काठमाडौं। एक्सट्रीम इनर्जी ड्रिंकले नेपाली राष्ट्रिय क्रिकेट टोलीका ९ जना खेलाडीलाई ‘टिम एक्सट्रीम’ का सदस्यका रूपमा आबद्ध गरेको छ। काठमाडौंको एभरेष्ट होटलमा आयोजित एक कार्यक्रमका बीच कम्पनी र खेलाडीहरूबीच औपचारिक सम्झौता भएको हो।
सम्झौताअनुसार सन्दीप लामिछाने, रोहित पौडेल, सोमपाल कामी, आसिफ शेख, ललित राजवंशी, शेर मल्ल, ईशान पाण्डे, करण के.सी. र लोकेश बम टिम एक्सट्रीममा समेटिएका छन्। सम्झौतासँगै यी खेलाडीहरूले प्रयोग गर्ने क्रिकेट ब्याटमा एक्सट्रीमको लोगो रहनेछ। साथै, खेलाडीहरू कम्पनीद्वारा सञ्चालित विभिन्न प्रवर्द्धनात्मक र खेलकुदसम्बन्धी गतिविधिमा सहभागी हुनेछन्।
नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन र युवा पुस्तामा खेलकुदप्रतिको उत्साह बढाउने उद्देश्यले यो सहकार्य गरिएको कम्पनीले जनाएको छ। खेलाडीहरूको लोकप्रियता र युवामाझ उनीहरूको प्रभावलाई ध्यानमा राख्दै गरिएको यस सम्झौताले क्रिकेट र ब्रान्डबीचको सम्बन्ध थप बलियो बनाउने विश्वास कम्पनीको छ।
यसैबीच, कार्यक्रममा एक्सट्रीमले नेपाल प्रिमियर लिग (एनपीएल) मा आबद्ध ७ वटा टोलीको पहिचान झल्किने गरी विशेष संस्करणको क्यान पनि सार्वजनिक गरेको छ। एनपीएलको माहोललाई थप रोमाञ्चक बनाउन र समर्थकहरूसँग नजिकिन यस्तो क्यान ल्याइएको कम्पनीले उल्लेख गरेको छ। कम्पनीले आगामी दिनमा पनि क्रिकेटलगायत अन्य खेलकुद गतिविधिमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।
