काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले बीपीएल इन्भेष्टमेन्ट लिमिटेडमा २ करोड रुपैयाँ शेयर पूँजी लगानी गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा १ करोड रुपैयाँ भुक्तानी गर्ने निर्णय गरेको छ।
बलेफी हाइड्रोपावरले नेपाल स्टक एक्सचेन्जलाई दिएको जानकारीअनुसार लगानीसम्बन्धी उद्देश्य पूरा गर्न ‘बीपीएल इन्भेष्टमेन्ट लिमिटेड’ नामक सार्वजनिक कम्पनी कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको छ।
बीपीएल इन्भेष्टमेन्टको अधिकृत पूँजी ५० करोड रुपैयाँ र जारी पूँजी २ करोड ५० लाख रुपैयाँ रहेको छ। उक्त कम्पनीमा बलेफी हाइड्रोपावरले कुल २ करोड रुपैयाँ शेयर पूँजी लगानी गर्ने निर्णय गरेको हो।
बीपीएल इन्भेष्टमेन्टले पहिलो चरणमा शेयर पूँजीबापत १ करोड रुपैयाँ माग गरेपछि बलेफी हाइड्रोपावरको सञ्चालक समितिले असोज १५ गते बसेको बैठकबाट उक्त रकम भुक्तानी गर्ने निर्णय गरेको हो।
बाँकी १ करोड रुपैयाँ भने कम्पनीको आवश्यकता र निर्णयअनुसार पछि लगानी गरिने बलेफी हाइड्रोपावरले जनाएको छ।
लगानीसम्बन्धी निर्णयबारे कम्पनीले नेपाल धितोपत्र बोर्ड, सीडीएस एन्ड क्लियरिङ लिमिटेड तथा शेयर रजिस्ट्रार हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडलाई समेत जानकारी गराएको छ।
बलेफी हाइड्रोपावरले सिन्धुपाल्चोकमा ३६ मेगावाट क्षमताको अपर बलेफी ‘ए’ जलविद्युत आयोजना सञ्चालन गर्दै आएको छ।
