काठमाडौं । जगदम्बा मोटर्स प्रालिले बुटवलमा आयोजना गरेको अपाचे रेस एक्सपेरियन्स (एआरई) जीपी रेसिङ क्वालिफायर्सबाट १६० सीसी वर्गका तीन राइडर ग्रान्ड फिनालेका लागि छनोट भएका छन्।
तिलोत्तमा–५, कफी कम्पनी, मणिग्रामस्थित गौराङ्ग इजी वे ट्रायल सेन्टरमा आयोजित क्वालिफायर्समा बुटवल क्षेत्रका ७६ राइडरले सहभागिता जनाएका थिए। टीभीएसको आधिकारिक डिलर बालाजी अटोमोबाइल्सको सहकार्यमा आयोजित प्रतियोगितामा उदीयमान राइडर, मोटरस्पोर्ट्सप्रेमी तथा एमेच्योर रेसरको सहभागिता रहेको आयोजकले जनाएको छ।
१६० सीसी वर्गको प्रतिस्पर्धामा धीरज बि.क.ले ३४.०७ सेकेन्डको समय निकाल्दै पहिलो स्थान हासिल गरे। अभिषेक पन्थी ३४.६२ सेकेन्डसहित दोस्रो तथा अरिक श्रेष्ठ ३४.८७ सेकेन्डसहित तेस्रो भए।
छनोट भएका तीनै राइडरले एआरई जीपी ग्रान्ड फिनालेमा बुटवलको प्रतिनिधित्व गर्नेछन्। उनीहरूले काठमाडौं, नेपालगञ्ज, इटहरी र पोखरामा सम्पन्न क्षेत्रीय क्वालिफायर्सबाट छनोट भएका राइडरसँग प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताअघि पूर्व एआरई जीपी नेपाल विजेता तथा मद्रास इन्टरनेसनल सर्किटका विजेता सुजन थापा मगर र चार पटककी राष्ट्रिय च्याम्पियन नवाङ मोक्तानले सहभागीलाई प्रशिक्षण दिएका थिए। प्रशिक्षणमा राइडिङ पोस्चर, कर्नरिङ, लिनिङ, ब्रेकिङ र भिजन कन्ट्रोललगायत विषयमा सैद्धान्तिक तथा व्यावहारिक अभ्यास गराइएको थियो।
बालाजी अटोमोबाइल्सका प्रबन्ध निर्देशक विशाल जैसवालले बुटवलमा भएको सहभागिताले क्षेत्रमा मोटरस्पोर्ट्सप्रतिको रुचि बढ्दै गएको देखाएको बताए। उनका अनुसार धेरै सहभागी यसअघि ट्र्याकमा प्रतिस्पर्धा नगरेका भए पनि राष्ट्रिय च्याम्पियनबाट प्रशिक्षण लिएर क्वालिफायर्समा सहभागी भएका थिए।
एआरई जीपी ग्रान्ड फिनालेमा १६० सीसी र २०० सीसी वर्गका विजेताले भारतको मद्रास इन्टरनेसनल सर्किटमा हुने अन्तर्राष्ट्रिय रेसिङमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्। उक्त प्रतियोगितामा ५० भन्दा बढी देशका राइडरसँग प्रतिस्पर्धा गर्ने अवसर प्राप्त हुने आयोजकले जनाएको छ।
अन्तर्राष्ट्रिय रेसिङमा सहभागी हुने नेपाली राइडरको यात्रा तथा आवास खर्च जगदम्बा मोटर्स र टीभीएस मोटर कम्पनी इन्डियाले व्यहोर्ने बताइएको छ।
जगदम्बा मोटर्सले नेपालमा मोटरस्पोर्ट्स संस्कृतिको विकास गर्ने उद्देश्यले एआरई कार्यक्रम सञ्चालन गर्दै आएको छ। कार्यक्रमअन्तर्गत अपाचे ट्र्याक एक्सपेरियन्स, अपाचे रेसिङ क्वालिफायर्स र एआरई जीपी ग्रान्ड फिनाले आयोजना हुँदै आएको कम्पनीले जनाएको छ।
अपाचे रेसिङ क्वालिफायर्स काठमाडौं, बुटवल, नेपालगञ्ज, इटहरी र पोखरामा सञ्चालन हुँदै आएको छ। क्षेत्रीय क्वालिफायर्सबाट छनोट भएका राइडरलाई राष्ट्रिय प्रतिस्पर्धामार्फत अन्तर्राष्ट्रिय रेसिङसम्म पुर्याउने कार्यक्रमको उद्देश्य रहेको जगदम्बा मोटर्सले जनाएको छ।
