Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

लाइफब्वाई : साबुनदेखि स्वच्छता साम्राज्यसम्म

महामारी र अस्वच्छताबीच जन्मिएको लाइफब्वाईले सस्तो साबुनसँगै सरसफाइको चेतना फैलाउँदै विश्वकै चिनिएको स्वच्छता ब्रान्डको पहिचान बनाएको छ।

लाइफब्वाई : साबुनदेखि स्वच्छता साम्राज्यसम्म
A A+ A-

संसारका कुनाकाप्चासम्म पुगेको र सरसफाइ भन्नेबित्तिकै मानसपटलमा स्वतः आउने सीमित ब्रान्डमध्ये एक हो लाइफब्वाई।

रातो रङको साबुन, छुट्टै गन्ध र वर्षौंदेखि दोहोरिँदै आएको यसको नामले धेरै पुस्ताका उपभोक्तालाई सरसफाइसँग जोडेको छ। आज हात धुने साबुन, शरीर सफा गर्ने साबुन, तरल ह्यान्ड वास र अन्य स्वच्छता उत्पादनका रूपमा परिचित लाइफब्वाईको इतिहास भने एउटा साधारण उपभोक्ता वस्तुको इतिहास मात्र होइन।

यो औद्योगिक क्रान्तिपछि तीव्र गतिमा बढिरहेका सहर, बढ्दो प्रदूषण, कमजोर सरसफाइ व्यवस्था र सङ्क्रामक रोगसँग जुधिरहेको समाजको इतिहाससँग जोडिएको ब्रान्ड हो।

उन्नाइसौँ शताब्दीको उत्तरार्धमा बेलायत औद्योगिक विकासको तीव्र चरणमा थियो। कारखाना थपिँदै थिए, रोजगारीका अवसर बढ्दै थिए र ग्रामीण क्षेत्रबाट मानिसहरू सहरतिर ओइरिरहेका थिए। उद्योगको विस्तारले अर्थतन्त्रलाई गति दिए पनि त्यसको अर्को पाटो निकै भयावह थियो।

सहरमा जनसङ्ख्याको चाप बढ्दै जाँदा आवास, खानेपानी, ढल र फोहोर व्यवस्थापन कमजोर थियो। श्रमिक वर्ग बाक्लो बस्तीमा बस्न बाध्य थियो। स्वच्छ पानी र व्यक्तिगत सरसफाइको सुविधा आजको तुलनामा अत्यन्त सीमित थियो।

त्यस समय हैजा, टाइफाइड, बिफर र झाडापखाला जस्ता सङ्क्रामक रोगले ठूलो जनधनको क्षति गरिरहेका थिए। रोगको फैलावटमा सरसफाइको अभाव र दूषित पानीको भूमिका भए पनि आम मानिसमा त्यसको वैज्ञानिक बुझाइ पर्याप्त विकसित भएको थिएन।

साबुन उपलब्ध थियो, तर सबैका लागि सहज पहुँचमा थिएन। राम्रो साबुन महँगो थियो र त्यसको प्रयोग व्यक्तिगत सफाइभन्दा पनि कपडा धुने वा धनी वर्गको व्यक्तिगत सौन्दर्यसँग जोडिन्थ्यो।

यही सामाजिक अवस्थालाई व्यापारिक अवसरका रूपमा मात्र होइन, सामाजिक समस्याका रूपमा बुझ्ने व्यक्ति थिए विलियम हेस्कथ लिभर। उनले साबुनलाई केवल सफाइका लागि प्रयोग हुने वस्तुबाट आम मानिसको दैनिक जीवनसँग जोडिएको आवश्यक उपभोग्य वस्तु बनाउने सम्भावना देखे।

उनका लागि चुनौती उत्पादन बनाउनु मात्र थिएन। मानिसलाई साबुन प्रयोग गर्न सिकाउनु पनि त्यत्तिकै ठूलो चुनौती थियो। बजारमा नयाँ साबुन ल्याएर बिक्री गर्नुभन्दा मानिसको दैनिक बानी परिवर्तन गर्नु कठिन काम थियो। यहीँबाट लाइफब्वाईको वास्तविक व्यावसायिक कथा सुरु हुन्छ।

