दक्षिणपूर्वी एसियाको व्यावसायिक इतिहासमा रोबर्ट कुओक एउटा यस्तो नाम हो, जसले सामान्य खाद्यान्न व्यापारलाई बहुराष्ट्रिय व्यावसायिक साम्राज्यमा रूपान्तरण गरे।
मलेसियामा जन्मिएका कुओकले चिनीको कारोबारबाट आर्जन गरेको पुँजीलाई होटल, घरजग्गा, कृषि प्रशोधन, समुद्री यातायात र लजिस्टिक्सजस्ता क्षेत्रमा विस्तार गरे।
उनको व्यावसायिक यात्राले एउटा महत्त्वपूर्ण तथ्य स्थापित गरेको छ। बजारको सम्भावना पहिचान गर्न सक्ने क्षमता, पुँजीको अनुशासित परिचालन र समयअनुसार व्यवसायको स्वरूप बदल्ने रणनीति सफल उद्यमका आधार हुन्।
‘एसियाका चिनी राजा’ भनेर चिनिने कुओकको परिचय चिनी व्यापारमा सीमित छैन।
उनले स्थापना गरेको कुओक समूहले सात दशकभन्दा लामो अवधिमा एसियाका प्रमुख बजारबाट आफ्नो उपस्थिति विश्वका विभिन्न क्षेत्रमा विस्तार गरेको छ।
समूहको व्यवसाय घरजग्गा, आतिथ्य सेवा, खाद्यान्न, कृषि व्यवसाय, समुद्री यातायात, लजिस्टिक्स र डिजिटल पूर्वाधारसम्म फैलिएको छ।
शाङ्ग्री–ला होटल्स एन्ड रिसोर्ट्स, केरी समूह, विल्मार इन्टरनेसनल र प्यासिफिक क्यारियर्सजस्ता व्यवसायसँग जोडिएको उनको व्यावसायिक विरासतले विभिन्न उद्योगमा लगानी विस्तार गर्ने रणनीतिको महत्त्व देखाउँछ।
कुओकको सफलता एकैपटक ठूलो लगानी गरेर प्राप्त भएको उपलब्धि होइन।
दोस्रो विश्वयुद्धको प्रभाव, औपनिवेशिक अर्थतन्त्र, मलेसियाको स्वतन्त्रतापछिको बजार निर्माण र चीनको आर्थिक खुलापनजस्ता फरक ऐतिहासिक परिस्थितिमा उनले व्यावसायिक अवसर खोजे।
सुरुमा खाद्यान्नको आपूर्ति र मूल्यको उतारचढाव बुझेर व्यापार गरेका उनले पछि उत्पादन, प्रशोधन, वितरण र अन्तर्राष्ट्रिय बजारबीचको सम्बन्धलाई आफ्नो प्रतिस्पर्धात्मक शक्तिमा बदले।
उनको जीवनको अर्को विशेषता परिवारमा आधारित व्यवसायलाई संस्थागत संरचनामा विकास गर्नु हो। विभिन्न देशमा अलग-अलग कम्पनी र व्यवसाय सञ्चालन गर्दै उनले एउटै बजार वा उत्पादनमा निर्भर रहनुपर्ने जोखिम घटाए।
यसैले रोबर्ट कुओकको व्यावसायिक यात्रा धन आर्जनको कथा मात्र होइन, एउटा पारिवारिक व्यापारलाई पुस्तौँसम्म टिक्न सक्ने बहुआयामिक व्यावसायिक संरचनामा विकास गर्ने उदाहरण पनि हो।
युद्धले रोक्यो पढाइ, व्यापारले खोल्यो बाटो
रोबर्ट कुओक होक नियनको जन्म ६ अक्टोबर १९२३ मा तत्कालीन ब्रिटिस मलायाको जोहोर बारुमा भएको थियो। उनको परिवारको मूल सम्बन्ध चीनको फुज्यान प्रान्तस्थित फुझाउसँग थियो। उनका बुबा कुओक केङ काङ व्यापारको सम्भावना खोज्दै चीनबाट दक्षिणपूर्वी एसियामा आएका थिए।
उनले चामल, चिनी र गहुँको पिठोजस्ता दैनिक उपभोगका वस्तुको व्यापार सुरु गरेका थिए। यही पारिवारिक व्यवसायले कुओकलाई सानै उमेरदेखि वस्तुको मूल्य, आपूर्ति, बजारको माग र व्यापारमा विश्वासको महत्त्व बुझ्ने वातावरण दियो।
उनकी आमा झेङ गे रुको प्रभाव पनि उनको व्यक्तित्व निर्माणमा महत्त्वपूर्ण रह्यो। पारिवारिक अनुशासन, व्यवहारकुशलता र कठिन परिस्थितिमा निर्णय लिन सक्ने क्षमता उनको जीवनका उल्लेखनीय पक्ष बने।
कुओकको परिवार सामान्य व्यापारिक पृष्ठभूमिबाट आएको भए पनि उनीहरू आफ्ना सन्तानलाई राम्रो शिक्षा दिन चाहन्थे। त्यसैले कुओकले अंग्रेजी माध्यमबाट अध्ययन गर्ने अवसर पाए।
