काठमाडौं: नेपाल विद्युत् प्राधिकरणले अनलाइनमार्फत विद्युत् महसुल भुक्तानी गर्ने ग्राहकका लागि नयाँ सुविधा सार्वजनिक गरेको छ। डिजिटल माध्यमबाट महसुल तिर्ने अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्यले प्राधिकरणले ‘स्मार्ट पे रिवार्ड’ कार्यक्रम ल्याएको हो।
प्राधिकरण सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार अब उपभोक्ताले अनलाइनबाट महसुल तिर्दा पहिले पाइरहेको २ प्रतिशत छुटमा थप शून्य दशमलव ५ प्रतिशत स्मार्ट पे रिवार्ड प्राप्त गर्नेछन्। यससँगै डिजिटल भुक्तानी गर्ने ग्राहकले कुल २ दशमलव ५ प्रतिशत छुट पाउनेछन्।
प्राधिकरणले पहिलो चरणमा ६ महिनाका लागि यो कार्यक्रम सञ्चालनमा ल्याएको छ। विद्युत् महसुल अनलाइनबाट तिर्दा समयको बचत हुनुका साथै अतिरिक्त सुविधासमेत प्राप्त हुने भएकाले यस माध्यमलाई प्रयोग गर्न प्राधिकरणले सबै उपभोक्तालाई आह्वान गरेको छ।
