अफ्रिकाको दक्षिणी भागमा फैलिएको विशाल कालाहारी मरुभूमिको बीचमा एउटा यस्तो देश छ, जसको कथा हेर्दा विकासका लागि भूगोलभन्दा बढी नीति र संस्थाको महत्व बुझ्न सकिन्छ।
चारैतिर जमिनले घेरिएको बोत्स्वाना आज दक्षिणी अफ्रिकाको तुलनात्मक रूपमा स्थिर र समृद्ध अर्थतन्त्रका रूपमा चिनिन्छ। तर यसको सुरुवात भने निकै कमजोर थियो।
सन् १९६६ मा बेलायती शासनबाट स्वतन्त्र हुँदा बोत्स्वाना संसारकै गरिब मुलुकमध्ये एक थियो।
स्वतन्त्रताका बेला देशमा पक्की सडकको सञ्जाल लगभग थिएन। सरकारी अभिलेखमा त्यतिबेला केवल १२ किलोमिटर पक्की सडक रहेको उल्लेख छ। विश्वविद्यालय तहका स्नातकको संख्या करिब दुई दर्जन र माध्यमिक तह पूरा गरेका मानिसको संख्या करिब एक सय मात्र रहेको सरकारी विवरणमा उल्लेख छ।
आज त्यही देशको अर्थतन्त्रको आकार, प्रतिव्यक्ति आम्दानी, पूर्वाधार, शिक्षा, स्वास्थ्य र राज्य संस्थाको क्षमताले स्वतन्त्रतापछिको अफ्रिकी विकासको एउटा छुट्टै अध्याय बनाएको छ।
यस रूपान्तरणको केन्द्रमा एउटा संयोग थियो। स्वतन्त्रताको एक वर्षपछि बोत्स्वानामा हीराको ठूलो भण्डार भेटियो। तर हीरा भेटिनु मात्र बोत्स्वानाको सफलता थिएन। असली कथा त्यो स्रोतबाट आएको पैसालाई राज्यले कसरी व्यवस्थापन गर्यो भन्नेमा छ।
धेरै मुलुकमा प्राकृतिक स्रोत भेटिएपछि राजनीति अस्थिर भएको, स्रोतमा नियन्त्रणका लागि द्वन्द्व बढेको र राज्यको आम्दानी सीमित समूहको हातमा केन्द्रित भएको इतिहास छ।
बोत्स्वानाले भने हीरालाई राष्ट्रिय आय, सार्वजनिक लगानी र दीर्घकालीन विकासको आधार बनाउने प्रयास गर्यो। यही कारण बोत्स्वानाको कथा केवल हीराको कथा होइन। यो संस्थाको कथा हो। यो नीति निरन्तरताको कथा हो।
यो सार्वजनिक स्रोतलाई निजी सम्पत्तिमा रूपान्तरण नगरी राष्ट्रिय सम्पत्तिमा बदल्ने प्रयासको कथा हो। तर आज यही मोडल फेरि परीक्षामा छ। प्राकृतिक हीराको विश्वव्यापी माग कमजोर हुँदै गएको छ।
प्रयोगशालामा उत्पादित हीराको प्रतिस्पर्धा बढेको छ। चीनको माग घटेको छ। त्यसको असर बोत्स्वानाको उत्पादन, निर्यात र सरकारी आम्दानीमा देखिन थालेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार बोत्स्वानाको अर्थतन्त्र सन् २०२४ मा ३ प्रतिशतले संकुचित भयो र सन् २०२५ मा पनि करिब १ प्रतिशत संकुचनको अनुमान गरिएको थियो।
त्यसैले बोत्स्वानाको कथा अब एउटा सफलताको कथा मात्र रहेन। यो एउटा महत्वपूर्ण प्रश्नको कथा पनि बनेको छ। दशकौँसम्म हीराले धानेको अर्थतन्त्र अब हीराबाहेक केमा टिक्न सक्छ?
