काठमाडौं । प्राथमिक सार्वजनिक सेयर निष्कासन (आईपीओ) का लागि नेपाल धितोपत्र बोर्डमा ४९ करोड ५० लाख रुपैयाँ बराबरको आवेदन दिएको बुढानीलकण्ठ हेरिटेजले एकै वर्ष २९ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ ।
कम्पनीद्वारा सञ्चालित पाँचतारे होटल ‘लेमन ट्री प्रिमियर’ ले गत आवमा २९ करोड ६० लाख रुपैयाँको व्यापार गरेको हो । कम्पनीले सन् २०२५ मा २३ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।
सन् २०१८ मा स्थापना भएको बुढानीलकण्ठ हेरिटेज २०२१ मा पब्लिक कम्पनीमा परिणत भएको थियो । कम्पनीले काठमाडौंको बुढानीलकण्ठमा पाँचतारे होटल सञ्चालन गर्दै आएको छ । होटल सञ्चालनका लागि कम्पनीले भारतीय ब्रान्ड लेमन ट्रीसँग २० वर्षको फ्रेन्चाइज सम्झौता गरेको छ ।
एकाउन्टेन्ट, चिकित्सक, निजी इक्विटी तथा कर्पोरेट हाउसको लगानी रहेको कम्पनीले सन् २०२४ को मार्चदेखि आंशिक रूपमा व्यावसायिक कारोबार सुरु गरेको थियो । सन् २०२४ को सेप्टेम्बरदेखि भने होटल पूर्ण क्षमतामा सञ्चालनमा आएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार गत आवमा होटलको अकुपेन्सी दर बढेर ४९ प्रतिशत पुगेको छ । सन् २०२५ मा यस्तो दर ३६ प्रतिशत थियो । अकुपेन्सी बढे पनि समग्र कोठा भाडामा भने ११ प्रतिशतले कमी आएको कम्पनीले जनाएको छ ।
यद्यपि, उपलब्ध कोठाबाट हुने आम्दानीमा सुधार देखिएको छ । गत आवमा प्रति उपलब्ध कोठाको व्यापार २१ प्रतिशतले बढेको कम्पनीको भनाइ छ ।
कम्पनीले सन् २०२५ को अन्त्यमा क्यासिनो सञ्चालनका लागि सम्झौता गरेको थियो । यसलाई कम्पनीले नयाँ आम्दानीको स्रोतका रूपमा प्रस्तुत गरेको छ ।
कम्पनीको सञ्चालन नाफामा पनि सुधार देखिएको छ । सन् २०२५ मा ३ प्रतिशत ऋणात्मक रहेको सञ्चालन नाफा मार्जिन सन् २०२६ मा ३ प्रतिशत सकारात्मक पुगेको छ ।
वित्तीय दायित्वतर्फ भने कम्पनी अझै दबाबमा रहेको देखिन्छ । गत आवमा कम्पनीको ऋण सेवा कभरेज अनुपात ०.५ गुणा र कुल ऋण तथा सञ्चालन नाफाको अनुपात १० गुणा रहेको छ ।
त्यस्तै, सन् २०२५ मा १.३ गुणा रहेको कम्पनीको गियरिङ अनुपात सन् २०२६ मा घटेर ०.५ गुणामा आएको छ ।
कम्पनीका केही वित्तीय सूचकमा सुधार आए पनि समग्र प्रतिफल अवस्था अझै कमजोर रहेको छ । सञ्चित नोक्सानी तथा हालै गरिएको हकप्रद सेयर निष्कासनपछि चुक्ता पुँजी बढ्दा प्रतिफलसम्बन्धी सूचकमा दबाब परेको कम्पनीले जनाएको छ ।
कम्पनीको नेटवर्थमा प्रतिफल ०.६ प्रतिशत, लगानी गरिएको पुँजीमा प्रतिफल १.९ प्रतिशत र खुद नाफा मार्जिन ३.२ प्रतिशत ऋणात्मक रहेको छ । यद्यपि, सन् २०२५ मा खुद नाफा मार्जिन ८८ प्रतिशत ऋणात्मक रहेकाले पछिल्लो वर्ष वित्तीय अवस्थामा सुधार देखिएको छ ।
आईपीओ निष्कासनको तयारीमा रहेको कम्पनीले होटलको अकुपेन्सी, कोठाबाट हुने आम्दानी र सञ्चालन नाफामा सुधार देखाए पनि सञ्चित नोक्सानी र प्रतिफलसम्बन्धी सूचक अझै चुनौतीपूर्ण रहेको वित्तीय विवरणले देखाएको छ ।