उनले जोहोर बारुको इङ्लिस कलेजमा अध्ययन गरेपछि सिङ्गापुरको र्याफल्स इन्स्टिच्युटमा पढाइ अघि बढाए। त्यतिबेला अंग्रेजी भाषाको ज्ञान र अन्तर्राष्ट्रिय व्यापारको बुझाइ दक्षिणपूर्वी एसियामा व्यावसायिक अवसर प्राप्त गर्न महत्त्वपूर्ण मानिन्थ्यो। उनको औपचारिक शिक्षा भने पूरा हुन पाएन।
सन् १९४१ मा जापानी सेनाले मलाया र सिङ्गापुरमाथि आक्रमण गरेपछि उनको अध्ययन रोकियो।
दोस्रो विश्वयुद्धले दक्षिणपूर्वी एसियाको अर्थतन्त्र, सामाजिक संरचना र व्यापारिक सम्बन्धमा ठूलो अवरोध सिर्जना गरेको थियो। कुओकको परिवारले पनि असुरक्षा र आर्थिक कठिनाइ सामना गर्नुपर्यो। युद्धका क्रममा उनले जापानी व्यापारिक संस्थासँग सम्बन्धित चामल कारोबारमा क्लर्कका रूपमा काम गरे।
यस अनुभवले उनलाई खाद्यान्नको आपूर्ति, व्यापारिक हिसाबकिताब र सामानको वितरण कसरी सञ्चालन हुन्छ भन्ने व्यावहारिक ज्ञान दियो।
युद्धको कठिन समयमा प्राप्त अनुभव उनको व्यावसायिक जीवनका लागि उपयोगी बन्यो।
औपचारिक अध्ययन अधुरो रहे पनि कामकै क्रममा बजारको व्यवहार बुझ्ने अवसर पाए। चामलजस्तो दैनिक उपभोगको वस्तु सामान्य देखिए पनि त्यसको मूल्य, उपलब्धता र आपूर्तिमा आउने परिवर्तनले व्यापारको नाफा र घाटा निर्धारण गर्छ भन्ने कुरा उनले नजिकबाट सिके।
सन् १९४८ मा उनका बुबाको निधन भएपछि परिवारको व्यापार सम्हाल्ने जिम्मेवारी कुओकसहित परिवारका सदस्यहरूमाथि आयो। त्यसको अर्को वर्ष सन् १९४९ मा उनले परिवारका सदस्यहरूसँग मिलेर कुओक ब्रदर्स स्थापना गरे। मलेसियाको जोहोर बारुबाट सुरु भएको यो व्यवसाय चामल, चिनी र गहुँको पिठोको कारोबारमा केन्द्रित थियो।
कुओक समूहको आधिकारिक इतिहासले पनि सन् १९४९ लाई समूहको व्यावसायिक यात्राको सुरुआती वर्ष मानेको छ।
कम्पनीको सुरुआती संरचना ठूलो कर्पोरेट समूहको जस्तो थिएन। सीमित वस्तु, पारिवारिक पुँजी र क्षेत्रीय बजारमा आधारित व्यापार नै त्यसको आधार थियो। तर, खाद्यान्नको कारोबारले कुओकलाई यस्तो बजारमा प्रवेश गरायो जहाँ माग निरन्तर रहन्थ्यो र आपूर्ति व्यवस्थापन गर्न सक्ने व्यापारीका लागि ठूलो सम्भावना थियो।
खाद्यान्नको व्यापारमा नाफा कमाउन सस्तो मूल्यमा वस्तु खरिद गर्नु मात्र पर्याप्त हुँदैन।
भण्डारण, ढुवानी, गुणस्तर, समय र बजारमा वस्तुको उपलब्धता पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन्। कुओकले यही व्यावसायिक वास्तविकतालाई आफ्नो रणनीतिको केन्द्रमा राखे। व्यापारलाई दैनिक कारोबारमा सीमित नराखी वस्तुको स्रोतदेखि अन्तिम बजारसम्मको प्रक्रियामा पकड बनाउने सोचले उनलाई विस्तारको बाटो देखायो।
चिनीको मूल्यबाट जन्मिएको साम्राज्य
कुओकको व्यावसायिक जीवनमा चिनी निर्णायक उत्पादन बन्यो। दोस्रो विश्वयुद्धपछि मलेसियाको अर्थतन्त्र विस्तार हुँदै थियो। जनसङ्ख्या वृद्धि, सहरीकरण र उपभोगमा आएको परिवर्तनले खाद्यान्नको माग बढाइरहेको थियो। चिनी दैनिक उपभोगमा प्रयोग हुने महत्त्वपूर्ण वस्तु भएकाले यसको कारोबारमा ठूलो सम्भावना थियो।
कुओकले यही मागलाई आफ्नो व्यापार विस्तार गर्ने आधार बनाए।
उनको रणनीति सामान्य खरिदबिक्रीमा सीमित रहेन। उनले अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्य कसरी परिवर्तन हुन्छ, कुन देशमा उत्पादन बढी हुन्छ र कुन समयमा खरिद गर्दा लागत घटाउन सकिन्छ भन्ने विषयमा ध्यान दिए।
चिनीको कारोबारमा सफल हुन उत्पादनको मात्रा मात्र होइन, विश्वबजारको अवस्था र आपूर्तिमा आउने परिवर्तनसमेत बुझ्नुपर्थ्यो।