मरुभूमिबाट सुरु भएको राष्ट्र
बोत्स्वाना दक्षिण अफ्रिका, नामिबिया, जाम्बिया र जिम्बाब्वेको बीचमा रहेको भूपरिवेष्ठित राष्ट्र हो। यसको ठूलो भूभाग कालाहारी क्षेत्रमा पर्छ। पानीको अभाव, सुक्खा जलवायु र विशाल दूरीले विकासका लागि स्वाभाविक चुनौती सिर्जना गर्छन्।
स्वतन्त्रताका बेला आर्थिक आधार निकै कमजोर थियो। पूर्वाधार न्यून थियो, शिक्षित जनशक्ति अत्यन्त कम थियो र औद्योगिक गतिविधि लगभग नगण्य थियो।
बोत्स्वाना स्वतन्त्र भएपछि तत्कालीन नेतृत्वका अगाडि दुईवटा बाटा थिए। सीमित स्रोतका बीच राज्यलाई चलाउँदै जाने वा उपलब्ध स्रोतलाई दीर्घकालीन विकासको आधार बनाउने। देशका पहिलो राष्ट्रपति सेरेत्से खामाको नेतृत्वमा दोस्रो बाटो रोजियो।
सन् १९६७ मा ओकाभाङ्गो क्षेत्रभन्दा टाढा रहेको ओरापा क्षेत्रमा हीराको ठूलो भण्डार भेटिएपछि बोत्स्वानाको आर्थिक इतिहास नै परिवर्तन भयो।
विश्व बैंकका अभिलेखअनुसार स्वतन्त्रताको एक वर्षपछि हीरा भेटिएको थियो र सन् १९७१ मा ओरापा खानीबाट उत्पादन सुरु भयो। त्यसपछि लेटल्हाकाने र जेवानेंगजस्ता खानीले बोत्स्वानाको खानी क्षेत्रलाई विस्तार गरे।
स्रोत भेटिएपछि राज्यले विदेशी कम्पनीलाई सबै नियन्त्रण दिएन।

मरुभूमिबीच फैलिएको ओकाभान्गो डेल्टा। स्रोतः UNESCO World Heritage Centre
बोत्स्वाना सरकारले डि बियर्ससँग संयुक्त लगानीको संरचना बनायो। यही संरचनाबाट डेब्स्वाना स्थापना भयो, जसमा बोत्स्वाना सरकार र डि बियर्सको बराबर ५०–५० प्रतिशत स्वामित्व छ। डेब्स्वानाको आफ्नै विवरणअनुसार यो साझेदारी बोत्स्वानाको आर्थिक विकास, सामाजिक विकास र वातावरणीय व्यवस्थापनमा महत्वपूर्ण आधार बनेको छ।
यो संरचना बोत्स्वानाको आर्थिक मोडलको महत्वपूर्ण पक्ष बन्यो। प्राकृतिक स्रोत विदेशी कम्पनीले निकाल्ने तर राज्यले त्यसबाट कर, रोयल्टी, लाभांश र अन्य माध्यमबाट ठूलो हिस्सा प्राप्त गर्ने व्यवस्था विकसित भयो।
विश्व बैंकका अध्ययनहरूले पनि हीरा उत्पादन सुरु भएपछि बोत्स्वानाको आर्थिक वृद्धिदर लामो समयसम्म निकै उच्च रहेको देखाउँछन्। खानी क्षेत्र राष्ट्रिय उत्पादन, निर्यात र सरकारी आम्दानीको प्रमुख आधार बन्यो।
हीरा भेटिएको थियो। तर त्यसलाई राष्ट्रिय समृद्धिमा बदल्ने राजनीतिक र संस्थागत निर्णयले बोत्स्वानाको भविष्य बदल्यो।
हीराको पैसा कहाँ खर्च भयो
प्राकृतिक स्रोतबाट आएको पैसा कहाँ खर्च हुन्छ भन्ने प्रश्न कुनै पनि स्रोतसम्पन्न देशका लागि निर्णायक हुन्छ।
बोत्स्वानाले हीराबाट आएको आम्दानीलाई तत्कालीन शासक वर्गको विलासितामा खर्च गर्ने बाटो रोजेन। शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, विद्युत् र सार्वजनिक सेवामा राज्यको लगानी विस्तार गरियो।
स्वतन्त्रताको समयमा सीमित सडक भएको देशमा क्रमशः राष्ट्रिय सडक सञ्जाल विस्तार भयो। विद्यालय र स्वास्थ्य संस्था बढे। ग्रामीण क्षेत्रमा सरकारी सेवा पुर्याउने अभियान चल्यो।
