काठमाडौं: नेपाल पर्यटन बोर्डले बडादसैँको अवसरमा मौलिक संस्कृति र परम्परालाई पर्यटनसँग जोड्ने उद्देश्यले देशका विभिन्न पर्यटकीय गन्तव्यमा लिङ्गे पिङ निर्माण तथा सञ्चालन गर्ने भएको छ। बोर्डको पर्यटन सम्पदा तथा पर्यटन विकास महाशाखाले स्थानीय तह र पर्यटनसम्बद्ध संघसंस्थाहरूसँगको सहकार्यमा यो कार्यक्रम अघि बढाएको हो।
यस कार्यका लागि बोर्डले ललितपुर महानगरपालिका, कीर्तिपुर नगरपालिका, चाँगुनारायण नगरपालिका, भक्तपुर पर्यटन विकास समिति र ठमेल पर्यटन विकास समितिसँग सहकार्य गरेको छ। साथै, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), होटल संघ नेपाल, होटल व्यवसायी महासंघ र हिमालयन उद्धार संघलगायतका संस्थाहरू पनि यस अभियानमा जोडिएका छन्।
सम्झौता अनुसार पर्यटकको आवागमन बढी हुने र सांस्कृतिक गतिविधिका लागि उपयुक्त स्थानहरूमा पिङ राखिनेछ। दसैँ अवधिभर सञ्चालन हुने यी पिङहरूको व्यवस्थापनमा सुरक्षा र दुर्घटना न्यूनीकरणका उपायहरूलाई प्राथमिकता दिइनेछ। भीड व्यवस्थापनको जिम्मेवारी पनि सम्बन्धित पक्षलाई नै दिइएको छ। कार्यक्रम सम्पन्न भएपछि पिङ हटाएर निर्माणस्थललाई पूर्ववत् अवस्थामा फर्काउनुपर्ने सर्त सम्झौतामा उल्लेख छ।
बोर्डले नेपालीहरूको मौलिक चाडपर्वको संरक्षण र सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथ यो पहल सुरु गरेको जनाएको छ।