सन् १९५९ मा मलेसियन सुगर म्यानुफ्याक्चरिङ कम्पनी स्थापना हुनु उनको व्यवसायको महत्त्वपूर्ण मोड थियो।
यसले उनलाई व्यापारबाट उत्पादन र प्रशोधनमा प्रवेश गर्ने अवसर दियो। कच्चा पदार्थ खरिद गरेर बजारमा बिक्री गर्ने परम्परागत मोडलबाट प्रशोधन र वितरणसम्मको मूल्य शृङ्खलामा आफ्नो उपस्थिति बढाउने दिशामा उनले कदम चाले।
उत्पादन र प्रशोधनमा प्रवेश गर्दा कम्पनीको व्यावसायिक प्रकृति नै परिवर्तन हुन्छ। व्यापारीले बजारमा उपलब्ध वस्तु किनेर बेच्दा मुख्यतः खरिद मूल्य, बिक्री मूल्य र आपूर्तिको जोखिम व्यवस्थापन गर्छ। प्रशोधन उद्योगमा भने कच्चा पदार्थको नियमित आपूर्ति, उत्पादन क्षमता, मेसिनरी, श्रम, गुणस्तर र बजारसम्मको वितरणसमेत व्यवस्थापन गर्नुपर्छ।
कुओकले चिनीको कारोबारलाई यही विस्तृत व्यावसायिक संरचनासँग जोडे।
सन् १९६१ तिर अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्यमा आएको उतारचढाव उनको व्यावसायिक दूरदर्शितासँग जोडेर चर्चा गरिन्छ। मूल्य बढ्नुअघि भारतबाट ठूलो परिमाणमा चिनी खरिद गरेको निर्णयले उनलाई उल्लेखनीय लाभ दिलाएको बताइन्छ। यस्तो निर्णयमा भविष्यमा मूल्य बढ्ने अनुमान मात्र पर्याप्त हुँदैन।
खरिद गर्न आवश्यक पुँजी, वस्तु सुरक्षित राख्ने क्षमता, आपूर्तिकर्तासँगको सम्बन्ध र बजारको मागलाई एकैपटक व्यवस्थापन गर्न सक्नुपर्छ।
कुओकले चिनी बजारमा आफ्नो पकड बलियो बनाउँदै जाँदा उनी ‘एसियाका चिनी राजा’ भनेर चिनिन थाले। उनको व्यापारिक सफलताको चर्चा मलेसियामा मात्र सीमित रहेन। अन्तर्राष्ट्रिय चिनी कारोबारमा ठूलो परिमाणमा व्यापार गर्ने व्यवसायीका रूपमा उनको पहिचान स्थापित भयो।
कुनै समय उनले विश्वको चिनी व्यापारको करिब १० प्रतिशत हिस्सा नियन्त्रण गरेको दाबी उनको जीवनीसँग जोडिएर आउने गर्छ। यस्तो ऐतिहासिक हिस्साको ठ्याक्कै मापन विभिन्न स्रोतमा फरक पर्न सक्ने भए पनि चिनी व्यापारमा उनले बनाएको प्रभाव उल्लेखनीय थियो।
चिनीको व्यापारले कुओकलाई दुईवटा महत्त्वपूर्ण फाइदा दियो। पहिलो, ठूलो परिमाणमा कारोबार गर्न सक्ने पुँजी निर्माण भयो। दोस्रो, अन्तर्राष्ट्रिय आपूर्तिकर्ता, वितरक र बजारसँग सम्बन्ध विस्तार भयो। यी दुवै कुरा पछि अन्य उद्योगमा प्रवेश गर्दा काम लागे।
उनले खाद्यान्नलाई केवल दैनिक उपभोगको वस्तुका रूपमा हेरेनन्। उत्पादन हुने स्थान, प्रशोधन गर्ने उद्योग, भण्डारणको सुविधा, ढुवानीको लागत र उपभोक्तासम्म पुग्ने वितरण प्रणालीलाई एउटै व्यावसायिक शृङ्खलाका रूपमा बुझ्ने दृष्टिकोण विकास गरे।
यही सोचले उनलाई चिनीको कारोबारबाट बाहिर निस्केर अन्य क्षेत्रमा लगानी गर्न सक्षम बनायो।
सन् १९६२ मा फेडरल फ्लोर मिल्स स्थापना हुनु पनि खाद्यान्नमा आधारित व्यावसायिक संरचना विस्तारको अर्को चरण थियो। कम्पनीले पछि गहुँको पिठो उत्पादनसँगै पशु आहारको व्यवसायमा समेत प्रवेश गर्यो। एउटै कच्चा पदार्थ र उत्पादनसँग सम्बन्धित अर्को बजारमा प्रवेश गर्दा विद्यमान आपूर्ति, प्रशोधन र वितरणको संरचना उपयोग गर्न सकिन्छ।
यसरी कुओकसँग जोडिएका व्यवसायमा एउटा उद्योगको अनुभव अर्को उद्योगको विस्तारका लागि आधार बन्न थाल्यो।
होटलदेखि घरजग्गासम्म लगानी विस्तार
चिनीबाट कमाएको पुँजीलाई एउटै उद्योगमा सीमित राख्नुको सट्टा नयाँ क्षेत्रमा परिचालन गर्नु कुओकको दीर्घकालीन रणनीतिको महत्त्वपूर्ण पक्ष थियो।