विश्व बैंकको तथ्यांकअनुसार सन् २०२४ सम्म बोत्स्वानाको करिब ८०.२ प्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुगेको थियो। इन्टरनेट प्रयोग गर्ने जनसंख्या पनि ५७ प्रतिशत पुगेको छ। यसले एउटा महत्वपूर्ण परिवर्तन देखाउँछ। खानीबाट आएको राजस्व केवल खानी क्षेत्रमा पुनः लगानी भएन।
त्यसलाई व्यापक सार्वजनिक पूर्वाधारमा रूपान्तरण गर्ने प्रयास गरियो।
यही नीतिका कारण बोत्स्वानाको आर्थिक वृद्धिलाई लामो समयसम्म अफ्रिकाकै उल्लेखनीय वृद्धिमध्ये गनियो।
सन् १९६० को दशकमा प्रतिव्यक्ति आय अत्यन्त न्यून रहेको देशले केही दशकभित्र मध्यम आयको अर्थतन्त्र निर्माण गर्यो। तर यसको अर्थ सबै नागरिक समान रूपमा धनी भए भन्ने होइन। बोत्स्वानाले अझै उच्च असमानता र बेरोजगारीको समस्या सामना गरिरहेको छ।
अर्थात् हीराले देशलाई गरिबीबाट बाहिर निकाल्न ठूलो भूमिका खेल्यो, तर हीराले मात्रै समावेशी समृद्धि सुनिश्चित गरेन।
यही अन्तर अहिले बोत्स्वानाको आर्थिक बहसको केन्द्रमा छ।
कगोट्लादेखि आधुनिक लोकतन्त्रसम्म
बोत्स्वानाको विकासमा खानीभन्दा पहिले नै एउटा अर्को पूँजी थियो। त्यो थियो सामुदायिक छलफल र परामर्शको परम्परा।
सेत्स्वाना समाजमा ‘कगोट्ला’ स्थानीय समुदायले भेला भएर सार्वजनिक विषयमा छलफल गर्ने परम्परागत थलो हो। यहाँ समुदायका मानिसहरूले विवाद, विकास, स्थानीय निर्णय र सामाजिक विषयमा छलफल गर्ने अभ्यास लामो समयदेखि गर्दै आएका छन्।
बोत्स्वाना सरकारको विवरणअनुसार कगोट्ला अहिले पनि स्थानीय तहमा परामर्श र निर्णय प्रक्रियाको माध्यमका रूपमा प्रयोग हुन्छ। समुदायका सदस्यले स्थानीय विषयमा छलफल र निर्णयका लागि कगोट्लामा भेला हुन सक्छन्।
बोत्स्वानाको संसदले पनि कगोट्ला प्रणालीलाई परम्परागत शासन संरचना र आधुनिक लोकतन्त्रबीचको एउटा महत्वपूर्ण कडीका रूपमा व्याख्या गर्छ।
सन् १९६६ मा स्वतन्त्र हुँदा बोत्स्वानाले संसदीय लोकतान्त्रिक संरचनासहित नयाँ संविधान अपनायो। राष्ट्रपति कार्यकारी प्रमुख बने र राष्ट्रिय सभालाई विधायिकी भूमिकासहितको केन्द्रीय संस्था बनाइयो।
स्वतन्त्रतापछि लामो समयसम्म देशमा राजनीतिक स्थिरता रह्यो। निर्वाचन हुँदै आए, सरकारहरू परिवर्तन भए र सत्ता हस्तान्तरण हिंसात्मक संघर्षमा परिणत भएन।
सरकारसँग असहमति राख्ने, आलोचना गर्ने र सार्वजनिक नीतिमा प्रश्न उठाउने संस्थागत संरचना कायम रहनु आर्थिक लगानीका लागि पनि महत्वपूर्ण हुन्छ। व्यवसायीले लगानी गर्दा केवल बजार हेर्दैन। उसले कानुन, सम्पत्ति अधिकार, संस्थाको विश्वसनीयता, नीतिको निरन्तरता र राजनीतिक जोखिम पनि हेर्छ।
बोत्स्वानाले यही क्षेत्रमा तुलनात्मक रूपमा स्थिर वातावरण बनाउन सक्यो। सरकारी योजनाले पनि पारदर्शिता, उत्तरदायित्व, कानुनी शासन र संस्थागत क्षमतालाई विकासका आधारका रूपमा राखेको छ।
