काठमाडौं: यती एयरलाइन्सले बडादसैँलाई लक्षित गर्दै काठमाडौंबाट बाहिरिने उडानमा ‘अपर क्लास’ (माथिल्लो वर्ग) को भाडा दर बन्द गरेको छ। दसैँमा यात्रुहरूको चाप उच्च हुने भएकाले सेवालाई सहज बनाउन यस्तो निर्णय गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार दसैँका बेला फर्कने उडानमा यात्रुको चाप कम हुने र इन्धन खर्चसमेत बढी हुने भए पनि जाने यात्रुको चापलाई ध्यानमा राखेर यो व्यवस्था गरिएको हो। फर्कने उडानमा भने कम्पनीले सस्तो मूल्यमा टिकट उपलब्ध गराइरहेको छ।
विश्वका विभिन्न भागमा भइरहेका युद्धका कारण हवाई इन्धनको मूल्यमा भारी वृद्धि भएको छ। कम्पनीका अनुसार इन्धनको मूल्य प्रतिलिटर १२७ रुपैयाँबाट बढेर २४९ रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च मूल्य हो। इन्धनको मूल्यवृद्धिका कारण गत वर्षझैँ सुलभ दरमा भाडा उपलब्ध गराउन नसकिएकोमा कम्पनीले दुःख व्यक्त गरेको छ।
