Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

रोस्सी : मजदुरदेखि औद्योगिक साम्राज्यसम्म

साधारण मजदुरका रूपमा उद्योगमा प्रवेश गरेका रोस्सीले प्रविधि, उत्पादन र श्रमिक कल्याणलाई जोड्दै सानो कारखानालाई इटालीकै ठूलो औद्योगिक साम्राज्यमा विस्तार गरे।

रोस्सी : मजदुरदेखि औद्योगिक साम्राज्यसम्म
A A+ A-

उन्नाइसौँ शताब्दीको मध्यतिर युरोप औद्योगिक क्रान्तिको तीव्र विस्तारमा थियो।

बेलायत, फ्रान्स र बेल्जियमजस्ता मुलुकमा बाफबाट चल्ने विशाल मेसिन, आधुनिक कारखाना र नयाँ उत्पादन प्रणालीले परम्परागत उद्योगलाई विस्थापित गरिरहेका थिए। तर इटाली अझै पनि कृषिप्रधान अर्थतन्त्र र साना कुटिर उद्योगको संरचनाबाट बाहिर निस्कने संघर्षमा थियो।

विशेषगरी कपडा उद्योग विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न कठिन अवस्थामा थियो।

यही संक्रमणकालमा उत्तरी इटालीको भेनेटो क्षेत्रमा पर्ने सानो पहाडी सहर स्कियोबाट एक उद्योगीको उदय भयो, जसले केवल एउटा सानो ऊन कारखानालाई विशाल औद्योगिक प्रतिष्ठानमा रूपान्तरण गरेनन्, उद्योग र श्रमिकबीचको सम्बन्धलाई हेर्ने दृष्टिकोणमै परिवर्तन ल्याए।

ती उद्योगी थिए, अलेस्सान्द्रो रोस्सी।

रोस्सीको कथा केवल एउटा सफल व्यवसायीको कथा होइन। उनी उद्योगी थिए, राजनीतिज्ञ थिए, समाजसेवी थिए र औद्योगिक आधुनिकीकरणका पक्षधर थिए।

आफ्ना पिताले स्थापना गरेको ५० जनाभन्दा कम कामदार भएको सानो ऊन कारखानालाई उनले हजारौँ श्रमिकलाई रोजगारी दिने औद्योगिक प्रतिष्ठानमा विस्तार गरे।

उनको विशेषता अझ फरक थियो। उनले श्रमिकलाई केवल उत्पादन प्रक्रियाको एउटा हिस्सा मानेनन्। श्रमिकको जीवनस्तर, शिक्षा, आवास र सामाजिक सुरक्षालाई पनि उद्योगको दीर्घकालीन सफलतासँग जोडेर हेरे।

यही सोचले स्कियोलाई पछि ‘इटालीको म्यान्चेस्टर’का रूपमा चिनाउने आधार तयार गर्‍यो।

सानो कारखानाबाट सुरु भएको औद्योगिक यात्रा

अलेस्सान्द्रो रोस्सीको जन्म सन् १८१९ नोभेम्बर २१ मा इटालीको भिसेन्जा प्रान्तस्थित स्कियोमा भएको थियो। उनी फ्रान्सिस्को रोस्सी र टेरेसा बेरेट्टाका सात सन्तानमध्ये पाँचौँ थिए।

रोस्सी परिवारको आर्थिक र व्यावसायिक यात्रा पनि श्रमबाटै सुरु भएको थियो। उनका जिजुबुबा पहाडी क्षेत्रमा भेडा गोठालो थिए। हजुरबुबा पहाडबाट तल झरेर ऊन व्यापार र खेतीमा लागे। उनका पिता फ्रान्सिस्को रोस्सीले सन् १८१७ मा स्कियोमा सानो ऊन कात्ने र बुन्ने कारखाना स्थापना गरे।

यसरी अलेस्सान्द्रोले जन्मदेखि नै उद्योगको वातावरण पाए। तर उनी जन्मजात उद्योगपति थिएनन्। परिवारको सम्पत्तिमा बसेर व्यवस्थापन सिकेका पनि होइनन्।