लिभर दाजुभाइको उद्योग यात्रा

विलियम हेस्कथ लिभरको उद्यमशीलता पारिवारिक व्यवसाय र व्यापारिक अनुभवसँग जोडिएको थियो।

उनले आफ्ना भाइ जेम्स डार्सी लिभरसँग मिलेर साबुन उद्योगलाई नयाँ दिशामा लैजाने प्रयास गरे। लिभर दाजुभाइले साबुनलाई सामान्य उत्पादनका रूपमा होइन, ठूलो उपभोक्ता बजार बनाउन सकिने वस्तुका रूपमा हेरे।

त्यस समय साबुन उत्पादन परम्परागत कच्चा पदार्थ र विधिमा आधारित थियो।

जनावरको बोसोबाट साबुन बनाउने चलन व्यापक थियो। त्यसबाट आउने गन्ध, गुणस्तर र उत्पादन लागतका समस्या थिए। आम मानिसका लागि उपयुक्त, सस्तो र प्रभावकारी साबुन उत्पादन गर्न कच्चा पदार्थदेखि उत्पादन प्रविधिसम्म सुधार आवश्यक थियो।

लिभर दाजुभाइले वनस्पति तेलको प्रयोगमा जोड दिए। विशेषगरी नरिवल र पाम तेलको प्रयोगमार्फत साबुन उत्पादनलाई औद्योगिक रूपमा विस्तार गर्ने बाटो खोजियो। यसले उत्पादनको गुणस्तर सुधार गर्नुका साथै ठूलो परिमाणमा साबुन उत्पादन गर्ने सम्भावना बढायो।

तर उनीहरूको सबैभन्दा ठूलो काम कारखानाभित्र भएको प्राविधिक परिवर्तन मात्र थिएन। बजारलाई बुझ्ने उनीहरूको क्षमता लाइफब्वाईको सफलताको आधार बन्यो।

लिभरले उपभोक्ताको आवश्यकता र सामाजिक परिस्थितिलाई एउटै ठाउँमा जोड्ने प्रयास गरे। सामान्य मानिसले साबुन किन प्रयोग गर्ने भन्ने प्रश्नको जवाफ उनले उत्पादनको गुणस्तरमा मात्र खोजेनन्। साबुन प्रयोग गर्नु स्वास्थ्यका लागि आवश्यक छ भन्ने विचार उपभोक्ताको मनमा बसाल्नुपर्ने उनले बुझे।

यसका लागि उत्पादन सस्तो हुनुपर्थ्यो। उत्पादनको पहिचान छुट्टै हुनुपर्थ्यो। मानिसले पसलमा पुग्दा सहजै चिन्न सक्नुपर्थ्यो। अझ महत्वपूर्ण कुरा, साबुन किन्नुपर्ने कारण उपभोक्तालाई स्पष्ट रूपमा बुझाउनुपर्थ्यो।

लाइफब्वाई यही रणनीतिक सोचबाट जन्मियो।

सन् १८९४ मा लाइफब्वाई रोयल डिस्इन्फेक्टेन्ट सोप बजारमा ल्याइयो। कार्बोलिक एसिडसँग जोडिएको यसको विशिष्ट गन्ध र रातो रङले यसलाई अन्य साबुनभन्दा फरक पहिचान दियो। उत्पादनको नाम नै जीवनसँग जोडिएको थियो।

‘लाइफब्वाई’ अर्थात् जीवन जोगाउने साधन भन्ने अर्थले पनि यसको स्वास्थ्यसम्बन्धी छविलाई बलियो बनायो।

साबुन बेच्नेभन्दा पनि साबुन प्रयोग गर्ने संस्कार निर्माण गर्ने अभियानले लाइफब्वाईलाई बजारमा छुट्टै स्थान दिलायो।

साबुनभन्दा ठूलो बन्यो बजारीकरण

लाइफब्वाईको व्यावसायिक सफलताको सबैभन्दा महत्वपूर्ण पक्षमध्ये एक यसको बजारीकरण रणनीति थियो। विलियम लिभरले विज्ञापनलाई उत्पादनको जानकारी दिने माध्यममा मात्र सीमित राखेनन्। उनले विज्ञापनलाई उपभोक्ताको सोच र व्यवहार परिवर्तन गर्ने माध्यम बनाए।

