोडा, जेको र ग्रेट वाल मोटर्सलगायतका ब्रान्डले ग्राहक आकर्षित गर्न नगद छुट, एक्सचेन्ज सुविधा तथा अन्य योजना अघि सारेका छन्।
अटो व्यवसायीका लागि दसैँ बिक्रीको महत्वपूर्ण समय हो। यही समयमा ग्राहकको माग बढ्ने भएकाले कम्पनीहरूले पहिले नै गाडीको स्टक व्यवस्थापन गर्ने र बुकिङ भएका सवारीसाधन समयमै डेलिभरी गर्ने योजना बनाएका हुन्छन्। यसपटक भने सडक र नाका अवरोधले आयातमै असर गरेपछि बिक्री बढाउने योजना र वास्तविक डेलिभरी क्षमताबीच समस्या देखिएको छ।
अहिले अटो बजारमा अवस्था केही अनौठो बनेको छ। ग्राहकलाई आकर्षित गर्न अफरको प्रतिस्पर्धा चलिरहेको छ, बुकिङ पनि भइरहेको छ, तर बुकिङ भएका गाडी नै समयमै नेपाल ल्याउन नसक्दा व्यवसायी डेलिभरीको दबाबमा छन्।
सडक र व्यापारिक नाका छिटो सञ्चालनमा आए मात्रै व्यवसायीले दसैँअघि बाँकी गाडी ल्याएर ग्राहकलाई हस्तान्तरण गर्न सक्ने अवस्था बन्नेछ। नाका खुल्न ढिलाइ भएमा दसैँको मुख्य बिक्री सिजनमा बुकिङ भएर पनि डेलिभरी कुर्नुपर्ने ग्राहकको संख्या थपिन सक्ने व्यवसायीहरूको भनाइ छ।