खाद्यान्नको कारोबारले उनलाई बजार र पुँजी व्यवस्थापनको अनुभव दिएको थियो। तर, कुनै एउटा वस्तुमा अत्यधिक निर्भर रहँदा मूल्यमा हुने परिवर्तन, सरकारी नीतिमा आउने फेरबदल वा आपूर्तिमा देखिने समस्याले सम्पूर्ण व्यवसाय प्रभावित हुन सक्छ। विविधीकरणले यस्तो जोखिम घटाउन सहयोग गर्छ।
उनले सन् १९७१ मा सिङ्गापुरमा शाङ्ग्री–ला होटल सञ्चालनमा ल्याएर आतिथ्य क्षेत्रमा प्रवेश गरे।
यो निर्णय उनको व्यावसायिक यात्राको महत्त्वपूर्ण मोड थियो। खाद्यान्न व्यापार र होटल व्यवसायको प्रकृति फरक छ। पहिलोमा वस्तुको आपूर्ति, मूल्य र बिक्री मुख्य हुन्छ भने दोस्रोमा सेवा, ग्राहकको अनुभव, स्थान, ब्रान्ड र व्यवस्थापनको गुणस्तर निर्णायक हुन्छ।
शाङ्ग्री–लाको अवधारणामा एसियाली आतिथ्य परम्परा र अन्तर्राष्ट्रिय स्तरको सेवा जोडिएको थियो।
कुओकले होटललाई कोठा भाडामा दिने व्यवसायका रूपमा मात्र हेरेनन्। उच्च गुणस्तरको सेवा, आरामदायी वातावरण र ग्राहकप्रतिको व्यवहारलाई ब्रान्डको पहिचान बनाउने प्रयास गरे। होटलको भौतिक संरचना महत्त्वपूर्ण भए पनि ग्राहकले प्राप्त गर्ने अनुभवले नै त्यसको प्रतिष्ठा निर्माण गर्छ भन्ने सोच यसमा देखिन्छ।
सिङ्गापुरको पहिलो होटलबाट सुरु भएको शाङ्ग्री–ला क्रमशः अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डमा विकसित भयो। पछि यसले विभिन्न देशका प्रमुख सहर र पर्यटकीय गन्तव्यमा होटल तथा रिसोर्ट विस्तार गर्यो। शाङ्ग्री–ला समूहको वर्तमान व्यवसायमा होटल सञ्चालनसँगै घरजग्गा, लगानीका सम्पत्ति, जीवनशैली र स्वास्थ्यसम्बन्धी सुविधासमेत समेटिएका छन्।
होटल व्यवसायमा ब्रान्ड निर्माण गर्न लामो समय लाग्छ। एउटा होटलको सफलताले अर्को देशमा स्वतः सफलता सुनिश्चित गर्दैन। फरक बजारका ग्राहकको अपेक्षा, श्रम लागत, सञ्चालन खर्च, पर्यटनको अवस्था र प्रतिस्पर्धा फरक हुन्छन्।
त्यसैले अन्तर्राष्ट्रिय विस्तारका लागि एउटै सेवा मापदण्ड कायम राख्दै स्थानीय बजारअनुसार सञ्चालन गर्न सक्ने क्षमता आवश्यक हुन्छ।
शाङ्ग्री–लाको विस्तारले कुओक समूहलाई अन्तर्राष्ट्रिय ग्राहक, पर्यटन बजार र सहरी अर्थतन्त्रसँग जोड्यो। यसले समूहको आम्दानीको आधारलाई खाद्यान्नको व्यापारभन्दा फराकिलो बनायो। साथै, होटल सञ्चालनसँग सम्बन्धित घरजग्गा र अन्य लगानीका अवसर पनि खुले।
सन् १९७४ मा हङकङमा केरी होल्डिङ्स स्थापना भएपछि समूहको विस्तारमा अर्को महत्त्वपूर्ण अध्याय थपियो। हङकङ अन्तर्राष्ट्रिय वित्त, व्यापार, ढुवानी र चीनसँगको आर्थिक सम्बन्धको प्रमुख केन्द्र थियो। यसलाई आधार बनाएर कुओक समूहले हङकङ र मुख्यभूमि चीनमा व्यावसायिक उपस्थिति बढाउने बाटो रोज्यो।
सन् १९७७ मा हङकङको काउलुन क्षेत्रमा होटल र घरजग्गासम्बन्धी विस्तारले समूहको सहरी सम्पत्तिमा आधारित व्यवसायलाई थप बलियो बनायो। त्यसपछि केरी समूहसँग सम्बन्धित घरजग्गा व्यवसायले आवासीय भवन, कार्यालय, व्यापारिक परिसर र मिश्रित उपयोगका परियोजनामा लगानी विस्तार गर्यो।
केरी प्रोपर्टीज हङकङको सेयर बजारमा सन् १९९६ मा सूचीकृत भयो।
घरजग्गा व्यवसायमा लगानी गर्दा ठूलो पुँजी लामो समयसम्म एउटै परियोजनामा बाँधिन सक्छ। जग्गाको मूल्य, निर्माण लागत, ब्याजदर, बिक्रीको गति र भाडाबाट प्राप्त हुने आम्दानीले लगानीको प्रतिफल निर्धारण गर्छ। कुओक समूहले होटल, कार्यालय र आवासीय सम्पत्तिलाई एकअर्कासँग सम्बन्धित क्षेत्रका रूपमा विकास गर्न खोज्यो।
