काठमाडौं: टीभीएस मोटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले दुबईमा आयोजित आफ्टर-सेल्स सम्मेलनमा दुईवटा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ। यूएईको ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न उक्त कार्यक्रममा विश्वभरका वितरकहरूको सहभागिता थियो।
जगदम्बा मोटर्सले ‘ओभरअल सर्भिस बेस्ट पर्फर्मेन्स’ र ‘बेस्ट म्यानुफ्याक्चरिङ युनिट-एसिया’ गरी दुई विधामा सम्मान पाएको हो। कम्पनीका अनुसार ‘ओभरअल सर्भिस बेस्ट पर्फर्मेन्स’ अवार्डले नेपालमा उपलब्ध टीभीएसको वर्कसप, तालिमप्राप्त प्राविधिक, स्पेयर पार्ट्सको उपलब्धता र ग्राहक सेवा विश्वस्तरीय रहेको पुष्टि गरेको छ। यो उपलब्धिले नेपाली ग्राहकले पाउने सेवा अन्य देशको स्तरसँग समान रहेको कम्पनीले जनाएको छ।
जगदम्बा मोटर्सकी निर्देशक दीपा अग्रवालले यो सम्मान ग्राहकको विश्वास र सेवा टोलीको मेहनतको प्रतिफल भएको बताइन्। उनले भनिन्, ‘यो सम्मान वर्षौंदेखि हामीमाथि विश्वास गर्दै आएका हाम्रा ग्राहक र त्यो विश्वास कायम राख्न हरेक दिन मेहनत गर्ने हाम्रो सेवा टोलीको उपलब्धि हो। ‘ओभरअल सर्भिस बेस्ट पर्फर्मेन्स’ अवार्ड प्राप्त हुनु भनेको नेपाली ग्राहकले आफ्नै देशमा विश्वस्तरीय सेवा पाइरहेका छन् भन्ने प्रमाण हो। टीभीएस सवारीसाधन प्रयोग गर्ने जो-कोही ग्राहकले आफू उत्कृष्ट सेवाको हातमा रहेकोमा पूर्ण रूपमा विश्वस्त हुन सक्नुहुन्छ।’