त्यो समयसम्म साबुनको विज्ञापनमा उत्पादनको गुणस्तर, सुगन्ध वा सफाइको क्षमतामा जोड दिइन्थ्यो। लाइफब्वाईले भने सरसफाइ र स्वास्थ्यलाई एउटै सन्देशमा जोड्यो।

कीटाणु कसरी फैलिन्छन्, फोहोर हातले रोग कसरी ल्याउन सक्छ र साबुनले सफाइमा कसरी सहयोग गर्छ भन्ने कुरा सरल भाषामा उपभोक्तासम्म पुर्‍याइयो। यसले विज्ञापनलाई उत्पादन प्रचारभन्दा माथि उठाएर सामाजिक चेतनाको माध्यम बनायो।

‘लाइफब्वाईले जीवन बचाउँछ’ भन्ने अवधारणा ब्रान्डको मूल सन्देश बन्यो। उपभोक्तालाई साबुन खरिद गर्न आग्रह गर्नुको सट्टा साबुन प्रयोग नगर्दा स्वास्थ्य जोखिम हुन सक्छ भन्ने मनोविज्ञान निर्माण गरियो।

यसमा डर र सुरक्षा दुवैको मनोविज्ञान प्रयोग भएको थियो। रोगबाट जोगिनुपर्ने डर र परिवारलाई सुरक्षित राख्नुपर्ने चाहनालाई ब्रान्डसँग जोडियो। यही कारण लाइफब्वाईको विज्ञापन घरपरिवारको दैनिक जीवनसँग सम्बन्धित हुन थाल्यो।

ब्रान्ड निर्माणमा अर्को महत्वपूर्ण पक्ष थियो यसको दृश्य पहिचान। रातो रङको साबुन, विशेष आकार र विशिष्ट गन्धले लाइफब्वाईलाई बजारमा सजिलै छुट्याउन सकिने बनायो। आज ब्रान्डिङमा प्याकेजिङ, रङ र लोगोको जुन महत्व छ, त्यसको प्रारम्भिक औद्योगिक उदाहरणमध्ये लाइफब्वाईलाई पनि लिन सकिन्छ।

लिभरको सोच स्पष्ट थियो। मानिसले साबुनलाई विलासी वस्तुका रूपमा होइन, दैनिक जीवनको आवश्यक वस्तुका रूपमा लिनुपर्छ। त्यसका लागि उत्पादन सस्तो र ठूलो जनसमुदायको पहुँचमा हुनुपर्छ।

यसरी उत्पादन, मूल्य, प्याकेजिङ र विज्ञापनलाई एउटै रणनीतिमा जोडियो।

लाइफब्वाईको बजार विस्तार केवल कारखानाबाट निस्किएको साबुनको परिणाम थिएन। यो उपभोक्ताको बानी परिवर्तन गर्ने व्यवस्थित व्यावसायिक अभियानको परिणाम थियो।

युद्ध र संकटमा बढेको विश्वास

लाइफब्वाईको ब्रान्ड पहिचान शान्त समयको बजारमा मात्र बनेन। युद्ध र मानवीय संकटका समयमा यसको प्रयोगले पनि ब्रान्डको सामाजिक छवि बलियो बनायो।

प्रथम विश्वयुद्धको समयमा सरसफाइ युद्धमैदानको स्वास्थ्य सुरक्षासँग जोडिएको महत्वपूर्ण विषय थियो। सैनिकहरू लामो समयसम्म कठिन परिस्थितिमा बस्नुपर्ने, घाइतेको उपचार गर्नुपर्ने र सङ्क्रमणको जोखिम सामना गर्नुपर्ने अवस्था थियो। यस्तो समयमा व्यक्तिगत सरसफाइको महत्व अझ बढ्यो।

लाइफब्वाई साबुन सैनिकहरूका लागि प्रयोग गरिनु यसको बजार विस्तारसँगै ब्रान्डको सार्वजनिक छवि निर्माण गर्ने महत्वपूर्ण चरण बन्यो। युद्धको मैदानदेखि अस्पताल र राहत शिविरसम्म सरसफाइको आवश्यकता बढ्दा लाइफब्वाईको उपयोगिता अझ स्पष्ट हुँदै गयो।

