काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाली वायुसेवा कम्पनीले हवाईजहाजका इन्जिन तथा पार्टपुर्जा आयात गर्दा गर्न पाउने अग्रिम भुक्तानीको सीमा पाँच गुणाले बढाएको छ।
विदेशी विनिमय व्यवस्थापनसम्बन्धी एकीकृत निर्देशन संशोधन गर्दै राष्ट्र बैंकले यस्तो अग्रिम भुक्तानीको सीमा १ लाख अमेरिकी डलरबाट बढाएर ५ लाख डलर पुर्याएको हो।
संशोधित व्यवस्थाअनुसार नेपाली वायुसेवा कम्पनीले हवाईजहाजका इन्जिन, पार्टपुर्जा तथा अन्य अत्यावश्यक सामग्री आयात गर्दा नेपाल नागरिक उड्डयन प्राधिकरणको सिफारिससहित आवश्यक कागजात पेस गरेर ५ लाख अमेरिकी डलरसम्म अग्रिम भुक्तानी पठाउन सक्नेछन्।
यस्तो भुक्तानी बैंक तथा वित्तीय संस्थाले आफ्नै स्तरबाट पठाउन सक्नेछन्। यसका लागि विदेशी बैंकको ‘बैंक ग्यारेन्टी’ समेत आवश्यक नपर्ने व्यवस्था गरिएको छ। यसअघि १ लाख डलरभन्दा बढीको अग्रिम भुक्तानीका लागि थप प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था थियो।
यसैगरी, राष्ट्र बैंकले भारतबाट परिवर्त्य विदेशी मुद्रामा प्रतीतपत्रमार्फत आयात गर्न पाइने वस्तुको सूचीमा ‘रबर प्रोसेसिङ आयल’ थप गरेको छ।
विदेशी विनिमयसम्बन्धी एकीकृत निर्देशनको अनुसूची १.१७ संशोधन गर्दै राष्ट्र बैंकले एचएस कोड २७१०.१९.९४ अन्तर्गतको ‘रबर प्रोसेसिङ आयल’लाई आयात गर्न पाइने वस्तुको सूचीमा समावेश गरेको हो।
