काठमाडौं: काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-२ मा रहेको श्री बीआईईटी उद्योगले उत्पादन गरेको ‘तिखालाल’ ब्रान्डको धुलो खुर्सानीमा हानिकारक एफ्लाटोक्सिन भेटिएपछि २० किलोग्राम खुर्सानी नष्ट गरिएको छ। विदेश निर्यातको प्रक्रियामा रहेको उक्त खुर्सानीमा एफ्लाटोक्सिन बी१ र कुल एफ्लाटोक्सिनको मात्रा मापदण्डभन्दा बढी रहेको पाइएको थियो।
युरोपेली युनियनको र्यापिड अलर्ट सिस्टममार्फत उक्त सूचना प्राप्त भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले गत साउन २८ गते उद्योगमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा शंकास्पद स्टक रोक्का राखेर नमुना संकलन गरिएको थियो। प्रयोगशाला परीक्षणबाट खुर्सानीमा एफ्लाटोक्सिनको मात्रा उच्च रहेको पुष्टि भएपछि उद्योगीकै उपस्थितिमा सो परिमाणको धुलो खुर्सानी नष्ट गरिएको विभागले जनाएको छ।