उनकी आमा टेरेसा बेरेट्टाले उनको व्यक्तित्व निर्माणमा ठूलो प्रभाव पारेकी थिइन्। धार्मिक र अनुशासित स्वभावकी उनले सन्तानमा नैतिकता र कमजोर वर्गप्रतिको संवेदनशीलता विकास गराइन्।

अलेस्सान्द्रोले प्रारम्भिक शिक्षा भिसेन्जाको विशप सेमिनरीमा लिए। त्यहाँ उनले इतिहास, साहित्य, अर्थशास्त्र, समाजशास्त्र र भाषाविज्ञानमा रुचि विकास गरे। औपचारिक विश्वविद्यालय डिग्री नलिए पनि स्वाध्याय र निरन्तर अध्ययनमार्फत उनले आफ्नो बौद्धिक क्षमता विस्तार गरे।

तर उनको वास्तविक औद्योगिक शिक्षा कारखानाबाट सुरु भयो।

सन् १८३६ मा १७ वर्षको उमेरमै पिता फ्रान्सिस्कोले उनलाई आफ्नै कारखानामा साधारण मजदुरका रूपमा काममा लगाए। उनले ऊन धुनेदेखि कात्ने, धागो तान्ने र तानमा बसेर कपडा बुन्नेसम्मका काम गरे।

यसले उनलाई उत्पादनको प्राविधिक प्रक्रिया मात्र सिकाएन। मजदुरले दैनिक कस्तो श्रम गर्नुपर्छ, कामको थकान कस्तो हुन्छ र उत्पादनको पछाडि कति पसिना खर्च हुन्छ भन्ने कुरा उनले प्रत्यक्ष अनुभव गरे।

पछि उनले श्रमिक कल्याणलाई उद्योगको रणनीतिसँग जोड्नुको आधार यही अनुभव बन्यो।

सन् १८३९ मा १९ वर्षको उमेरमै उनलाई कम्पनीको सहनिर्देशक बनाइयो। तर स्थानीय बजार र परम्परागत प्रविधिमा सीमित भएर बस्ने उनको सोच थिएन। उनी इटालीको उद्योगलाई युरोपका विकसित मुलुकको स्तरमा पुर्‍याउन चाहन्थे।

युरोप भ्रमणपछि बदलिएको उत्पादन रणनीति

सन् १८४१ देखि १८४२ बीच अलेस्सान्द्रो रोस्सीले बेलायत, फ्रान्स र बेल्जियमको औद्योगिक भ्रमण गरे। यो यात्रा उनको व्यवसायिक जीवनको निर्णायक मोड बन्यो।

त्यतिबेला बेल्जियमको भर्भियर्स विश्वकै आधुनिक ऊन प्रशोधन केन्द्रमध्ये एक थियो। बेलायतमा औद्योगिक क्रान्तिले बाफबाट चल्ने विशाल मेसिन, स्वचालित तान र आधुनिक व्यवस्थापन प्रणाली विकास गरिसकेको थियो।

रोस्सीले त्यहाँ केवल मेसिन हेरेनन्। उनले उत्पादनको गति, लागत, श्रम व्यवस्थापन र औद्योगिक संगठनको सम्बन्ध पनि अध्ययन गरे।

उनले औद्योगिक विकासको अर्को पक्ष पनि देखे। मेसिन र ठूलो उत्पादनले उद्योगीलाई धनी बनाइरहँदा धेरै ठाउँमा मजदुर भने लामो समय काम गर्न बाध्य थिए। कम ज्याला, खराब कार्य वातावरण र असुरक्षाले मालिक र श्रमिकबीच तनाव बढाइरहेको थियो।

बेलायतका उद्योगपति तथा समाजसेवी रोबर्ट ओवेन र टाइटस साल्टका कल्याणकारी विचारबाट उनी प्रभावित भए। फ्रान्समा विकसित सन्त-सिमोनवादी विचारले पनि उनको सोचमा प्रभाव पार्‍यो।

