काठमाडौं: एनसेलका ग्राहकले अब ट्रान्क्विलिटी स्पामा विभिन्न सेवाहरूमा छुट तथा विशेष अफरहरूको लाभ लिन सक्ने भएका छन्। एनसेल र ट्रान्क्विलिटी स्पाबीच भएको नयाँ साझेदारीअन्तर्गत यी सुविधाहरू सार्वजनिक गरिएको हो।
साझेदारीअनुसार रु. ४९९ वा सोभन्दा बढीको प्रिपेड वा पोस्टपेड प्लान खरिद गर्ने ग्राहकले सिग्नेचर मसाज, बडी स्क्रब, शिरोधारा र प्रिमियम केयर फेसियलमा ‘बाइ वान गेट वान’ अफर पाउनेछन्। यसअन्तर्गत दुई जनाले एक जनाको मूल्यमा सेवा लिन सक्नेछन्। एक्लै सेवा लिने ग्राहकका लागि स्पा सेवामा २५ प्रतिशत र ब्यूटी सेवामा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ। यी लाभहरू नेपाली नागरिकका लागि मात्र तोकिएको छ।
त्यस्तै, रु. ९९ देखि रु. ४९९ सम्मको प्लान लिने युवा तथा अन्य ग्राहकले स्पा सेवामा २० प्रतिशत र पर्यटकहरूले १० प्रतिशत छुट पाउनेछन्। यो सम्झौतापत्रमा एनसेलका प्रोडक्ट्स डाइरेक्टर ललित शारडा र ट्रान्क्विलिटी स्पाका चिफ अपरेटिङ अफिसर रनिल फैजुले हस्ताक्षर गरेका छन्।
एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले ग्राहकलाई अर्थपूर्ण मूल्य प्रदान गर्ने उद्देश्यले वेलनेस सेवालाई आफ्नो इकोसिस्टममा समावेश गरिएको बताए। दत्ताले भने, ‘यो साझेदारीले ग्राहक संलग्नता बढाउने र एनसेललाई ग्राहकहरूको जीवनको अभिन्न अङ्ग बनाउने हाम्रो प्रतिबद्धता प्रतिबिम्बित गर्दछ।’
अफरको लाभ लिन ग्राहकले एनसेल एपमार्फत ट्रान्क्विलिटी स्पा चयन गरी आधिकारिक आउटलेटमा रिडिम गर्नुपर्नेछ। एपमा देखिने लाभ ग्राहकले खरिद गरेको प्याक वा प्लानमा आधारित हुने कम्पनीले जनाएको छ।
