काठमाडाैं । कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो मुख्य पेसा बनाउँदै आरती बुढा निरन्तर अगाडि बढिरहेकी छन्। अनुशासित, लगनशील र कलाप्रति समर्पित आरतीले आफ्नो प्रतिभा, मेहनत र निरन्तरको अभ्यासमार्फत कलाकारिताको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएकी छन्।
आरतीले ‘कला घर’मा थिएटर अभिनयका गुरु गोविन्द सुनारबाट अभिनय प्रशिक्षण लिएर आफ्नो कलाकारिता यात्रा सुरु गरेकी हुन्। अभिनयप्रतिको गहिरो रुचि, नियमित अभ्यास र निरन्तरको मेहनतले उहाँलाई मोडलिङ तथा अभिनयको क्षेत्रमा अघि बढ्न थप प्रेरणा दिएको छ।
दर्जनौँ सुदूरपश्चिमेली देउडा गीतका म्युजिक भिडियोमा आफ्नो अभिनय तथा मोडलिङ प्रस्तुत गरिसक्नुभएकी आरतीले ‘अछेता’ नाटकमा समेत अभिनय गरेकी छन्। नाटक तथा म्युजिक भिडियोमा प्रस्तुत गरेको अभिनयका लागि उहाँले विभिन्न अवार्ड तथा सम्मानसमेत प्राप्त गरेकी छन्।
म्युजिक भिडियो र नाटकमा मात्र सीमित नरही आरतीले विभिन्न नेपाली चलचित्रमा समेत अभिनय गर्दै आफ्नो कलाकारिता यात्रालाई थप फराकिलो बनाउँदै लैजादै छिन्। फरक विधाका सिर्जनामा आफूलाई प्रस्तुत गर्दै उहाँले अभिनय क्षमतालाई निरन्तर निखार्दै आएकी छन्।
हुम्लाजस्तो दुर्गम भूगोलबाट कलाकारिताको क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्न अघि बढ्नु आरतीको प्रेरणादायी यात्रा हो। आफ्नो प्रतिभा, अनुशासन, लगनशीलता र मेहनतलाई निरन्तरता दिँदै उनले आगामी दिनमा नेपाली मोडलिङ तथा चलचित्र क्षेत्रमा अझ प्रभावकारी काम गर्दै नयाँ उचाइ हासिल गर्ने अपेक्षा गरिएको छ।