त्यसपछि उनको मनमा एउटा स्पष्ट धारणा बन्यो। इटालीको उद्योग आधुनिक हुनुपर्छ, तर औद्योगिक विकासको मूल्य श्रमिकको शोषण हुनु हुँदैन।

उनले पूँजी र श्रमबीच द्वन्द्व होइन, सहकार्यमा आधारित औद्योगिक संरचना बनाउने लक्ष्य लिए।

यो सोच त्यतिबेलाको औद्योगिक संसारका लागि असामान्य थियो। किनकि उद्योगमा उत्पादकत्व बढाउने कुरा प्रायः मेसिन र श्रमको अधिकतम उपयोगसँग जोडिन्थ्यो। रोस्सीले भने उत्पादनसँगै श्रमिकको जीवनलाई पनि उद्योगको हिस्सा बनाए।

यही सोच लिएर उनी स्कियो फर्किए।

मेसिन भित्र्याएर ऊन उद्योगमा ल्याएको क्रान्ति

सन् १८४५ जुलाईमा पिता फ्रान्सिस्कोको निधन भयो। त्यसपछि २५ वर्षीय अलेस्सान्द्रो रोस्सीको काँधमा पारिवारिक कम्पनी ‘लानेफिसियो रोस्सी’को सम्पूर्ण जिम्मेवारी आयो।

त्यसपछि उनले कम्पनीको उत्पादन प्रणाली नै बदलिदिए।

सन् १८४६ मा उनले स्वचालित कात्ने मेसिन ‘म्युल-जिनी’ प्रयोगमा ल्याए। त्यसको केही वर्षपछि सन् १८४९ मा इटालीको ऊन उद्योगमै पहिलोपटक बाफबाट चल्ने ठूलो स्टीम इन्जिन र मेकानिकल स्वचालित तान जडान गरे।

तर मेसिन भित्र्याएर मात्र उनी रोकिएनन्। नयाँ प्रविधि चलाउन आवश्यक प्राविधिक क्षमता पनि बाहिरबाट ल्याए। बेलायत र बेल्जियमबाट विशेषज्ञ इन्जिनियर तथा प्राविधिकलाई उच्च पारिश्रमिकमा स्कियोमा ल्याइयो।

यसले उत्पादन क्षमता तीव्र रूपमा बढायो।

पुराना भवनले नयाँ उत्पादन प्रणाली धान्न नसक्ने भएपछि रोस्सीले एउटै विशाल संरचनाभित्र ऊन धुने, कात्ने, रङ्गाउने र बुन्नेसम्मका प्रक्रिया सञ्चालन गर्ने योजना बनाए।

त्यसको परिणाम थियो ‘फेब्रिका अल्टा’।

सन् १८६१ देखि १८६२ बीच निर्माण भएको यो विशाल भवन बेल्जियमका वास्तुकार अगस्ट भिभ्रोक्सले डिजाइन गरेका थिए। छ तल्ले इँटाको उक्त भवन १२५ मिटर लामो र करिब साढे १४ मिटर चौडा थियो। भवनमा ३३० भन्दा बढी ठूला झ्याल थिए।

यो केवल कारखाना थिएन। रोस्सीको औद्योगिक सोचको भौतिक रूप थियो।

उत्पादनलाई एउटै प्रणालीमा जोड्ने, आधुनिक मेसिन प्रयोग गर्ने र दक्ष प्राविधिकलाई उद्योगमा ल्याउने उनको रणनीतिले लानेफिसियो रोस्सीलाई परम्परागत कारखानाबाट आधुनिक औद्योगिक प्रतिष्ठानमा रूपान्तरण गर्‍यो।

पाँच हजार श्रमिकसम्म विस्तार भएको व्यापारिक साम्राज्य

रोस्सीको प्रविधिमैत्री उत्पादन रणनीतिको असर केही वर्षमै देखिन थाल्यो।

सन् १८४५ मा उनले कम्पनीको नेतृत्व सम्हाल्दा लानेफिसियो रोस्सीमा ४० देखि ५० जना कामदार थिए। बजार पनि सीमित थियो।

