काठमाडौं: डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस लिमिटेडले सर्वसाधारणका लागि १६ लाख २० हजार कित्ता साधारण शेयर निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) मा प्रस्ताव पेश गरेको छ।
कम्पनीका सञ्चालक समितिका अध्यक्ष रामनाथ मैनालीका अनुसार आईपीओ निष्कासनका लागि सिटिजन्स क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ। कम्पनीले शेयर निष्कासनबाट संकलन हुने करिब १६ करोड २० लाख रुपैयाँ व्यवसाय विस्तार, पूर्वाधार निर्माण र रिसोर्टलाई चारतारे स्तरमा स्तरोन्नति गर्न प्रयोग गर्ने जनाएको छ।
भक्तपुरको डोलेश्वरमा अवस्थित यस रिसोर्टले डोलेश्वर महादेव मन्दिरको धार्मिक महत्व, भक्तपुरको सांस्कृतिक आकर्षण र काठमाडौँ उपत्यकाको बजारलाई आफ्नो मुख्य व्यावसायिक आधारका रूपमा लिएको छ।
हालै सम्पन्न कम्पनीको ११औँ साधारण सभामा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रिसोर्टले स्थानीय स्तरमा पर्यटकीय गतिविधि बढाउन खेलेको भूमिकाको प्रशंसा गरे। मुख्यमन्त्री मगरले पर्यटनमार्फत भक्तपुरको सम्भावनालाई सर्वसाधारणको आयआर्जनसँग जोड्न प्रदेश सरकारले विशेष कार्यक्रम ल्याउने योजना रहेको जानकारी दिए।