दोस्रो विश्वयुद्धको समयमा पनि ब्रान्डले सरसफाइसँग सम्बन्धित अभियानलाई निरन्तरता दियो। लन्डनका बमबारी प्रभावित क्षेत्रमा मोबाइल नुहाउने र सरसफाइ सुविधा उपलब्ध गराउने अभियानसँग लाइफब्वाई जोडिएको थियो। संकटको समयमा उपभोक्ताको दैनिक जीवनमा प्रत्यक्ष उपस्थित हुन सक्नु ब्रान्डका लागि ठूलो विश्वासको आधार बन्यो।

व्यवसायका लागि यस्तो गतिविधि तत्कालीन बिक्री बढाउने मात्र उपाय थिएन। यसले ब्रान्डको सामाजिक चरित्र निर्माण गर्‍यो। मानिसले लाइफब्वाईलाई साबुन बेच्ने कम्पनीको उत्पादनभन्दा पनि स्वास्थ्य र सरसफाइसँग जोडिएको ब्रान्डका रूपमा बुझ्न थाले।

यही कारण युद्ध, महामारी र स्वास्थ्य संकटका समय ब्रान्डको सामाजिक सन्देश अझ बलियो हुँदै गयो।

लाइफब्वाईको इतिहासमा यो एउटा महत्वपूर्ण मोड थियो। कम्पनीले उपभोक्तासँग सम्बन्ध उत्पादनको उपयोगिताबाट मात्र होइन, साझा सामाजिक सरोकारबाट पनि निर्माण गर्न सकिन्छ भन्ने देखायो।

दुर्गन्धविरुद्धको नयाँ बजार

बीसौँ शताब्दीको मध्यतिर उपभोक्ताको जीवनशैली बदलिन थाल्यो। सहरीकरण बढ्यो। व्यक्तिगत सौन्दर्य र शरीरको गन्धसँग सम्बन्धित धारणा बदलियो। मानिसले साबुनलाई रोगबाट जोगिने साधनका रूपमा मात्र होइन, सामाजिक रूपमा आकर्षक र ताजा देखिने माध्यमका रूपमा पनि लिन थाले।

लाइफब्वाईले यही परिवर्तनलाई नयाँ बजार निर्माणको अवसर बनायो।

सन् १९३० को दशकमा ब्रान्डले शरीरको दुर्गन्धविरुद्ध अभियान चलायो। यसअघि साबुनको मुख्य सन्देश सरसफाइ र कीटाणु नियन्त्रणमा केन्द्रित थियो। अब त्यसमा सामाजिक स्वीकार्यता र व्यक्तिगत आत्मविश्वास जोडियो।

मानिसले शरीरबाट आउने दुर्गन्धका कारण सामाजिक रूपमा असहज महसुस गर्न सक्छ भन्ने सन्देश विज्ञापनमा प्रयोग भयो। नियमित रूपमा लाइफब्वाई प्रयोग गर्दा शरीर ताजा रहने र सामाजिक जीवनमा आत्मविश्वास बढ्ने धारणा निर्माण गरियो।

यसले ब्रान्डको उपभोक्ता आधार विस्तार गर्‍यो।

पहिले रोग र सरसफाइका कारण साबुन प्रयोग गर्ने मानिस अब व्यक्तिगत प्रस्तुतिका कारण पनि साबुन प्रयोग गर्न थाले। स्वास्थ्य र सौन्दर्यको बीचमा लाइफब्वाईले आफ्नो बजार निर्माण गर्‍यो।

यो रणनीति आजको उपभोक्ता बजारमा सामान्य देखिए पनि त्यस समयमा निकै प्रभावकारी थियो। एउटा उत्पादनले एउटै आवश्यकता पूरा गर्नुको सट्टा विभिन्न भावनात्मक र सामाजिक आवश्यकतासँग आफूलाई जोड्न सक्यो भने त्यसको बजार निकै फराकिलो बनाउन सकिन्छ भन्ने उदाहरण लाइफब्वाईले प्रस्तुत गर्‍यो।