तर सन् १८६१ सम्म पुग्दा कामदारको संख्या ८०० पुगिसकेको थियो। मिलान, फ्लोरेन्स, नेपल्स, पाडोवा र बिएल्लाजस्ता ठूला शहरमा कम्पनीका बिक्री केन्द्र स्थापना भइसकेका थिए।

अर्थात् रोस्सीले उत्पादन बढाएर मात्र व्यापार विस्तार गरेनन्। बजार विस्तारलाई पनि उत्पादन रणनीतिकै हिस्सा बनाए।

सन् १८६६ पछि उनले पिएभेबेल्भिचिनो, तोर्रेबेल्भिचिनो र पियोभेने रोक्केत्तेमा थप कारखाना स्थापना गरे। अर्सेरोमा कागज कारखानासमेत स्थापना गरियो।

यसरी एउटा ऊन कारखाना बहुक्षेत्रीय औद्योगिक समूहमा विस्तार हुँदै गयो।

सन् १८८० को दशकसम्म कम्पनीमा पाँच हजारभन्दा बढी मजदुर कार्यरत भइसकेका थिए। लानेफिसियो रोस्सी इटालीकै सबैभन्दा ठूलो औद्योगिक प्रतिष्ठानमध्ये एक बन्यो।

स्कियोको आर्थिक र सामाजिक संरचनामै परिवर्तन आयो। उद्योगको विस्तारसँगै रोजगारी बढ्यो, व्यापारिक गतिविधि विस्तार भयो र सहरको पहिचान नै बदलियो।

स्कियो पछि युरोपभरि ‘इटालीको म्यान्चेस्टर’का रूपमा चिनिन थाल्यो।

तर रोस्सीको साम्राज्यको सबैभन्दा रोचक पक्ष उत्पादन र बिक्रीको आकार मात्र थिएन। उनले उद्योगको विस्तारलाई श्रमिकको जीवनसँग जोड्ने प्रयास गरे।

यहीँबाट उनको व्यवसायिक दर्शन अरू उद्योगीभन्दा फरक देखिन थाल्यो।

श्रमिक कल्याणलाई व्यवसायको रणनीति बनाउने सोच

रोस्सीको औद्योगिक दर्शनलाई इतिहासकारहरूले ‘प्रबुद्ध औद्योगिक अभिभावकत्व’सँग जोड्छन्।

त्यतिबेला युरोपका धेरै कारखानामा मजदुरले १६ घण्टासम्म काम गर्नुपर्ने अवस्था थियो। ज्याला न्यून थियो र कार्यस्थलको वातावरण पनि अस्वस्थकर थियो।

रोस्सीले फरक बाटो रोजे।

उनका लागि मालिक र श्रमिक एकअर्काका प्रतिस्पर्धी थिएनन्। उद्योग सफल हुन श्रमिक पनि सुरक्षित, सम्मानित र सन्तुष्ट हुनुपर्छ भन्ने उनको धारणा थियो।

सन् १८६१ मा उनले कामदारका लागि ‘परस्पर सहायता कोष’ स्थापना गरे। बिरामी भएका, दुर्घटनामा परेका वा वृद्धावस्थामा पुगेका मजदुरलाई आर्थिक सहायता तथा निवृत्तिभरणको व्यवस्था गरियो।

महिला कामदारका लागि सुत्केरी बिदा र आर्थिक सहयोगको व्यवस्था गरियो। तर रोस्सीको सामाजिक सोच त्यतिमै सीमित रहेन। उनले शिक्षा, आवास, मनोरञ्जन र स्वास्थ्यलाई पनि श्रमिक कल्याणको हिस्सा बनाए।

सन् १८६७ मा बालबालिकाका लागि ‘आसिलो रोस्सी’ नामक शिशुस्याहार तथा बालविकास केन्द्र स्थापना गरियो। महिला कामदारहरू कारखानामा हुँदा उनीहरूका बालबालिकालाई त्यहाँ हेरचाह, पोषण र शिक्षा दिइन्थ्यो।

