काठमाडौं। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले शुक्रबारदेखि लामो तथा मध्यम दूरीका सवारीसाधनका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने भएको छ। चाडपर्वलाई लक्षित गरी यात्रुहरूको सहजताका लागि महासंघले अग्रिम टिकट बुकिङ सुरु गर्ने निर्णय गरेको हो।
महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला ‘सरोज’ का अनुसार शुक्रबार बिहानदेखि यात्रुहरूले टिकट बुकिङ गर्न सक्नेछन्। चाडपर्वको समयमा हुने भिडभाड र यात्रु ठगिने समस्यालाई व्यवस्थित गर्न महासंघले सम्पूर्ण तयारी पूरा गरेको उनले जानकारी दिए।
अध्यक्ष सिटौलाले टिकट काट्दा यात्रुहरूलाई तीनवटा कुरामा विशेष ध्यान दिन आग्रह गरेका छन्। उनले भने, ‘यात्रुहरूले टिकट काट्दा आफ्नो गन्तव्य, मिति र सिट नम्बरमा स्पष्ट भएर मात्र लिनुपर्छ। अनलाइन वा काउन्टर जहाँबाट टिकट लिँदा पनि यी विवरण अनिवार्य रूपमा रुजु गर्नुहोला।’
महासंघले टिकट बुकिङका क्रममा हुन सक्ने कालोबजारी रोक्न कडा निगरानी गरिने जनाएको छ। तोकिएको भाडादरभन्दा बढी लिने वा टिकट लुकाएर कालोबजारी गर्ने कार्य भेटिएमा कडा कारबाही गरिने अध्यक्ष सिटौलाले चेतावनी दिए। यात्रुहरूलाई भिडभाडमा नपरी आधिकारिक काउन्टर वा अनलाइन माध्यमबाट मात्र टिकट लिन महासंघले आग्रह गरेको छ। साथै, चाडपर्वमा सुरक्षित यात्रा सुनिश्चित गर्न व्यवसायीहरूलाई सवारीसाधनको अवस्था र चालकको सावधानीमा ध्यान दिन निर्देशन दिइएको छ।