ब्रान्डले समयसँगै आफ्नो सन्देश परिवर्तन गरिरह्यो। तर यसको केन्द्रमा सरसफाइ नै रह्यो।

कडा साबुनबाट आधुनिक स्वच्छता बजारसम्म

लाइफब्वाईको पुरानो पहिचान कार्बोलिक एसिडसँग जोडिएको थियो। त्यसको विशिष्ट गन्ध नै ब्रान्डको पहिचान बनेको थियो। तर उपभोक्ताको आवश्यकता परिवर्तन हुँदै गएपछि त्यही पुरानो विशेषता चुनौती बन्न थाल्यो।

आधुनिक उपभोक्ताले छालामैत्री उत्पादन खोज्न थाले। व्यक्तिगत हेरचाहका उत्पादनमा सुगन्ध, कोमलता र छालाको सुरक्षा महत्वपूर्ण हुँदै गयो। परम्परागत कडा साबुन आधुनिक उपभोक्ताको अपेक्षासँग मेल नखाने अवस्था आयो।

यहीँ लाइफब्वाईले आफ्नो अर्को महत्वपूर्ण परिवर्तन सुरु गर्‍यो।

ब्रान्डले अनुसन्धान तथा विकासमा जोड दिँदै उत्पादनलाई आधुनिक बनायो। पुरानो शैलीको कार्बोलिक एसिडयुक्त साबुनबाट आधुनिक कीटाणुनाशक प्रविधितर्फ परिवर्तन गरियो। उत्पादनको स्वरूप पनि विस्तार हुँदै गयो।

रातो साबुनको परम्परागत चक्काबाट बाहिर निस्कँदै तरल हात धुने साबुन, शरीर सफा गर्ने उत्पादन र स्यानिटाइजरजस्ता आधुनिक स्वच्छता उत्पादन बजारमा ल्याइए।

यस परिवर्तनले एउटा महत्वपूर्ण कुरा प्रमाणित गर्‍यो। पुरानो ब्रान्डको इतिहास जति बलियो भए पनि बजारमा टिकिरहन उपभोक्ताको बदलिँदो आवश्यकता बुझ्नैपर्छ।

लाइफब्वाईले आफ्नो मूल पहिचान भने छाडेन। यसको केन्द्रमा सरसफाइ र स्वास्थ्यकै सन्देश रह्यो। तर त्यसलाई अभिव्यक्त गर्ने उत्पादन र प्रविधि समयअनुसार परिवर्तन गरियो।

यही कारण एक सय वर्षभन्दा लामो इतिहास बोकेको ब्रान्ड नयाँ पुस्ताको बजारमा पनि उपस्थित रहन सफल भयो।

हात धुने बानीबाट विश्वव्यापी अभियान

लाइफब्वाईको आधुनिक विस्तारमा सामाजिक अभियानको भूमिका अझ महत्वपूर्ण देखिन्छ। विशेषगरी विकासोन्मुख मुलुकमा हात धुने बानीको विकासलाई ब्रान्डले आफ्नो प्रमुख सामाजिक अभियानका रूपमा अघि बढायो।

भारत, नेपाल, पाकिस्तान, इन्डोनेसिया र अफ्रिकी मुलुकहरूमा साबुनले हात धुने बानीबारे चेतना फैलाउने अभियान सञ्चालन गरियो। विद्यालय, गाउँ र समुदायमा पुगेर बालबालिका तथा अभिभावकलाई हात धुने सही समय र त्यसको स्वास्थ्यसम्बन्धी महत्वबारे जानकारी दिने प्रयास गरियो।

यस अभियानको आधार सरल थियो। साबुन र सफा पानीको प्रयोगबाट धेरै सङ्क्रामक रोगको जोखिम घटाउन सकिन्छ। विशेषगरी झाडापखाला र निमोनियाजस्ता रोगबाट बालबालिकालाई जोगाउन हात धुने बानी महत्वपूर्ण हुन्छ।

‘हेल्प अ चाइल्ड रीच ५’ जस्ता कार्यक्रममार्फत पाँच वर्षमुनिका बालबालिकाको स्वास्थ्य सुरक्षामा साबुन प्रयोगको महत्वबारे चेतना फैलाउने प्रयास गरियो।