बालबालिकाका लागि प्राथमिक विद्यालय र युवाहरूका लागि प्राविधिक तथा व्यावसायिक तालिम केन्द्र स्थापना गरिए। वयस्क मजदुरका लागि रात्रीकालीन साक्षरता कक्षा, पुस्तकालय र वाचनालय सञ्चालन गरिए।

कामपछि मजदुरहरू स्वस्थ मनोरञ्जनमा सहभागी होऊन् भनेर नाटकघर, संगीत हल, सार्वजनिक स्नानगृह र व्यायामशाला पनि निर्माण गरिए।

कारखाना परिसरमा ‘ज्याकार्ड बगैँचा’ नामक पार्क निर्माण गरियो। त्यहाँ दुर्लभ वनस्पति, पोखरी, झरना र थिएटरसमेत थिए।

रोस्सीले श्रमिकलाई कम्पनीको नाफामा सहभागी गराउने प्रणाली पनि लागू गरे। सस्तो मूल्यमा खाद्यान्न उपलब्ध गराउन उपभोक्ता सहकारी पसल सञ्चालन गरिए।

यसरी श्रमिक कल्याण उनको परोपकारको छुट्टै कार्यक्रम मात्र रहेन। त्यो उद्योग सञ्चालनको समग्र रणनीतिकै हिस्सा बन्यो।

‘नयाँ स्कियो’मा देखिएको मानवीय उद्योगको मोडल

रोस्सीको सामाजिक सोचको सबैभन्दा ठूलो प्रयोग ‘नयाँ स्कियो’ निर्माण थियो। सन् १८७२ देखि वास्तुकार एन्टोनियो कारेगारो नेग्रिनको सहयोगमा उनले कारखाना नजिकै श्रमिकका लागि नयाँ बस्ती निर्माण गर्न थाले।

त्यतिबेला युरोपका धेरै औद्योगिक सहरमा मजदुरका लागि साँघुरा, अँध्यारा र अस्वस्थकर बस्ती बनाइन्थे। रोस्सीले भने त्यसको उल्टो मोडल अघि सारे। उनले श्रमिकका लागि छुट्टाछुट्टै घर बनाए। फराकिला सडक, हरियाली, बगैँचा र पर्याप्त उज्यालो तथा हावा आउने घरको व्यवस्था गरियो।

सन् १८९० सम्म नयाँ बस्तीमा २७२ भन्दा बढी आवासीय घर बनिसकेका थिए। त्यहाँ १,५०० भन्दा बढी श्रमिक र तिनका परिवार बसोबास गर्थे। रोस्सीले घरको डिजाइनमा पनि एकरूपता थोपरेनन्। फरक–फरक शैलीका घर बनाएर श्रमिकलाई आफ्नो घरप्रति गर्व र स्वामित्वको भावना दिलाउने प्रयास गरे।

उनका लागि आवास केवल बस्ने ठाउँ थिएन। स्वस्थ र सम्मानजनक जीवन उद्योगको उत्पादकत्वसँग पनि जोडिएको विषय थियो। उनको यो सोचलाई अझ स्पष्ट बनाउने एउटा प्रतीक स्कियोको मुख्य चोकमा स्थापना गरिएको श्रमिकको सालिक थियो।

सन् १८७९ मा उनले मूर्तिकार गिउसेप्पे गोन्जाटीलाई कपडा बुन्ने श्रमिकको पूर्णकदको मूर्ति बनाउन लगाए। त्यसमा न राजा थिए, न उद्योगपति। एउटा साधारण मजदुर थियो। एक हातमा धागोको शटल र अर्को हातमा मेसिनबाट तयार भएको कपडा बोकेर उभिएको श्रमिक।

