नारायणगढ । नारायणी नदीमा आएको भीषण बाढीले किनारको चौरलाई बगरमा परिणत गरेको छ । बाढीले बालुवा र ढुङ्गा थुपारेर नारायणी किनारको स्वरूप नै बदलिदिए पनि नारायणगढमा निर्माण गरिएको ‘सी बिच’ ढाँचाको तटबन्ध भने सुरक्षित रहेको छ । बाढी किनार हुँदै सडकसम्म आइपुग्दा पनि ६४० मिटर लामो तटबन्धमा ठूलो क्षति पुगेन ।
गत असोज ११ गते आएको बाढीले भरतपुर महानगरपालिका–१, नारायणगढस्थित नारायणी किनारको चौरमा क्षति पुर्याएको हो । तर, नदी कटान रोक्न र किनार संरक्षण गर्न निर्माण गरिएको तटबन्धले बाढीको दबाब थेगेको सिँचाइ तथा जलस्रोत आयोजना भरतपुरले जनाएको छ ।
आयोजनाका सूचना अधिकारी इन्जिनियर सागर पौडेलका अनुसार नारायणी पुलको उत्तरतर्फ निर्माण गरिएको तटबन्धको काम २०७९ पुस ५ गते सुरु भएर २०८० जेठ १९ गते सम्पन्न भएको थियो । नदी कटान रोक्नुका साथै किनारको चौर संरक्षण गर्ने र क्षेत्रलाई आकर्षक बनाउने उद्देश्यले यो संरचना निर्माण गरिएको थियो ।
तटबन्ध सुरक्षित रहे पनि माथिल्लो चौरमा भने बाढीले बालुवा र ढुङ्गा थुपारेको छ । बगरमा परिणत भएको क्षेत्रमा आवतजावत गर्नसमेत कठिन भएको पौडेलले बताए । तटबन्धको माथिल्लो भागमा रहेको करिडोरमा भने मानिसहरू टहलिने र ठेलामा व्यापार गर्नेहरूको चहलपहल कायमै छ ।
पौडेलका अनुसार तटबन्धले नारायणी नदीको बहावलाई हालको दिशामा स्थिर राख्न सहयोग गरेको छ । नदीको धार नारायणगढ बजारतर्फ मोडिन नदिई कटानको जोखिम घटाउन यसले भूमिका खेलेको उनको भनाइ छ ।
“सी बिच ढाँचाको तटबन्ध नभएको भए यो क्षेत्र पूरै बगरमा परिणत हुन सक्थ्यो”, पौडेलले भने । उनका अनुसार तटबन्धले किनारको चौर संरक्षण गर्नुका साथै पछि माटो भर्ने र जमिन सम्याउने काम गर्न पनि सहज बनाएको छ ।
नारायणी नदी किनारमा निर्माण गरिएको ‘सी बिच’ अहिले घुमफिर र मनोरञ्जनको स्थलसमेत बनेको छ । यहाँ विभिन्न महोत्सव तथा सांस्कृतिक कार्यक्रम आयोजना हुँदै आएका छन् । बिहान र साँझ नदी किनारमा टहलिन आउने सर्वसाधारणको चहलपहल हुने गरेको छ । साना ठेला तथा व्यापार व्यवसाय सञ्चालन गर्नेहरूका लागि पनि यो क्षेत्र आम्दानीको माध्यम बनेको छ ।
कार्यालयका अनुसार ‘नारायणी रिभर बिच प्रोटेक्सन वर्क्स’ आयोजनाअन्तर्गत १७ करोड ५९ लाख रुपैयाँ खर्च गरेर तटबन्ध निर्माण गरिएको हो । संरचनामा आरसीसीका सिँढी बनाउनुका साथै नदीतर्फको भागमा ठूला ढुङ्गा प्रयोग गरेर किनार संरक्षण गरिएको पौडेलले बताए ।
नारायणी पुलदेखि पश्चिमतर्फ चितवन क्षेत्रमा विभिन्न स्थानमा तटबन्ध निर्माण गरिएकाले यस वर्षको बाढीबाट ठूलो क्षति हुन नपाएको कार्यालयको भनाइ छ । बाढीले किनारको चौरमा क्षति पुर्याए पनि तटबन्ध सुरक्षित रहनुले नदी कटान नियन्त्रणमा यस्ता संरचनाको भूमिका देखाएको छ ।
