काठमाडौं। नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा भुक्तानी तथा सटहीसम्बन्धी विद्यमान व्यवस्थामा संशोधन गर्दै व्यवसायी तथा सेवाग्राहीका लागि भुक्तानी सीमा बढाएको छ। राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२ मा संशोधन गर्दै आयात, सेवा भुक्तानी र विभिन्न कारोबारमा भुक्तानीको सीमा वृद्धि गरेको हो।
असोज १९ मा जारी संशोधित निर्देशनअनुसार, विदेशमा उपचारका लागि जाने नेपाली नागरिकका लागि वार्षिक सटही सुविधा १६ हजार अमेरिकी डलरबाट बढाएर ३० हजार डलर पुर्याइएको छ। त्यसैगरी, हवाईजहाजका इन्जिन वा पार्टपुर्जा मर्मतका लागि गरिने अग्रिम भुक्तानीको सीमा १ लाख डलरबाट ५ लाख डलर कायम गरिएको छ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट उपलब्ध हुने वार्षिक सटही सुविधाको सीमा पनि १५ हजार डलरबाट ३० हजार डलर पुर्याएको छ। स्याटेलाइट सेवा भाडामा लिने दूरसञ्चार प्रदायकका लागि वार्षिक भुक्तानी सीमा १ लाख डलरबाट ५ लाख डलर बनाइएको छ। सेवा आयात गर्दा अग्रिम भुक्तानीका लागि बैंक ग्यारेन्टी आवश्यक पर्ने सीमा पनि १५ हजार डलरबाट ३० हजार डलर पुर्याइएको छ।
भारतमा गरिने भुक्तानीको हकमा, प्रतिपटक ४० लाख भारतीय रुपैयाँ रहेको सीमा बढाएर ६० लाख भारतीय रुपैयाँ पुर्याइएको छ। निर्यातबाट प्राप्त रकमको प्रयोग गरी आयात भुक्तानी गर्ने सीमा तेस्रो मुलुकका लागि ३० हजार डलर र भारतका लागि ६० लाख भारतीय रुपैयाँ तोकिएको छ।
पर्यटन व्यवसायमा ट्राभल तथा टुर एजेन्सीले विदेशी एजेन्टलाई भुक्तानी गर्दा सम्बन्धित बिल-बिजकका आधारमा सेवा प्रदान गरेपछि मात्र रकम पठाउन सकिने व्यवस्था गरिएको छ। साथै, सूचना प्रविधि, कृषि, ऊर्जा र पर्यटनलगायतका क्षेत्रमा विदेशबाट ऋण भित्र्याउन ‘क’ वर्गका बैंकले विदेशी मुद्रामा बैंक ग्यारेन्टी वा स्ट्यान्डबाइ लेटर अफ क्रेडिट जारी गर्न सक्ने बाटो खुला गरिएको छ।
अनलाइनमार्फत सेवा निर्यात गरी विदेशी मुद्रा कमाउने कार्ड प्रयोगकर्ताका लागि कार्डमा जम्मा गर्न पाउने सीमा ५ हजार डलरबाट बढाएर १० हजार डलर पुर्याइएको छ। साथै, यस्ता प्रयोगकर्ताका लागि वार्षिक सटही सुविधाको सीमा ५ सय डलरबाट बढाएर १० हजार डलर बनाइएको छ।