उद्योगीले आफ्नै मूर्ति राख्न सक्ने ठाउँमा उनले श्रमिकको मूर्ति राखे। मूर्तिको आधारमा श्रमिकको पसिना र मेहनतप्रति सम्मान व्यक्त गरिएको थियो। उद्योग र सहरको समृद्धिमा श्रमिकको योगदानलाई सार्वजनिक रूपमा सम्मान गर्ने यो कदम त्यतिबेलाका लागि असाधारण थियो।

यसले रोस्सीको व्यवसायिक दर्शनको अर्को पक्ष देखायो। उद्योगको सफलता मालिकको मात्र उपलब्धि होइन, श्रमिकको पनि उपलब्धि हो।

यही कारण रोस्सीको औद्योगिक विरासत कारखानाको आकारभन्दा धेरै ठूलो बन्यो।

उद्योगीबाट राष्ट्रिय नीति निर्माता बनेको रोस्सी

रोस्सीको प्रभाव स्कियोको कारखाना र श्रमिक बस्तीमा मात्र सीमित रहेन। औद्योगिक विकाससम्बन्धी उनको सोच राष्ट्रिय नीति निर्माणसम्म पुग्यो।

सन् १८६६ मा भेनेटो इटालीमा गाभिएपछि उनी इटालीको तल्लो सदनको सदस्य निर्वाचित भए। सन् १८७० मा इटालीका राजाले उनलाई माथिल्लो सदनको आजीवन सेनेटर नियुक्त गरे। सन् १८७० देखि आफ्नो निधनसम्म उनले करिब २८ वर्ष सेनेटरका रूपमा काम गरे।

संसद र सिनेटमा उनले इटालीको स्वदेशी उद्योग संरक्षणको पक्षमा बलियो आवाज उठाए।

त्यतिबेला बेलायतजस्ता विकसित मुलुक खुला बजारको पक्षमा थिए। तर रोस्सीको तर्क फरक थियो। इटालीका उद्योग अझै विकासको प्रारम्भिक चरणमा भएकाले विदेशी सस्तो सामानसँग सीधा प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा छैनन् भन्ने उनको धारणा थियो।

त्यसैले उनले स्वदेशी उद्योगलाई संरक्षण दिन भन्सार महसुल बढाउनुपर्ने पक्ष लिए। उनको निरन्तर प्रयासपछि सन् १८७८ र १८८७ मा इटालीले नयाँ भन्सार नीति लागू गर्‍यो, जसबाट वस्त्र, फलाम र कृषि क्षेत्रका स्वदेशी उद्योगले संरक्षण पाए।

तर उनको राजनीतिक एजेन्डा उद्योग संरक्षणमा मात्र सीमित थिएन। प्राविधिक शिक्षाको विस्तार, व्यावसायिक तालिम केन्द्र, राष्ट्रिय रेल सञ्जाल र कृषिको आधुनिकीकरणका विषयमा पनि उनले संसदमा आवाज उठाए।

उनकै पहलमा भिसेन्जादेखि स्कियोसम्म रेलमार्ग निर्माण भयो। यसले उद्योगको मालसामान ओसारपसार र श्रमिकको आवतजावत सहज बनायो।

यसरी रोस्सीको औद्योगिक अनुभव क्रमशः राष्ट्रिय आर्थिक नीतिको अनुभवमा बदलियो। कारखानामा परीक्षण गरेको प्रविधि, श्रमिक व्यवस्थापन र बजारको सोच उनले राष्ट्रिय अर्थतन्त्रको बहसमा पनि प्रयोग गरे। सन् १८९८ फेब्रुअरी २८ मा सन्तोर्सोस्थित आफ्नै निवासमा ७८ वर्षको उमेरमा अलेस्सान्द्रो रोस्सीको निधन भयो।

उनको निधनसँगै स्कियोमा शोक छायो। हजारौँ श्रमिकले उनलाई केवल उद्योगीका रूपमा होइन, आफ्नो जीवनमा प्रत्यक्ष प्रभाव पारेका व्यक्तिका रूपमा सम्झिए।