एउटै सहरमा होटल, व्यापारिक भवन र आवासीय परियोजना सञ्चालन गर्दा सहरी विकाससँगै विभिन्न प्रकारका ग्राहक र बजारमा पहुँच बढाउन सकिन्छ।
यसरी चिनीबाट निर्माण भएको पुँजी होटल र घरजग्गामा पुग्यो। यी क्षेत्रले फेरि समूहलाई अन्तर्राष्ट्रिय बजारमा नयाँ अवसर खोज्न सक्षम बनाए। लगानीको विविधीकरणले व्यवसायको आकार बढाउनुका साथै जोखिमलाई विभिन्न उद्योगमा बाँड्ने आधार तयार गर्यो।
चीनको बजारमा समयमै प्रवेश
कुओकको व्यावसायिक सफलतामा चीनसँगको सम्बन्ध महत्त्वपूर्ण मानिन्छ। उनको पारिवारिक जरा चीनमा भए पनि उनको व्यावसायिक जीवन मलेसियाबाट सुरु भएको थियो। पछि सिङ्गापुर र हङकङमा विस्तार गर्दै उनले मुख्यभूमि चीनलाई दीर्घकालीन व्यावसायिक अवसरका रूपमा हेरे।
चीनले सन् १९७० को दशकको अन्त्यतिर आर्थिक सुधार र बाह्य लगानीका लागि बजार खुला गर्ने नीति अघि बढाएपछि विदेशी तथा विदेशी मूलका चिनियाँ व्यवसायीका लागि नयाँ अवसर सिर्जना भयो। कुओक समूह सन् १९८० तिर मुख्यभूमि चीनमा लगानी गर्ने प्रारम्भिक विदेशी लगानीकर्तामध्ये एक बन्यो।
कुनै अर्थतन्त्र खुला हुँदै गर्दा त्यसको व्यावसायिक सम्भावना तत्काल देखिए पनि जोखिम उच्च हुन सक्छ। नियम, लगानीसम्बन्धी व्यवस्था, सम्पत्तिको अधिकार, साझेदारीका सर्त र बजारको संरचना परिवर्तन भइरहेका हुन्छन्।
यस्तो अवस्थामा लगानी गर्न स्थानीय परिस्थितिको बुझाइ, सरकारी निकायसँग संवाद गर्ने क्षमता र दीर्घकालीन दृष्टिकोण आवश्यक पर्छ।
कुओकले चीनमा होटल, घरजग्गा र व्यापारिक पूर्वाधारसँग सम्बन्धित अवसर पहिचान गरे। बेइजिङस्थित चाइना वर्ल्ड ट्रेड सेन्टर परियोजना यस सन्दर्भमा उल्लेखनीय छ। सन् १९८० को दशकमा विकसित यो व्यापारिक परिसरले चीनको अन्तर्राष्ट्रिय व्यापार र सहरी व्यावसायिक पूर्वाधार विस्तारसँग सम्बन्ध राख्छ।
परियोजनाले विदेशी कम्पनीलाई चीनको बजारमा प्रवेश गर्न र स्थानीय व्यवसायलाई अन्तर्राष्ट्रिय कारोबारसँग जोडिन सहयोग पुर्याउने व्यावसायिक वातावरण निर्माण गर्यो।
बेइजिङको व्यापारिक केन्द्रमा लगानी गर्नु केवल जग्गा वा भवनमा पैसा लगाउनु थिएन। अन्तर्राष्ट्रिय कम्पनीहरू चीनमा प्रवेश गर्ने क्रममा उनीहरूलाई कार्यालय, होटल, व्यापारिक सेवा र आधुनिक पूर्वाधार आवश्यक थियो। यस्तो माग भविष्यमा बढ्ने अनुमान गरेर गरिएको लगानीले कुओक समूहलाई चीनको आर्थिक रूपान्तरणसँग जोड्यो।
चीनमा उनको व्यावसायिक रुचि घरजग्गा र होटलमा मात्र सीमित रहेन।
\कृषि प्रशोधन तथा खाद्य तेलको बजारमा पनि समूहले लगानी विस्तार गर्यो। सन् १९८८ मा कुओक समूह र चीनको सरकारी स्वामित्वमा रहेको कोफ्को समूहबीचको संयुक्त लगानीबाट दक्षिणी चीनमा आधुनिक खाद्य तेल प्रशोधनसम्बन्धी परियोजना अघि बढाइएको थियो। यसले कृषि उत्पादनलाई प्रशोधन गरी उपभोक्ता बजारसम्म पुर्याउने व्यवसायमा समूहको अनुभव विस्तार गर्यो।
कुओकको चीनसम्बन्धी रणनीतिको विशेषता राजनीतिक परिवर्तन र आर्थिक नीतिलाई व्यावसायिक सम्भावनासँग जोडेर हेर्नु थियो। नयाँ बजारमा प्रवेश गर्दा तत्कालको नाफाभन्दा दीर्घकालीन उपस्थिति निर्माणमा जोड दिइयो। चीनको अर्थतन्त्र विस्तार हुँदै जाँदा होटल, कार्यालय, खाद्यान्न र लजिस्टिक्सको माग पनि बढ्ने सम्भावना थियो।
समूहका विभिन्न व्यवसायले यही आर्थिक विस्तारबाट अवसर प्राप्त गरे।
