काठमाडौं: होटल संघ नेपाल (हान) ले आउँदो जनवरी १६ देखि १७ सम्म ‘होटल एक्सपो २०२७’ आयोजना गर्ने भएको छ। आतिथ्य दिवसको अवसर पारेर दुई दिनसम्म सञ्चालन हुने उक्त प्रदर्शनीमा नेपालको होटल तथा आतिथ्य उद्योगको वर्तमान अवस्था, सम्भावना र चुनौतीबारे राष्ट्रियस्तरमा बहस गरिने संघले जनाएको छ।
एक्सपोमा होटल तथा आतिथ्य क्षेत्रमा आवश्यक पर्ने विभिन्न वस्तु तथा सेवाका उत्पादक र आपूर्तिकर्ताहरूको सहभागिता रहनेछ। कार्यक्रममार्फत होटल उद्योगले नेपालको अर्थतन्त्र, पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र राजस्वमा पुर्याउँदै आएको योगदानलाई उजागर गरिने आयोजकले जनाएको छ। यसका साथै, उद्योगले भोगिरहेका वर्तमान चुनौती र विकासका लागि आवश्यक नीतिगत विषयमा सरोकारवालाबीच छलफल गरिनेछ।
सोही अवसरमा होटल संघ नेपालको हिरक जयन्ती समारोहको औपचारिक समापनसमेत गरिनेछ। सन् १९६६ (२०२२ साल) मा स्थापित संघले आफ्नो हिरक जयन्तीका अवसरमा होटल तथा आतिथ्य क्षेत्रको विकासमा सदस्य होटलहरूले पुर्याएको योगदानलाई विशेष रूपमा प्रस्तुत गर्ने तयारी गरेको छ।
प्रदर्शनीकै क्रममा संघले नेपालको पर्यटन तथा होटल उद्योगको अवस्था, सम्भावना र चुनौती समेटिएको वार्षिक विशेष पुस्तक ‘होटल एयर बुक २०२७’ समेत सार्वजनिक गर्ने भएको छ। यो पुस्तकले राष्ट्रिय अर्थतन्त्र र पर्यटन विकासमा उद्योगको योगदानलाई दस्तावेजीकरण गर्ने लक्ष्य राखेको छ।