व्यावसायिक दृष्टिले हेर्दा यो बजार निर्माणको पनि प्रभावकारी रणनीति थियो। जुन समाजमा साबुनको नियमित प्रयोगको बानी कमजोर हुन्छ, त्यहाँ उपभोक्तालाई उत्पादन बेच्नुभन्दा पहिले त्यसको आवश्यकता बुझाउनुपर्छ। लाइफब्वाईले यही काम गर्‍यो।

पहिले हात धुनुपर्छ भन्ने चेतना। त्यसपछि साबुनले हात धुनुपर्छ भन्ने बानी। त्यसपछि कुन साबुन प्रयोग गर्ने भन्ने बजार निर्णय।

यसरी सामाजिक चेतना र व्यावसायिक बजार निर्माणबीचको दूरी निकै सानो बनाइयो।

लाइफब्वाईको अभियानले ब्रान्डलाई घरघरमा पुर्‍याउने काम मात्र गरेन। यसले साबुनको प्रयोगलाई स्वास्थ्य व्यवहारका रूपमा स्थापित गर्न पनि योगदान गर्‍यो।

यही रणनीतिले विकासोन्मुख देशमा ब्रान्डको पहुँच बढाउन सहयोग पुर्‍यायो।

कोभिडपछि अझ बलियो बनेको स्वच्छता पहिचान

कोभिड–१९ महामारीले विश्वलाई फेरि एउटा पुरानो पाठ सम्झायो। व्यक्तिगत सरसफाइ र हात धुने बानी स्वास्थ्य सुरक्षाको आधार हो।

महामारीका सुरुवाती महिनामा साबुन र स्यानिटाइजरको माग विश्वभर तीव्र रूपमा बढ्यो। मानिसले हात धुने बानीलाई सामान्य व्यक्तिगत स्वच्छताभन्दा माथि उठाएर सङ्क्रमण रोक्ने पहिलो सुरक्षा उपायका रूपमा लिन थाले।

यही समयमा लाइफब्वाईले आफ्नो मूल पहिचानलाई फेरि केन्द्रमा ल्यायो।

महामारीका क्रममा ब्रान्डले हात धुने सन्देशलाई व्यापक रूपमा प्रचार गर्‍यो। प्रतिस्पर्धी ब्रान्डको साबुन उपलब्ध भए पनि हात धुनुपर्ने सन्देशलाई प्राथमिकता दिने अभियानले लाइफब्वाईको स्वास्थ्यकेन्द्रित छवि थप बलियो बनायो।

व्यापारिक ब्रान्डका लागि प्रतिस्पर्धीको उत्पादन प्रयोग गरेर भए पनि हात धुन आग्रह गर्नु सामान्य बजार रणनीति होइन। तर यस्तो अभियानले स्वास्थ्य संकटका समयमा ब्रान्डको प्राथमिकता बिक्रीभन्दा ठूलो सामाजिक सन्देश हो भन्ने धारणा निर्माण गर्‍यो।

यसले उपभोक्तासँगको भावनात्मक सम्बन्धलाई थप बलियो बनायो।

कोभिडपछि विश्वको स्वच्छता बजार पनि बदलिएको छ। हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, सार्वजनिक स्थानमा स्वच्छता कायम गर्ने र व्यक्तिगत स्वास्थ्यप्रति सचेत रहने बानी पहिलेभन्दा धेरै बलियो बनेको छ।

यस परिवर्तनसँगै लाइफब्वाईको मूल ब्रान्ड सन्देश झन् सान्दर्भिक बनेको छ।

एक सय वर्षभन्दा लामो ब्रान्डको व्यापारिक पाठ

लाइफब्वाईको इतिहासलाई केवल साबुनको इतिहासका रूपमा बुझ्दा यसको वास्तविक व्यावसायिक महत्व छुट्छ। यो एउटा यस्तो ब्रान्डको कथा हो, जसले सामाजिक समस्या पहिचान गरेर त्यसलाई बजार निर्माणको आधार बनायो।

