काठमाडौं । सिद्धार्थ बैंकले व्यवसायलाई आफ्नै सफ्टवेयरबाट बैंकिङ सेवा सञ्चालन गर्न सहज बनाउने उद्देश्यले एपीआईमा आधारित ‘र्यापिड’ प्लेटफर्म सञ्चालनमा ल्याएको छ। बैंकले नेपाल फिनटेक एक्सपो २०२६ को अवसरमा उक्त प्लेटफर्म सार्वजनिक गरेको हो।
‘बैंकिङ एज अ सर्भिस’ अवधारणामा आधारित र्यापिडले बैंक, वित्तीय प्रविधि कम्पनी र डिजिटल सेवा प्रदायकका प्रणालीलाई एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपीआई) मार्फत जोड्नेछ। यसबाट व्यवसायले आफ्नै प्रणालीमा बैंकिङ सेवा एकीकृत गरी वित्तीय गतिविधि व्यवस्थापन गर्न सक्ने बैंकले जनाएको छ।
प्लेटफर्म प्रयोगमा आएपछि कर्पोरेट ग्राहकले विभिन्न बैंकिङ सेवाका लागि छुट्टाछुट्टै प्रणाली प्रयोग गर्नुपर्ने बाध्यता कम हुने बैंकको अपेक्षा छ। ग्राहकले आफ्नै सफ्टवेयर वा उद्यम स्रोत व्यवस्थापन प्रणालीबाट बैंक खाताको मौज्दात हेर्न, विवरण डाउनलोड गर्न, कोष व्यवस्थापन गर्न र कारोबारको स्वचालित मिलान गर्न सक्नेछन्।
ग्राहकले ‘एपीआई बैंकिङसँग जोड्नुहोस्’ विकल्पमार्फत आफ्नो बैंक खाता प्रणालीमा जोड्न सक्ने व्यवस्था गरिएको छ। सेवा लिन मोबाइल बैंकिङमा जस्तै एकपटक आवेदन दिएपछि अधिकांश प्रक्रिया अनलाइनबाटै पूरा गर्न सकिने बैंकले जनाएको छ।
र्यापिडमा ग्राहकको सहमति लिने प्रक्रियासमेत डिजिटल बनाइएको छ। यसले बैंकिङ सेवामा पहुँच सहज बनाउनुका साथै कारोबार प्रक्रियालाई पारदर्शी बनाउन सहयोग पुग्ने बैंकको विश्वास छ।
प्लेटफर्ममा कारोबार तथा ग्राहकको विवरण सुरक्षित राख्न अन्त्यदेखि अन्त्यसम्मको गुप्तीकरण र बहुस्तरीय प्रमाणीकरणलगायत सुरक्षा प्रणाली प्रयोग गरिएको बैंकले जनाएको छ।
र्यापिडमार्फत साना, मझौला तथा ठूला व्यवसायले आफ्नै प्रणालीबाट बैंकिङ सेवा प्रयोग गर्न सक्नेछन्। यसले वित्तीय विवरण व्यवस्थापन, कोष परिचालन र कारोबार मिलानमा लाग्ने समय तथा प्रक्रियागत झन्झट घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
बैंकका अनुसार नयाँ प्लेटफर्मले बैंक, वित्तीय प्रविधि कम्पनी र डिजिटल सेवा प्रदायकबीच सहकार्य विस्तार गर्न पनि मद्दत गर्नेछ।