यसको अर्थ बोत्स्वाना भ्रष्टाचाररहित वा सबै हिसाबले आदर्श देश हो भन्ने होइन। असमानता, बेरोजगारी, संस्थागत कमजोरी र निजी क्षेत्रको सीमितता अझै चुनौती हुन्। तर प्राकृतिक स्रोतबाट आएको आम्दानी व्यवस्थापन गर्न आवश्यक राज्य संरचना निर्माण गर्न सक्नु यसको महत्वपूर्ण उपलब्धि रह्यो।
मरुभूमिमा प्रकृतिको अर्को सम्पत्ति
बोत्स्वानाको अर्थतन्त्र केवल खानीमा सीमित छैन। मरुभूमिको बीचमा रहेको प्राकृतिक सम्पदा पनि यसको अर्को ठूलो आर्थिक आधार बनेको छ। ओकाभान्गो डेल्टा यसको सबैभन्दा ठूलो उदाहरण हो।
ओकाभान्गो नदी समुद्रमा पुग्दैन। यसको पानी बोत्स्वानाको उत्तरपश्चिममा फैलिएको विशाल आन्तरिक डेल्टामा पुगेर मरुभूमिको भूभागमा फैलिन्छ। युनेस्कोका अनुसार ओकाभान्गो विश्वका केही प्रमुख समुद्रमा नबग्ने आन्तरिक डेल्टामध्ये एक हो र यसको विश्व सम्पदा क्षेत्र २० लाख हेक्टरभन्दा बढीमा फैलिएको छ।
यहाँ हात्ती, सिंह, चितुवा, गैंडा, जंगली कुकुरलगायत विभिन्न वन्यजन्तुको महत्वपूर्ण बासस्थान छ। बोत्स्वानाले यही प्राकृतिक सम्पदालाई ठूलो संख्यामा पर्यटक ल्याउने सामान्य पर्यटन मोडलभन्दा फरक ढंगले उपयोग गर्ने प्रयास गरेको छ।
ओकाभान्गोको भित्री क्षेत्रमा साना र अस्थायी शिविरमार्फत सीमित पर्यटन सञ्चालन गरिन्छ। युनेस्कोका अनुसार पहुँच कठिन भएकाले डेल्टाको ठूलो हिस्सा अझै तुलनात्मक रूपमा अविकसित र प्राकृतिक अवस्थामा रहेको छ। पर्यटकीय सुविधामा वातावरणीय प्रभाव कम गर्ने व्यवस्था गरिएको छ।
यसबाट बोत्स्वानाले एउटा फरक आर्थिक सोच विकास गर्यो। पर्यटकको संख्या मात्र बढाउने होइन, प्राकृतिक सम्पदाको मूल्य बढाउने। पर्यटनबाट प्राप्त आम्दानीलाई स्थानीय रोजगारी, संरक्षण र ग्रामीण अर्थतन्त्रसँग जोड्ने प्रयास गरियो।
हीरा जमिनभित्रको सम्पत्ति थियो। ओकाभान्गो जमिनमाथिको सम्पत्ति हो। दुवैलाई आर्थिक मूल्यमा रूपान्तरण गर्ने तरिका फरक भए पनि मूल सोच एउटै छ। प्राकृतिक स्रोतलाई नष्ट नगरी त्यसबाट दीर्घकालीन आम्दानी सिर्जना गर्ने।
स्वास्थ्य संकटसँग लडेको राज्य
बोत्स्वानाको विकास यात्रा सधैँ सहज थिएन। सन् १९९० को दशकदेखि एचआईभी/एड्सको महामारीले देशलाई गम्भीर संकटमा पार्यो। उच्च संक्रमणदरले जनस्वास्थ्यसँगै श्रम बजार, परिवार र सामाजिक संरचनामा समेत असर पुर्यायो।
सरकारले यसलाई लुकाउने प्रयास गर्नुको सट्टा राष्ट्रिय स्वास्थ्य चुनौतीका रूपमा स्वीकार गर्यो। उपचारमा पहुँच विस्तार गरियो र अन्तर्राष्ट्रिय साझेदारसँग सहकार्य बढाइयो।
आज बोत्स्वानामा एचआईभी संक्रमित सबै व्यक्ति, नागरिक मात्र होइनन्, देशमा बसोबास गर्ने गैरनागरिकसमेत निःशुल्क एन्टीरेट्रोभाइरल उपचारका लागि योग्य छन्। सरकारी स्वास्थ्य सेवाले संक्रमण पुष्टि भएपछि सकेसम्म तत्काल वा सात दिनभित्र उपचार सुरु गर्न सिफारिस गर्छ।