तर उनको औद्योगिक यात्रा त्यहीँ रोकिएन। उनले स्थापना गरेको लानेरोस्सी कम्पनीलाई उनका छोराछोरी र नातिहरूले अघि बढाए। बीसौँ शताब्दीभरि कम्पनी इटालीको फेसन, कपडा र टेक्सटाइल उद्योगमा प्रभावशाली रह्यो।

सन् १९६४ मा कम्पनी इटालीको राष्ट्रिय ऊर्जा निगमको मातहत गयो। सन् १९८७ मा प्रसिद्ध टेक्सटाइल समूह मार्जोत्तोले यसलाई अधिग्रहण गर्‍यो। लानेरोस्सी ब्रान्ड उच्चस्तरीय ऊनी उत्पादनसँग जोडिएको नामका रूपमा स्थापित भयो।

रोस्सी परिवारको उद्यमशीलता अर्को पुस्तामा पनि देखियो। उनका पनाति अलेस्सान्द्रो रोस्सीले दोस्रो विश्वयुद्धपछि सन् १९४५ मा ‘रिभानोस्सी’ नामक कम्पनी स्थापना गरे, जुन पछि मोडेल ट्रेन निर्माणका लागि विश्वप्रसिद्ध भयो।

अलेस्सान्द्रो रोस्सीको कथा आज पनि औद्योगिक नेतृत्वको एउटा फरक उदाहरणका रूपमा उभिन्छ। उनले उद्योगको सफलता केवल नाफा, उत्पादन क्षमता र बजार विस्तारबाट मापन गरेनन्। उनले मेसिन भित्र्याए, उत्पादन बढाए, हजारौँलाई रोजगारी दिए, नयाँ बजार बनाए र कम्पनीलाई विशाल औद्योगिक प्रतिष्ठानमा विस्तार गरे।

तर त्यहीसँगै उनले एउटा अर्को प्रश्नको व्यावहारिक उत्तर खोजे। उद्योग सफल हुँदा त्यसको लाभ श्रमिकको जीवनमा कसरी पुग्छ?

त्यसको उत्तर उनले श्रमिकको सामाजिक सुरक्षा, शिक्षा, आवास, स्वास्थ्य, मनोरञ्जन र सम्मानमा खोजे।

उनको मोडल पूर्ण रूपमा विवादरहित थियो भन्ने होइन। तर औद्योगिक युगको कठोर श्रम सम्बन्धका बीच उनले पूँजी र श्रमलाई सहकार्यमा जोड्ने प्रयास गरे। उद्योगी र श्रमिकबीचको सम्बन्धलाई केवल ज्याला र उत्पादनको हिसाबबाट बाहिर निकालेर सामाजिक सम्बन्धका रूपमा हेर्ने प्रयास गरे।

त्यसैले रोस्सीको विरासत एउटा कारखानाको कथा मात्र होइन। यो प्रविधि, उत्पादन, पूँजी, श्रम र सामाजिक उत्तरदायित्वलाई एउटै औद्योगिक दर्शनभित्र जोड्ने प्रयासको कथा हो।

आज विश्वभर व्यवसायमा श्रमिक अधिकार, सामाजिक उत्तरदायित्व र दिगो विकासको बहस भइरहेका बेला एक सय वर्षभन्दा पुरानो रोस्सी मोडल फेरि सम्झनलायक देखिन्छ।

सानो कारखानामा मजदुर बनेर उद्योग सिकेका अलेस्सान्द्रो रोस्सी अन्ततः हजारौँ श्रमिकको रोजगारदाता, राष्ट्रिय उद्योग नीतिका प्रभावशाली निर्माता र सामाजिक सोचसहितको औद्योगिक नेतृत्वका प्रतीक बने।

उनको सबैभन्दा ठूलो उपलब्धि सायद यही थियो। उनले आफूले पाएको उद्योगलाई ठूलो मात्र बनाएनन्, उद्योगले समाजप्रति बोक्नुपर्ने जिम्मेवारीको दायरा पनि फराकिलो बनाए।

2