विलियम लिभरले साबुन उत्पादन सुरु गर्दा संसारमा साबुन थिएन भन्ने होइन। चुनौती नयाँ साबुन बनाउनु मात्र थिएन। चुनौती साबुनलाई आम मानिसको जीवनको अनिवार्य हिस्सा बनाउनु थियो।

उनले उत्पादनको आवश्यकता सिर्जना गरे। त्यसका लागि विज्ञापनलाई शिक्षा र चेतनासँग जोडे। सस्तो मूल्यबाट ठूलो उपभोक्ता आधार निर्माण गरे। रातो रङ र विशिष्ट गन्धबाट छुट्टै ब्रान्ड पहिचान बनाए। युद्ध र संकटका समयमा सरसफाइ अभियानसँग जोडिए। पछि उपभोक्ताको रुचि बदलिँदा उत्पादन र प्रविधिमा परिवर्तन गरे।

सबैभन्दा महत्वपूर्ण कुरा, लाइफब्वाईले आफ्नो ब्रान्डको मूल विचार परिवर्तन गरेन। समय बदलियो, उत्पादन बदलियो, प्याकेजिङ बदलियो, विज्ञापनको भाषा बदलियो। तर सरसफाइ र स्वास्थ्य यसको केन्द्रमा रह्यो।

यही स्थिरता र परिवर्तनको संयोजन दीर्घकालीन ब्रान्ड निर्माणको महत्वपूर्ण आधार हो।

आज लाइफब्वाई सयभन्दा बढी मुलुकमा पुगेको ब्रान्डका रूपमा चिनिन्छ। यसको यात्रा बेलायतको औद्योगिक समाजमा फैलिएको अस्वच्छता र महामारीबाट सुरु भएर विश्वव्यापी स्वच्छता बजारसम्म आइपुगेको छ।

एउटा उत्पादनले कसरी सामाजिक आवश्यकता पहिचान गरेर उपभोक्ताको बानी परिवर्तन गर्न सक्छ भन्ने उदाहरण लाइफब्वाईले दिएको छ।

यसको अर्को ठूलो पाठ बजारीकरणसँग जोडिन्छ। उत्पादन राम्रो भएर मात्र विश्वव्यापी ब्रान्ड बन्न सकिँदैन। उपभोक्ताले त्यो उत्पादन किन चाहिन्छ भन्ने बुझ्नुपर्छ। उत्पादनसँग भावना जोडिनुपर्छ। त्यसको प्रयोग जीवनशैलीको हिस्सा बन्नुपर्छ।

लाइफब्वाईले यही काम गर्‍यो। यसले साबुनलाई केवल सफाइ गर्ने वस्तुबाट स्वास्थ्य सुरक्षाको प्रतीक बनायो। पछि स्वास्थ्य सुरक्षालाई व्यक्तिगत ताजगी, सामाजिक आत्मविश्वास र आधुनिक जीवनशैलीसँग जोड्यो। विकासोन्मुख बजारमा हात धुने बानीलाई सामाजिक अभियानसँग जोड्यो।

महामारीका समयमा फेरि स्वच्छतालाई विश्वव्यापी स्वास्थ्य सुरक्षाको केन्द्रमा ल्यायो।

यही कारण लाइफब्वाईको ब्रान्ड मूल्य यसको साबुनको मूल्यभन्दा धेरै ठूलो बन्न पुग्यो।

लिभरको विरासत र स्वच्छता उद्योग

लाइफब्वाईको कथा विलियम हेस्कथ लिभरको व्यक्तिगत उद्यमशीलतासँग जोडिएको भए पनि यसको प्रभाव एउटा व्यक्तिको जीवनकालभन्दा धेरै परसम्म फैलियो। लिभर दाजुभाइले सुरु गरेको व्यवसाय पछि ठूलो औद्योगिक समूहमा विस्तार भयो र अन्ततः युनिलिभरको विश्वव्यापी ब्रान्ड संरचनाभित्र समाहित भयो।

आज युनिलिभरका लागि लाइफब्वाई केवल पुरानो साबुनको नाम होइन। यो कम्पनीको दीर्घकालीन ब्रान्ड सम्पत्तिमध्ये एक हो। एक सय वर्षभन्दा लामो इतिहास बोकेको ब्रान्डले समयअनुसार आफूलाई परिवर्तन गर्दै नयाँ उपभोक्तासम्म पुग्ने क्षमता देखाएको छ।