यो नीति एउटा महत्वपूर्ण उदाहरण हो। प्राकृतिक स्रोतबाट आएको राजस्वले राज्यको वित्तीय क्षमता बढाएपछि त्यसलाई जनस्वास्थ्यमा प्रयोग गर्न सकियो।
सामाजिक सुरक्षाका विभिन्न कार्यक्रम पनि सञ्चालन गरिएका छन्। वृद्धभत्ता, विपन्न वर्गका लागि सहायता, दुर्गम क्षेत्रमा विकास कार्यक्रम र उच्च शिक्षाका लागि सरकारी सहयोगजस्ता कार्यक्रम राज्यको सामाजिक नीतिका हिस्सा बनेका छन्।
यसले बोत्स्वानाको विकासलाई केवल प्रतिव्यक्ति आयको वृद्धिमा सीमित हुन दिएन। राज्यको भूमिका सार्वजनिक सेवा विस्तारमा पनि केन्द्रित रह्यो।
हीराले बनाएको समृद्धिको सीमा
यहीँबाट बोत्स्वानाको कथाको अर्को पक्ष सुरु हुन्छ। हीराले बोत्स्वानालाई उठायो। तर अहिले त्यही हीरा अर्थतन्त्रको जोखिम पनि बन्न थालेको छ।
विश्व बजारमा प्राकृतिक हीराको माग कमजोर भएको छ। प्रयोगशालामा उत्पादन हुने हीराले उपभोक्ताको विकल्प बढाएको छ। चीनमा माग घटेको छ। विश्व अर्थतन्त्रमा विलासिताका वस्तुको मागमा आएको परिवर्तनले पनि असर पारेको छ।
अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार बोत्स्वानाको अर्थतन्त्र सन् २०२४ मा ३ प्रतिशतले संकुचित भयो। त्यही वर्ष खानी उत्पादन २४ प्रतिशतले घट्यो। सन् २०२४ को पहिलो त्रैमासिकमा समग्र बेरोजगारी २७.६ प्रतिशत र युवा बेरोजगारी ३८.२ प्रतिशत रहेको तथ्यांक पनि अन्तर्राष्ट्रिय मुद्रा कोषले उद्धृत गरेको छ।
यो तथ्यले बोत्स्वानाको पुरानो आर्थिक मोडलको कमजोरी देखाउँछ। हीरा खानी पूँजीप्रधान उद्योग हो। ठूलो लगानीबाट धेरै मूल्य सिर्जना गर्न सकिन्छ, तर त्यस अनुपातमा ठूलो संख्यामा रोजगारी सिर्जना हुँदैन।
त्यसैले हीराको आम्दानी बढ्दा पनि युवाको रोजगारी समस्या समाधान हुँदैन। राष्ट्रिय आम्दानी बढे पनि आम्दानीको वितरण समान हुँदैन।
अन्तर्राष्ट्रिय मुद्रा कोषले बोत्स्वानामा उच्च बेरोजगारी, विशेषगरी युवा बेरोजगारी, उच्च असमानता र सीमित आर्थिक विविधीकरणलाई संरचनात्मक चुनौतीका रूपमा औँल्याएको छ।
यसले बोत्स्वानाको सफलताको पुरानो सूत्रलाई नयाँ प्रश्नमा पुर्याएको छ। अब हीरा मात्र पर्याप्त छैन।
नयाँ अर्थतन्त्रको खोजी
बोत्स्वाना अहिले अर्थतन्त्र विविधीकरणको चरणमा छ। सरकार र अन्तर्राष्ट्रिय संस्थाहरूको ध्यान कृषि, पर्यटन, वित्तीय सेवा, सूचना प्रविधि, ऊर्जा, उत्पादन र निजी क्षेत्र विस्तारतर्फ केन्द्रित हुन थालेको छ।
हीरा उद्योगभित्र पनि मूल्य अभिवृद्धिको प्रयास भइरहेको छ। कच्चा हीरा मात्र निर्यात गर्नेभन्दा कटिङ, पोलिसिङ र अन्य सम्बन्धित गतिविधि देशभित्र विस्तार गर्ने प्रयास भइरहेको छ। यसको उद्देश्य एउटै हो। खानीबाट निकालिएको वस्तुको बढी मूल्य देशभित्रै राख्ने।
