काठमाडौं। कुमारी बैंक लिमिटेडले महिला उद्यमीहरूको आर्थिक सशक्तीकरण, दिगो वित्त र व्यावसायिक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले महिला उद्यमी महासंघ नेपालसँग सम्झौता गरेको छ। बैंकले आफ्ना उत्पादन र रणनीतिक साझेदारीमार्फत महिला नेतृत्वका व्यवसायलाई थप सुदृढ बनाउने लक्ष्य राखेको छ।
सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख लगानी तथा बजार अधिकृत चन्दन कार्की र महिला उद्यमी महासंघकी अध्यक्ष दर्शना श्रेष्ठले हस्ताक्षर गरेका छन्। यो साझेदारीले महिला उद्यमीहरूलाई जिम्मेवार वित्त, उद्यम विकास, जलवायु उत्थानशील लगानी र डिजिटल समाधानमा पहुँच विस्तार गर्न मद्दत गर्नेछ।
यस सहकार्यमार्फत नगद प्रवाहमा आधारित कर्जा मूल्याङ्कन, चल सम्पत्तिमा आधारित वित्तीय सुविधा र जोखिम साझेदारी संयन्त्र जस्ता नवीन वित्तीय उपायहरूको खोजी गरिनेछ। यसले महिला नेतृत्वका उद्यमहरूले भोगिरहेका वित्तीय चुनौतीहरूलाई सम्बोधन गर्दै उनीहरूको वृद्धिमा सहयोग पुर्याउने बैंकको भनाइ छ।
कुमारी बैंकका दिगो बैंकिङ विभाग प्रमुख अर्पण पौडेलले यो साझेदारीले समावेशी अर्थतन्त्र निर्माणमा योगदान पुर्याउने बताए। उनले भने, ‘महिला उद्यमी महासंघ नेपालको सशक्त सञ्जाल र कुमारी बैंकको दिगो बैंकिङ क्षमतालाई एकीकृत गर्दै महिला नेतृत्वका व्यवसायलाई वित्तीय रूपमा सक्षम बनाउने लक्ष्य रहेको छ।’
साझेदारीअन्तर्गत संयुक्त सिकाइ, प्रभाव मापन र सरोकारवालाहरूसँगको संलग्नताका लागि आवश्यक संयन्त्रहरू विकास गरिनेछ। उद्यम वृद्धि, रोजगारी सिर्जना र दिगो व्यावसायिक अभ्यासलाई यस पहलका प्रमुख क्षेत्रका रूपमा राखिएको छ। यस पहलले नेपालभरका महिला उद्यमीहरूका लागि व्यावहारिक र दिगो अवसरहरू सिर्जना गर्ने विश्वास लिइएको छ।