लाइफब्वाईको यात्रामा तीनवटा कुरा लगातार देखिन्छन्। पहिलो, सामाजिक समस्याबाट व्यापारिक अवसर पहिचान गर्ने क्षमता। दोस्रो, उत्पादनसँगै उपभोक्ताको बानी परिवर्तन गर्ने रणनीति। तेस्रो, समयअनुसार उत्पादन र प्रविधि परिवर्तन गर्ने क्षमता।

उन्नाइसौँ शताब्दीमा समस्या महामारी र अस्वच्छता थियो। त्यसबेला लाइफब्वाईले साबुनलाई सरसफाइसँग जोड्यो। बीसौँ शताब्दीमा व्यक्तिगत सौन्दर्य र शरीरको दुर्गन्ध बजारको महत्वपूर्ण विषय बन्यो। ब्रान्डले त्यसैअनुसार आफ्नो सन्देश विस्तार गर्‍यो। एक्काइसौँ शताब्दीमा हातको स्वच्छता, सङ्क्रामक रोग र सार्वजनिक स्वास्थ्य फेरि केन्द्रमा आए।

लाइफब्वाईले आफ्नो पुरानो स्वास्थ्यकेन्द्रित पहिचानलाई नयाँ सन्दर्भमा प्रस्तुत गर्‍यो।

यही निरन्तर अनुकूलन यसको दीर्घकालीन सफलताको एउटा कारण हो।

सन् १८९४ मा एउटा औद्योगिक समाजको सरसफाइ संकटबाट सुरु भएको लाइफब्वाईको यात्रा आज विश्वव्यापी स्वच्छता बजारमा आइपुगेको छ। यसले करोडौँ मानिसलाई साबुन प्रयोग गर्न प्रेरित गरेको दाबी गर्छ र विभिन्न देशमा हात धुने अभियान सञ्चालन गर्दै आएको छ।

व्यापारको भाषामा हेर्दा यो एउटा सफल ब्रान्ड हो। सामाजिक दृष्टिले हेर्दा यो स्वच्छता चेतनासँग जोडिएको अभियान हो। औद्योगिक इतिहासको दृष्टिले हेर्दा यो उत्पादन, विज्ञापन र जनस्वास्थ्यलाई एउटै व्यावसायिक रणनीतिमा जोड्ने उदाहरण हो।

लाइफब्वाईको सबैभन्दा ठूलो उपलब्धि रातो साबुनलाई विश्वभर पुर्‍याउनु मात्र होइन। मानिसको दैनिक व्यवहारमा साबुनको स्थान बदल्नु हो।

कुनै समय साबुन विलासी वस्तु थियो। लाइफब्वाईले त्यसलाई दैनिक आवश्यकता बनाउने यात्रामा महत्वपूर्ण भूमिका खेल्यो। कुनै समय सरसफाइ व्यक्तिगत सुविधा थियो। यसले त्यसलाई स्वास्थ्य सुरक्षासँग जोड्यो। आज हात धुने बानी सामान्य जीवनको हिस्सा बनेको छ।

त्यसैले लाइफब्वाईको इतिहास एउटा साबुनको इतिहासभन्दा धेरै ठूलो छ।

यो औद्योगिक उत्पादनले सामाजिक समस्या कसरी पहिचान गर्छ, बजारीकरणले मानिसको व्यवहार कसरी बदल्छ र एउटा ब्रान्डले एक शताब्दीभन्दा बढी समयसम्म आफ्नो पहिचान कसरी जोगाउन सक्छ भन्ने व्यावसायिक पाठ हो।

विलियम हेस्कथ लिभरले सुरु गरेको त्यो प्रयास आज पनि रातो रङको साबुनमा देखिन्छ। तर यसको वास्तविक विरासत साबुनको आकारमा होइन, मानिसको हात धुने बानीमा छ।

त्यसैले लाइफब्वाई आज केवल साबुन होइन। यो स्वच्छता, स्वास्थ्य र ब्रान्ड निर्माणको एक शताब्दीभन्दा लामो व्यावसायिक यात्रा हो।

2