काठमाडौं। सरकारले अन्तर प्रदेश सञ्चालन हुने विद्युतीय सार्वजनिक सवारी साधनको भाडा दर समायोजन गरेको छ । यातायात व्यवस्था विभागले बिहीबार छोटो, मध्यम र लामो दूरीका लागि नयाँ भाडा दर सार्वजनिक गरेको हो ।
विभागका अनुसार तराई र पहाडी क्षेत्रमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारीको प्रति किलोमिटर भाडा दरमा परिमार्जन गरिएको छ । तराईको २५० किलोमिटर भन्दा बढी दूरीका लागि प्रति किलोमिटर प्रति व्यक्ति २.९३ रुपैयाँ र २५ देखि २५० किलोमिटर दूरीका लागि ३ रुपैयाँ भाडा तोकिएको छ । त्यस्तै, काठमाडौं-पोखरा र पोखरा-नारायणगढ खण्डका लागि प्रति किलोमिटर ३.२४ रुपैयाँ कायम गरिएको छ ।
डिलक्स सुविधा प्राप्त सवारीले तोकिएको सामान्य भाडामा २० प्रतिशत र सुपर डिलक्सले सोही भाडा दरमा थप २० प्रतिशत शुल्क लिन पाउने व्यवस्था गरिएको छ । विभागले विद्यार्थी, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई अनिवार्य सहुलियत दिनुपर्ने व्यवस्था गरेको छ । यस्तो सहुलियतका लागि परिचयपत्र अनिवार्य गरिएको छ ।
लामो दूरीका रात्रिकालीन बसमा अनिवार्य रूपमा दुई जना चालक राख्नुपर्ने नियम लागू गरिएको छ । चालक र सहचालकले अनिवार्य रूपमा परिचयपत्र वा तोकिएको पोसाक लगाउनुपर्नेछ । तोकिएको भन्दा बढी भाडा असुलेको खण्डमा यात्रुले हेलो सरकारको ११११ वा ट्राफिक प्रहरीको १०३ नम्बरमा उजुरी गर्न सक्ने विभागले जनाएको छ ।
यात्रुवाहक सवारीसँगै मालवाहक ट्रकको भाडा पनि समायोजन गरिएको छ । विभागले १० टन क्षमतालाई आधार मानेर तराईतर्फ प्रति किलोमिटर प्रति टन ७.७२ रुपैयाँ र पहाडतर्फ १४.७७ रुपैयाँ भाडा दर कायम गरेको छ । यसअनुसार वीरगञ्ज-काठमाडौं ट्रक भाडा ३१ हजार ४४६ रुपैयाँ र भैरहवा-काठमाडौं भाडा ३२ हजार १४१ रुपैयाँ तोकिएको छ ।