यसैबीच डेब्स्वानाको हीरा बिक्री संरचनामा पनि परिवर्तन हुँदैछ। अन्तर्राष्ट्रिय मुद्रा कोषको २०२५ को प्रतिवेदनअनुसार बोत्स्वानाको सरकारी स्वामित्वको ओकाभाङ्गो डायमन्ड कम्पनीलाई डेब्स्वानाबाट प्राप्त हुने कच्चा हीराको हिस्सा क्रमशः बढाउने व्यवस्था भएको छ।
सन् २०२५ मा २५ प्रतिशतबाट ३० प्रतिशत हुँदै करिब सन् २०३३ सम्ममा ५० प्रतिशत पुर्याउने योजना उल्लेख गरिएको छ।

बोत्स्वानाको चोबे नदीमा वन्यजन्तुको दृश्य। स्रोतः Botswana Tourism Organisation
डि बियर्सले पनि आर्थिक विविधीकरणका लागि ‘डायमन्ड्स फर डेभलपमेन्ट फन्ड’मा १० वर्षमा १० अर्ब बोत्स्वाना पुलासम्म लगानी गर्ने प्रतिबद्धता जनाएको अन्तर्राष्ट्रिय मुद्रा कोषले उल्लेख गरेको छ।
यसले बोत्स्वानाको अर्थतन्त्रमा एउटा संक्रमण सुरु भएको संकेत गर्छ।
पहिलो चरणमा हीराले राज्य निर्माण गर्यो। दोस्रो चरणमा हीराको आम्दानीबाट पूर्वाधार र सामाजिक सेवा विस्तार गरियो। अब तेस्रो चरणमा हीराले बनाएको वित्तीय र संस्थागत आधार प्रयोग गरेर हीराबाहेकका क्षेत्र विकास गर्नुपर्ने अवस्था आएको छ।
अबको परीक्षा विविधीकरण
बोत्स्वानाको पुरानो आर्थिक मोडल अब दबाबमा छ। अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार कमजोर हीरा मागका कारण सन् २०२५ मा पनि अर्थतन्त्र संकुचनमा जाने अनुमान गरिएको थियो।
यद्यपि मध्यम अवधिमा आर्थिक विविधीकरण, निजी क्षेत्र विस्तार र वित्तीय अनुशासनका सुधार सफल भएमा वृद्धिदर पुनः बढ्न सक्ने आकलन गरिएको छ।
विश्व बैंकले पनि बोत्स्वानाको परम्परागत हीरा-आधारित वृद्धिमोडल दबाबमा परेको बताएको छ। प्राकृतिक हीराको माग घट्नु, प्रयोगशालामा उत्पादित हीरासँगको प्रतिस्पर्धा र नयाँ आर्थिक क्षेत्र विकासमा भएको ढिलाइले निर्यात तथा सरकारी राजस्वमा दबाब बढाएको छ।
अर्थात् बोत्स्वानाले अब आफूले बनाएको सफलताको अर्को संस्करण तयार गर्नुपर्नेछ। यसपटक स्रोत जमिनमुनि होइन, मानव सीपमा खोज्नुपर्नेछ।
पर्यटनमा प्राकृतिक सम्पदा छ। सौर्य ऊर्जामा विशाल सम्भावना छ। वित्तीय सेवाको विस्तार गर्न सकिन्छ। सूचना प्रविधिमा नयाँ रोजगारी सिर्जना गर्न सकिन्छ। कृषि उत्पादन र प्रशोधनमा मूल्य शृंखला विकास गर्न सकिन्छ। क्षेत्रीय बजारसँग जोडिएर उत्पादन र व्यापार बढाउन सकिन्छ।
तर यसको सबैभन्दा ठूलो आवश्यकता निजी क्षेत्रको विस्तार हो। अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि बोत्स्वानाको दीर्घकालीन वृद्धिका लागि निजी क्षेत्रको भूमिका बढाउनुपर्ने, वित्तीय पहुँच सुधार गर्नुपर्ने, श्रम बजारका समस्या समाधान गर्नुपर्ने र अर्थतन्त्रलाई थप विविध बनाउनुपर्ने औँल्याएको छ।
यसको अर्थ राज्यले सबै कुरा आफैँ गर्ने होइन। राज्यले नियम, पूर्वाधार, शिक्षा, सीप र स्थिर नीति दिने तथा निजी क्षेत्रलाई उत्पादन र रोजगारी सिर्जनाको प्रमुख माध्यम बनाउने मोडलतर्फ जानुपर्ने हो।