उनको सफलतालाई केवल राजनीतिक नेतृत्वसँगको सम्बन्धका आधारमा व्याख्या गर्नु अपूरो हुन्छ। अन्तर्राष्ट्रिय लगानीमा सम्बन्ध र पहुँच महत्त्वपूर्ण भए पनि त्यसलाई व्यावसायिक परिणाममा बदल्न पुँजी, सञ्चालन क्षमता, परियोजना व्यवस्थापन र बजारको माग बुझ्ने दक्षता आवश्यक हुन्छ।
कुओक समूहले चीनमा विभिन्न क्षेत्रमा गरेको लगानीले यी पक्षबीचको सम्बन्ध देखाउँछ।
हङकङलाई आधार बनाएर मुख्यभूमि चीनमा विस्तार गर्नुले पनि रणनीतिक लाभ दिएको थियो। हङकङ अन्तर्राष्ट्रिय वित्त र व्यापारको केन्द्र भएकाले त्यहाँको व्यावसायिक संरचनाबाट चीनमा लगानी विस्तार गर्न सहज वातावरण उपलब्ध भयो।
समूहले एउटै देशमा निर्भर नभई विभिन्न बजारमा उपस्थिति बनाउने रणनीति अपनाउँदा चीनको आर्थिक वृद्धिसँगै अन्य क्षेत्रका अवसरसमेत उपयोग गर्न सक्ने अवस्था बन्यो।
कृषि, ढुवानी र बहुराष्ट्रिय संरचना
कुओक समूहको विस्तारमा कृषि व्यवसाय र खाद्यान्न प्रशोधनले अझै महत्त्वपूर्ण स्थान राख्छन्। चिनीको व्यापारबाट सुरु भएको यात्रा खाद्य तेल, वनस्पति तेल, अन्न प्रशोधन र कृषि आपूर्ति शृङ्खलासम्म पुगेको छ। यस क्षेत्रमा विल्मार इन्टरनेसनलको भूमिका विशेष उल्लेखनीय छ।
विल्मार इन्टरनेसनल सन् १९९१ मा कुओक खुन होङ र मार्टुआ सितोरसको सहसंस्थापनामा स्थापना भएको थियो। कम्पनीको सुरुआती पुँजी सीमित थियो र कर्मचारीको सङ्ख्या पनि थोरै थियो। तर, कृषि उत्पादनको प्रशोधन, तेल उत्पादन र वितरणमा केन्द्रित व्यवसाय क्रमशः अन्तर्राष्ट्रिय स्तरमा विस्तार भयो।
कुओक समूह यस कम्पनीको प्रमुख सेयरधनीका रूपमा जोडिएको छ।
विल्मारको विस्तारले कुओक समूहको कृषि व्यवसायलाई नयाँ स्वरूप दियो। परम्परागत खाद्यान्न व्यापारमा उत्पादन खरिद गरेर बेच्ने काम प्रमुख हुन्छ।
कृषि प्रशोधनमा भने उत्पादनको स्रोत, प्रशोधन कारखाना, प्याकेजिङ, ब्रान्डिङ, वितरण र उपभोक्तासम्मको पहुँचलाई एकीकृत गर्न सकिन्छ। यसले लागत नियन्त्रण र बजारमा प्रतिस्पर्धा गर्ने क्षमता बढाउन मद्दत गर्छ।
पाम आयल र अन्य खाद्य तेलको व्यवसायमा उत्पादन तथा प्रशोधनको भौगोलिक फैलावट महत्त्वपूर्ण हुन्छ। कच्चा पदार्थ उत्पादन हुने देश, प्रशोधन केन्द्र, निर्यात बजार र उपभोक्ताको स्थान फरक हुन सक्छ। यस्तो व्यवसाय सञ्चालन गर्न आपूर्ति शृङ्खलाको प्रभावकारी व्यवस्थापन र अन्तर्राष्ट्रिय बजारमा पहुँच आवश्यक हुन्छ।
विल्मारले दक्षिणपूर्वी एसियाबाट सुरु भएको आफ्नो व्यवसायलाई विभिन्न देशमा फैलाउँदै कृषि व्यापारको ठूलो संरचना विकास गरेको छ।
सन् २००७ मा कुओक समूहसँग सम्बन्धित तेल, अन्न र पाम आयलको व्यवसाय विल्मारसँग एकीकृत हुँदा कम्पनीको विस्तारमा नयाँ चरण सुरु भयो। यस एकीकरणले उत्पादन, प्रशोधन र वितरणका विभिन्न गतिविधिलाई एउटै ठूलो व्यावसायिक संरचनामा जोड्ने अवसर दियो।
कृषि उत्पादनको ठूलो परिमाणमा कारोबार गर्ने कम्पनीका लागि यस्तो एकीकरणले आपूर्ति शृङ्खलामा समन्वय, लागत व्यवस्थापन र बजार विस्तारमा सहयोग पुर्याउन सक्छ।
कृषि व्यवसायसँगै समुद्री यातायात र ढुवानी पनि कुओक समूहको विस्तारका महत्त्वपूर्ण क्षेत्र बने। सन् १९७३ मा सिङ्गापुरमा प्यासिफिक क्यारियर्स लिमिटेड स्थापना गरिएको थियो। यसले समूहको अन्तर्राष्ट्रिय व्यापारलाई समुद्री ढुवानीसँग जोड्ने आधार तयार गर्यो।
पछि जहाजसम्बन्धी सेवा, समुद्री संरचना र जहाज मर्मत तथा निर्माणका गतिविधिसमेत विस्तार भए।
