रौतहट । अनलाइनमार्फत बैंक तथा डिजिटल वालेटका कर्मचारी बनेर ‘केवाईसी अपडेट’ गरिदिने बहानामा करिब ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको टोलीले रौतहटको गौर नगरपालिका–३ स्थित पोखरिया टोल र वडा नं. ५ को कोइरी टोलमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बिहार राज्य, सीतामढी जिल्लाको बैरगनिया घर भई हाल गौर–३ मा डेरा गरी बस्ने २४ वर्षीय मो. साहिल, २२ वर्षीया सलोनी कुमारी सोनी र गौर–५ का १८ वर्षीय नितेश कुशवाहा रहेका छन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उनीहरूले आफूलाई विभिन्न बैंक तथा ई–सेवाका आधिकारिक कर्मचारी भन्दै सेवाग्राहीलाई फोन तथा भिडियो कल गर्ने गरेका थिए । त्यसपछि केवाईसी अपडेट गर्ने र प्राविधिक सहयोग उपलब्ध गराउने बहानामा पीडितलाई मोबाइलको स्क्रिन सेयर गर्न लगाई वान टाइम पासवर्ड (ओटीपी) लगायतका गोप्य बैंकिङ विवरण प्राप्त गर्ने गरेको खुलेको छ ।
यसरी प्राप्त विवरण प्रयोग गरी उनीहरूले सेवाग्राहीका बैंक तथा डिजिटल वालेट खाताबाट अनधिकृत रूपमा रकम स्थानान्तरण गरी ठगी गर्ने गरेको प्रहरीको भनाइ छ । हालसम्म उनीहरूले विभिन्न व्यक्तिबाट ४९ लाख ८७ हजार ३३३ रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले पक्राउ गर्ने क्रममा नेपाली रुपैयाँ १ लाख ६२ हजार २१० र भारतीय रुपैयाँ ३ हजार २३६ बरामद गरेको छ । उनीहरूको साथबाट सात थान मोबाइल फोन, ११ थान सिमकार्ड, तीन थान एटीएम कार्ड र विभिन्न बैंकका ३० थान डिपोजिट भौचर पनि फेला परेका छन् ।
त्यसैगरी, प्रभु बैंकको १६ हजार रुपैयाँ र ग्लोबल आईएमई बैंकको २० लाख रुपैयाँ उल्लेख गरिएका दुई थान चेक, विभिन्न बैंकका चेकबुक, डायरी, कपी, पेनड्राइभ, मेमोरी कार्ड तथा सर्वसाधारणका बैंकिङ विवरण लेखिएका पर्चासमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनै जनालाई हिरासतमा राखेर ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
