काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्रका आफ्ना सबै शाखाबाट अमेरिकी डलर सटही सुविधा उपलब्ध गराएको छ। विदेश भ्रमण, अध्ययन तथा व्यापारिक प्रयोजनका लागि जाने ग्राहकलाई विदेशी मुद्रा सटही सहज बनाउने उद्देश्यले सेवा विस्तार गरिएको बैंकले जनाएको छ।
बैंकका अनुसार डलर सटही गर्न चाहने ग्राहकले सम्बन्धित देशको भिसा, हवाई टिकट र राहदानीसहित आफूलाई पायक पर्ने उपत्यकाभित्रको जुनसुकै शाखामा सम्पर्क गर्न सक्नेछन्।
नेपाल राष्ट्र बैंकको प्रचलित विदेशी विनिमयसम्बन्धी व्यवस्था र नीतिअनुसार तोकिएको सीमाभित्र अमेरिकी डलर नगद वा कार्डमार्फत उपलब्ध गराइने बैंकले जनाएको छ।
यसअघि सीमित मुख्य शाखाबाट मात्र नगद विदेशी मुद्रा सटही गर्नुपर्ने अवस्था रहेकामा अब उपत्यकाका सबै शाखाबाटै सेवा उपलब्ध हुने भएको छ। यसबाट ग्राहकको समय बचत हुनुका साथै विदेश यात्राका लागि आवश्यक विदेशी मुद्रा व्यवस्थापन सहज हुने विश्वास बैंकले लिएको छ।