बोत्स्वानाको कथा किन महत्वपूर्ण छ
बोत्स्वानाको विकास कथालाई केवल ‘हीरा भेटियो र देश धनी भयो’ भनेर बुझ्नु अधुरो हुन्छ। हीरा अफ्रिकाका धेरै देशमा पनि छन्। प्राकृतिक स्रोत अन्यत्र पनि छन्। ठूलो भूभाग, खनिज, तेल, ग्यास, वन र कृषि स्रोत भएका धेरै देशले ती स्रोतबाट अपेक्षित समृद्धि हासिल गर्न सकेका छैनन्।
बोत्स्वानाको विशेषता स्रोतको उपलब्धतासँगै त्यसको व्यवस्थापनमा थियो।
स्रोतबाट आएको आम्दानीलाई राज्यको वित्तीय क्षमतामा बदलियो। त्यसलाई सडक, विद्यालय, स्वास्थ्य संस्था, खानेपानी र विद्युत्मा लगानी गरियो। परामर्शको परम्परालाई आधुनिक शासनसँग जोडियो। राजनीतिक स्थिरता कायम रह्यो। कानुनी र संस्थागत संरचनालाई निरन्तरता दिइयो।
यही कारण प्राकृतिक स्रोत बोझ बन्नुको सट्टा विकासको इन्धन बन्न सक्यो। तर बोत्स्वानाको वर्तमान चुनौतीले अर्को पाठ पनि दिन्छ। कुनै पनि स्रोत सधैँ रहँदैन। एउटा वस्तुमा अत्यधिक निर्भर अर्थतन्त्र बाह्य माग, प्रविधि र उपभोक्ता व्यवहारको परिवर्तनबाट प्रभावित हुन सक्छ।
आज प्रयोगशालामा उत्पादन हुने हीराले बोत्स्वानालाई यही पाठ सिकाइरहेको छ। त्यसैले बोत्स्वानाको अबको सफलता हीरा उत्पादन कति भयो भन्नेमा मात्र निर्भर रहने छैन। हीराबाट बनेको राज्यले हीराबाहेक कति बलियो अर्थतन्त्र बनाउन सक्छ भन्नेमा निर्भर हुनेछ।
मरुभूमिको बीचमा एउटा राष्ट्रले आफूलाई गरिबीबाट बाहिर निकाल्यो। प्राकृतिक स्रोतलाई सार्वजनिक सम्पत्तिमा बदल्यो। त्यसबाट विद्यालय, सडक, अस्पताल र संस्थाहरू बनायो। पर्यटनका लागि प्रकृति जोगायो। स्वास्थ्य संकटको सामना गर्यो। लोकतान्त्रिक संरचनालाई निरन्तरता दियो।
अब उसको अगाडि अर्को परीक्षा छ। हीराको चमक घट्दा पनि अर्थतन्त्रको चमक कायम राख्न सक्ने क्षमता बनाउने परीक्षा।
बोत्स्वानाको सबैभन्दा ठूलो उपलब्धि सायद हीरा निकाल्नु होइन। सीमित स्रोतबाट संस्थागत क्षमता निर्माण गर्नु हो। र यसको सबैभन्दा ठूलो चुनौती पनि त्यही हो, अब ती संस्थाले प्राकृतिक स्रोतबाहेकको नयाँ आर्थिक आधार निर्माण गर्न सक्छन् कि सक्दैनन्।
कालाहारीको सुक्खा भूगोलले बोत्स्वानालाई रोक्न सकेन। समुद्रसम्म पहुँच नहुनुले रोक्न सकेन। स्वतन्त्रताको सुरुवातमा सडक र शिक्षित जनशक्तिको अभावले रोक्न सकेन।
आज चुनौतीको स्वरूप फेरिएको छ। हीराको बजार बदलिएको छ। रोजगारीको दबाब बढेको छ। असमानता अझै बाँकी छ। निजी क्षेत्र विस्तार गर्नुपर्ने आवश्यकता बढेको छ।
यही कारण बोत्स्वानाको आगामी दशक विगतका दशकभन्दा फरक हुनेछ।
पहिले प्रश्न थियो, गरिब राष्ट्रलाई कसरी समृद्ध बनाउने?
आज प्रश्न छ, हीराबाट बनेको समृद्धिलाई कसरी दिगो बनाउने?
त्यसको उत्तर फेरि पनि नीति, संस्था, मानव पूँजी र आर्थिक विविधीकरणमै खोजिँदैछ।

