काठमाडौं । अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए)का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट हालसम्म ३२ करोड ५० लाख ब्यारेल तेल तथा तेलजन्य उत्पादन बजारमा पठाएका छन्।
अन्तर्राष्ट्रिय बजारमा इन्धनको आपूर्ति सहज बनाउन आईईएका सदस्य राष्ट्रहरूले मार्चमा रणनीतिक भण्डारबाट ४० करोड ब्यारेल तेल बजारमा पठाउने प्रतिबद्धता जनाएका थिए। त्यसैअनुसार अहिलेसम्म ३२ करोड ५० लाख ब्यारेल तेल तथा तेलजन्य उत्पादन बजारमा पठाइएको आईईएले जनाएको छ।
विश्वका प्रमुख सात औद्योगिक राष्ट्रहरूको समूह जी–७ ले आईईएसँगको समन्वयमा थप १० करोड ब्यारेल डिजेल र कच्चा तेल बजारमा पठाउने सहमति गरेको भोलिपल्ट यो विवरण सार्वजनिक भएको हो।
अमेरिका–इरान द्वन्द्वका कारण विश्वव्यापी ऊर्जा आपूर्तिमा देखिएको दबाब र इन्धन अभावको जोखिम कम गर्न थप तेल बजारमा पठाउने निर्णय गरिएको हो।
जी–७ को निर्णयमा मार्चमा गरिएको प्रतिबद्धताअन्तर्गत बाँकी रहेको ७ करोड ५० लाख ब्यारेल पनि समावेश छ। थप २ करोड ५० लाख ब्यारेल तेल कुन स्रोतबाट उपलब्ध गराइने हो भन्ने विषयमा भने जी–७ ले स्पष्ट विवरण सार्वजनिक गरेको छैन।
रणनीतिक भण्डारबाट ठूलो परिमाणमा तेल बजारमा पठाउने निर्णयले अन्तर्राष्ट्रिय बजारमा आपूर्ति सहज बनाउने र इन्धनको मूल्यमा देखिएको दबाब कम गर्ने उद्देश्य राखेको छ।
