दार्जिलिङ। गीतकार आर.बी. खड्काद्वारा रचित गीतसङ्ग्रह ‘फर्केर हेर्दा’ दार्जिलिङमा भव्य समारोहबीच लोकार्पण गरिएको छ। लभ एण्ड सपोर्ट फाउन्डेसन, दार्जिलिङ शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा साहित्य, सङ्गीत तथा सामाजिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
दार्जिलिङ नगरपालिकाकी उपसभापति प्रतिभा राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा पब्लिक प्रोसिक्युटर योगेश दियाली प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा लभ एण्ड सपोर्ट फाउन्डेसनका सभापति मनोज राईको समेत विशेष उपस्थिति थियो।
लोकार्पण समारोहमा नेपाली गीत–सङ्गीत क्षेत्रका वरिष्ठ कलाकारहरू पेमा लामा, उदय सोताङ, गोविन्दराज घताने, महेश शेवा, कर्म ग्याल्छेन बोम्जन, उत्तममणि बम्जन, हिरा रसाइली, डेजी बराइली र मनिला सोताङलगायतको सहभागिता रहेको थियो।
समारोहमा विभिन्न सांगीतिक प्रस्तुतिसमेत गरिएको थियो। अमेरिकाबाट आएका गायक मनोज राई, सिक्किमका गायक मनोज याक्खा र गायिका रेमन्ती राई, तिनधारेका गायक महेश शेवा तथा मिरिकका गायक कर्म ग्याल्छेन बोम्जनले प्रस्तुति दिएका थिए।
‘फर्केर हेर्दा’ मा जीवनका विविध अनुभूति, प्रेम, सम्बन्ध, बिछोड, संघर्ष, जन्मभूमिप्रतिको अनुराग तथा प्रवासी जीवनका अनुभवलाई समेटिएका गीतहरू सङ्ग्रहित छन्। कृतिले नेपाली गीत–साहित्य र सङ्गीतप्रतिको आत्मीयता तथा स्रष्टाप्रतिको सम्मानलाई थप उजागर गरेको आयोजकले जनाएको छ।
कार्यक्रमको व्यवस्थापनमा लभ एण्ड सपोर्ट फाउन्डेसन, दार्जिलिङ शाखाका प्रेसिडेन्ट ईजाज अली, सचिव अनिल विश्वकर्मा र कोषाध्यक्ष सुरेन बर्मेललगायत पदाधिकारी तथा सदस्यहरूको सक्रिय भूमिका रहेको थियो।
समारोहमा सहभागी साहित्यकार, सङ्गीतकर्मी, समाजसेवी, सञ्चारकर्मी तथा शुभेच्छुकहरूले गीतकार आर।बी। खड्कालाई कृति प्रकाशन तथा लोकार्पणका अवसरमा बधाई तथा शुभकामना दिएका थिए। कार्यक्रममा वक्ताहरूले यस्ता कृतिले नेपाली गीत–साहित्यको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणमा योगदान पुर्याउने धारणा व्यक्त गरेका थिए।
