काठमाडौं । कुमारी बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई तलब, भत्ता तथा अन्य सुविधाबापत १ करोड ९० लाख ३ हजार २४८ रुपैयाँ भुक्तानी गरेको छ। बैंकको २६औँ वार्षिक प्रतिवेदनअनुसार सीईओले तलबबापत १ करोड ७६ लाख १० हजार ४८ रुपैयाँ र दसैँ भत्तासहित अन्य भत्ताबापत १३ लाख ९३ हजार २०० रुपैयाँ बुझेका छन्।
सञ्चालकलाई ५५ लाखभन्दा बढी भुक्तानी
बैंकले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालक समितिका अध्यक्ष तथा सदस्यलाई बैठक भत्ता र सञ्चार सुविधाबापत कुल ५५ लाख ३९ हजार १८१ रुपैयाँ भुक्तानी गरेको छ।
बैंकको नियमावलीअनुसार सञ्चालक समितिका अध्यक्षले प्रत्येक बैठकमा सहभागी भएबापत १६ हजार रुपैयाँ र सदस्यले १४ हजार रुपैयाँ बैठक भत्ता पाउँछन्। सञ्चालकहरूलाई सञ्चार तथा पत्रपत्रिका सुविधाबापत मासिक १२ हजार रुपैयाँसमेत उपलब्ध गराउने व्यवस्था छ।
बैंकका अनुसार सञ्चालकहरूलाई यी सुविधाबाहेक अन्य अतिरिक्त सुविधा प्रदान गरिएको छैन।
वरिष्ठ व्यवस्थापनमा ३८ करोड खर्च
कुमारी बैंकले सहायक प्रबन्धक तह र त्यसभन्दा माथिका कर्मचारीलाई वरिष्ठ व्यवस्थापनअन्तर्गत राखेको छ। यो तहका कर्मचारीको तलब, भत्ता तथा अन्य सुविधामा आर्थिक वर्ष २०८२/८३ मा कुल ३८ करोड ४६ लाख २३ हजार ४८१ रुपैयाँ खर्च भएको छ।
वार्षिक प्रतिवेदनअनुसार वरिष्ठ व्यवस्थापनका कर्मचारीले तलबबापत १५ करोड ५३ लाख ८१ हजार ५६६ रुपैयाँ र दसैँ भत्तासहित अन्य भत्ताबापत ७ करोड ६९ लाख १५ हजार ७०३ रुपैयाँ प्राप्त गरेका छन्।
त्यस्तै, सवारी सुविधाबापत ८ करोड ८९ लाख ६१ हजार ७६४ रुपैयाँ, वार्षिक बिदा भत्ताबापत १ करोड ४८ लाख ९६ हजार ३६१ रुपैयाँ र अन्य शीर्षकमा ४ करोड ८४ लाख ६८ हजार ८७ रुपैयाँ भुक्तानी गरिएको छ।
विनियमावलीअनुसार सुविधा
बैंकले वरिष्ठ व्यवस्थापनका कर्मचारीलाई प्रदान गरिने तलब, भत्ता तथा अन्य सुविधा कर्मचारी सेवा विनियमावली र मानव संसाधन नीतिअनुसार निर्धारण गर्ने जनाएको छ।
कर्मचारीलाई बोनस ऐन, २०३० अनुसार बोनस तथा श्रम ऐन, २०७४ अनुसार सञ्चय कोषको सुविधा उपलब्ध गराइएको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै, जीवन बिमा, औषधोपचार बिमा र दुर्घटना बिमाको सुविधा पनि प्रदान गरिएको छ।
बैंकका अनुसार सञ्चालक, सीईओ, वरिष्ठ व्यवस्थापन र अन्य कर्मचारीलाई भुक्तानी गरिने तलब, भत्ता तथा सुविधाबाट प्रचलित कानुनअनुसार लाग्ने कर कट्टी गरेर मात्र रकम उपलब्ध गराइन्छ।
