काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक ११.९६ अङ्कले बढेर २५७८.७३ विन्दुमा बन्द भएको छ।
आजको बजारमा १६९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९५ वटा कम्पनीको मूल्य घटेको छ भने १५ वटा कम्पनीको मूल्य स्थिर रहेको छ। दिनभरको कारोबारमा बजारले २५७८ विन्दु पार गरेको छ। आज कुल ८९ लाख ५५ हजार २३० कित्ता सेयर किनबेच भएका छन्। दिनभरिमा कुल ४१ हजार ६०७ वटा कारोबार मार्फत ३५९ वटा स्क्रिप्टको सेयर किनबेच भएको नेप्सेले जनाएको छ।
कुल कारोबार रकम ३ अर्ब १३ करोड ११ लाख ९९ हजार ५२८ रुपैयाँ पुगेको छ। कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर २३ करोड ९१ लाख रुपैयाँसहित शीर्ष स्थानमा रहेको छ।
आज सबै समूहका सूचकमा एक प्रतिशतभन्दा कम उतारचढाव देखिएको छ। जसमा बैंकिङ क्षेत्रको सूचक ०.६५ प्रतिशतले बढेको छ। सेयर मूल्यमा त्रिशूली जलविद्युतको ५.११ प्रतिशत वृद्धि र सर्वोत्तम पेन्टसको ४.९४ प्रतिशतको गिरावट सर्वाधिक रहेको छ।