अन्तर्राष्ट्रिय व्यापारमा उत्पादन वा वस्तु खरिद गर्नु एउटा पक्ष हो भने त्यसलाई समयमै गन्तव्यसम्म पुर्याउनु अर्को महत्त्वपूर्ण पक्ष हो। समुद्री ढुवानीमा जहाजको उपलब्धता, मालसामानको परिमाण, इन्धन खर्च, बन्दरगाहको अवस्था र विश्वव्यापी व्यापारको गति निर्णायक हुन्छन्।
आफ्नै ढुवानीसम्बन्धी व्यवसाय हुँदा समूहलाई अन्तर्राष्ट्रिय व्यापारको आवश्यकतासँग नजिक रहन र विभिन्न उद्योगमा उपयोगी सेवा उपलब्ध गराउन सहज हुन्छ।
सन् १९८१ मा स्थापना भएको केरी गोडाउनबाट विकसित केरी लजिस्टिक्स व्यवसाय पनि यही रणनीतिको अर्को पक्ष हो। यसले भण्डारण र गोदामको सेवाबाट सुरु गरेर अन्तर्राष्ट्रिय लजिस्टिक्स क्षेत्रमा विस्तार गर्यो। अहिले केएलएन नामबाट चिनिने यस व्यवसायको सञ्जाल विभिन्न देशमा फैलिएको छ।
कृषि उत्पादन, प्रशोधन, भण्डारण र ढुवानीबीचको सम्बन्धले कुओक समूहको व्यवसाय विस्तारलाई बुझ्न सहयोग गर्छ। चिनीको व्यापारबाट सुरु भएको अनुभव पछि कृषि प्रशोधन र अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खलामा उपयोगी बन्यो। होटल तथा घरजग्गाको व्यवसायले अर्कोतर्फ सहरी विकास, पर्यटन र सेवा क्षेत्रमा अवसर खोल्यो।
यद्यपि, विभिन्न उद्योगमा लगानी गर्दैमा जोखिम स्वतः समाप्त हुँदैन। कृषि व्यवसाय मौसम, उत्पादन र वस्तुको मूल्यमा निर्भर हुन्छ। होटल पर्यटनको माग र सञ्चालन खर्चबाट प्रभावित हुन्छ। घरजग्गामा ठूलो पुँजी लामो समयसम्म बाँधिन सक्छ भने समुद्री यातायात विश्वव्यापी व्यापार र ढुवानी लागतको उतारचढावसँग जोडिन्छ।
त्यसैले विविधीकरणको वास्तविक सफलता विभिन्न व्यवसायलाई छुट्टाछुट्टै दक्षताका साथ सञ्चालन गर्न सक्ने क्षमतामा निर्भर हुन्छ।
पुस्तान्तरण र व्यावसायिक विरासत
रोबर्ट कुओकको व्यावसायिक साम्राज्यको अर्को महत्त्वपूर्ण पक्ष पारिवारिक व्यवसायलाई दीर्घकालीन संस्थागत संरचनामा विकास गर्नु हो। परिवारका सदस्यहरूले विभिन्न कम्पनीको नेतृत्व सम्हाल्दै आए पनि समूहको सम्पूर्ण व्यवसाय एउटै कम्पनीको मातहतमा रहेको सरल संरचना होइन।
कुओक समूहसँग सम्बन्धित विभिन्न कम्पनीले फरक बजार, क्षेत्र र व्यावसायिक मोडलअनुसार काम गर्छन्।
समूहको विस्तारसँगै घरजग्गा, होटल, कृषि व्यवसाय र ढुवानीका गतिविधि विभिन्न कम्पनीमार्फत सञ्चालन हुँदै आएका छन्।
यसले प्रत्येक व्यवसायलाई आफ्नो क्षेत्रअनुसार निर्णय लिन र व्यवस्थापन गर्न सक्ने संरचना प्रदान गर्छ। समूहको समग्र दिशा र दीर्घकालीन व्यावसायिक हित कायम राख्दै अलग-अलग कम्पनीको सञ्चालन दक्षता बढाउनु यस्तो संरचनाको चुनौती हो।
कुओक परिवारका सदस्यहरूले समूहसँग सम्बन्धित कम्पनीहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्। उनका भतिजा कुओक खुन होङ विल्मार इन्टरनेसनलसँग जोडिएका प्रमुख व्यवसायी हुन्। उनका छोराहरू पनि समूहका विभिन्न व्यवसायमा संलग्न रहँदै आएका छन्।
तर, सबै कम्पनी एउटै व्यक्तिको प्रत्यक्ष नियन्त्रणमा चल्नेभन्दा फरक नेतृत्व र संस्थागत व्यवस्थापनमा सञ्चालन हुने संरचनाको विकास भएको छ।
पारिवारिक व्यवसायमा पुस्तान्तरण केवल सम्पत्ति वा सेयर हस्तान्तरण गर्ने विषय होइन। संस्थापकले निर्माण गरेको बजारको बुझाइ, व्यावसायिक सम्बन्ध, निर्णय गर्ने पद्धति र संस्थागत मूल्यलाई नयाँ पुस्तामा कसरी निरन्तरता दिने भन्ने प्रश्न पनि यससँग जोडिन्छ।
व्यवसाय संस्थापकको व्यक्तिगत क्षमता र सम्बन्धमा मात्र निर्भर रह्यो भने नेतृत्व परिवर्तनसँगै सञ्चालनमा समस्या आउन सक्छ। त्यसैले व्यावसायिक जिम्मेवारी बाँडफाँट, व्यवस्थापन क्षमता विकास र दीर्घकालीन योजना आवश्यक हुन्छ।
कुओक समूहको आधिकारिक इतिहासले निरन्तर प्रयास, निष्ठा र इमानदारीलाई समूहको व्यावसायिक संस्कृतिका आधारका रूपमा उल्लेख गरेको छ। यी मूल्यलाई संस्थागत व्यवहारमा रूपान्तरण गर्नु नै पुस्तान्तरणको दीर्घकालीन परीक्षा हो।
कुओकको व्यावसायिक यात्रामा सामाजिक उत्तरदायित्वले पनि स्थान पाएको छ।
सन् १९७० मा मलेसियामा स्थापना गरिएको कुओक फाउन्डेसनले शिक्षा र सामाजिक कल्याणसँग सम्बन्धित काम गर्दै आएको छ। छात्रवृत्ति, शैक्षिक सहयोग र अन्य सामाजिक कार्यक्रममार्फत आर्थिक अवसरबाट वञ्चित व्यक्तिलाई सहयोग पुर्याउने उद्देश्य यससँग जोडिएको छ। पछि समूहसँग सम्बन्धित अन्य परोपकारी पहल पनि अघि बढेका छन्।
सन् २०१७ मा प्रकाशित ‘रोबर्ट कुओक : ए मेमोयर’ उनको जीवन र व्यावसायिक अनुभव बुझ्न उपयोगी स्रोत बनेको छ। आत्मकथाले उनको बाल्यकाल, व्यापारको सुरुआत, जोखिमसम्बन्धी निर्णय र व्यावसायिक दर्शनलाई सार्वजनिक रूपमा बुझ्ने अवसर दिएको छ।
मिडियाबाट तुलनात्मक रूपमा टाढा रहने स्वभावका कारण उनको व्यक्तिगत जीवनबारे सार्वजनिक जानकारी सीमित रहे पनि व्यवसायसम्बन्धी अनुभवले उनलाई अन्तर्राष्ट्रिय उद्यमशीलताको चर्चित व्यक्तित्व बनाएको छ।
कुओकको व्यावसायिक यात्रालाई सफलताको सरल सूत्रका रूपमा प्रस्तुत गर्नु उचित हुँदैन।
उनले काम गरेको समय, देशको आर्थिक अवस्था, अन्तर्राष्ट्रिय व्यापारका अवसर र उपलब्ध पुँजीले पनि उनको सफलतामा भूमिका खेले। चिनी बजारमा प्राप्त लाभ, चीनको खुला हुँदै गएको अर्थतन्त्रमा समयमै प्रवेश र विभिन्न उद्योगमा लगानी विस्तार गर्ने निर्णयले उनको व्यवसायको आकार बढाउन सहयोग गरे।
उनको उदाहरणबाट सिक्न सकिने प्रमुख पाठ भनेको व्यवसायको स्वरूप परिवर्तन गर्न सक्ने क्षमता हो। सुरुमा चामल, चिनी र पिठोको कारोबार गर्ने कम्पनीले उत्पादन र प्रशोधनमा प्रवेश गर्यो। त्यसपछि होटल, घरजग्गा, कृषि व्यवसाय र ढुवानीमा विस्तार भयो।
प्रत्येक चरणमा पुरानो व्यवसायबाट प्राप्त पुँजी, अनुभव र सम्बन्धलाई नयाँ अवसर उपयोग गर्न लगाइयो।
आज रोबर्ट कुओक एक शताब्दीभन्दा लामो जीवनयात्रा पार गरेका व्यवसायी हुन्। उनको व्यावसायिक विरासत विभिन्न देश र उद्योगमा फैलिएका कम्पनी, लगानी र संस्थागत संरचनामा देखिन्छ। समूहको वर्तमान स्वरूपले पनि उनको यात्रा एउटा व्यक्तिको सफलताभन्दा ठूलो भइसकेको देखाउँछ।
संस्थापकले निर्माण गरेको व्यावसायिक आधारलाई नयाँ पुस्ताले बदलिँदो बजार, प्रविधि र प्रतिस्पर्धाअनुसार अघि बढाउनु नै अब त्यस विरासतको निरन्तरतासँग जोडिएको छ।
रोबर्ट कुओकको कथा खाद्यान्न व्यापारबाट सुरु भएर अन्तर्राष्ट्रिय व्यावसायिक साम्राज्यसम्म पुगेको यात्रा हो। तर, यसको वास्तविक महत्त्व उनले कति सम्पत्ति कमाए भन्नेमा मात्र सीमित छैन।
बजारको आवश्यकता बुझ्ने, आपूर्ति र मूल्यको सम्बन्ध पहिचान गर्ने, कमाएको पुँजीलाई नयाँ क्षेत्रमा लगानी गर्ने र फरक देशका बजारलाई एउटै व्यावसायिक दृष्टिकोणबाट जोड्ने क्षमताले उनको परिचय निर्माण गरेको छ। यही कारण कुओकको व्यावसायिक यात्रा एसियाली उद्यमशीलताको इतिहासमा उल्लेखनीय स्थान राख्छ।
