बागलुङ। बाढीपहिरोले क्षति पुर्याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म अस्थायी मर्मतपछि सञ्चालनमा आएका छन् । सडक सञ्चालनमा आएपछि दसैँ मनाउन घर फर्किने यात्रुलाई सहज भएको छ ।
यही असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले जिल्लाका सडक पूर्वाधारमा ठूलो क्षति पुर्याएको थियो ।
मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर, बागलुङ–बेनी सडक, प्रदेशस्तरीय तथा ग्रामीण सडक अवरुद्ध भएका थिए । क्षतिग्रस्त सडकमा अस्थायी मर्मत गरी यातायात सञ्चालनमा ल्याइएको हो ।
सडक डिभिजन कार्यालय बागलुङका प्रमुख हरि सुवेदीका अनुसार मालढुङ्गा पुलको पहुँचमार्ग, बागलुङ–बेनी सडक तथा मध्यपहाडी लोकमार्गको गलकोट र निसीखोला खण्डमा मर्मतपछि यातायात सञ्चालन भएको छ । मालढुङ्गा पुलको पहुँचमार्ग १५ दिनपछि र गलकोट–ताराखोला सडक १७ दिनपछि सञ्चालनमा आएको थियो ।
सडक डिभिजन कार्यालयअन्तर्गतका राष्ट्रिय तथा सहायक राजमार्गमा करिब रु. ३० करोडको क्षति भएको सुवेदीले बताए । मध्यपहाडी लोकमार्गको निसीखोला र गलकोट खण्डमा सबैभन्दा बढी क्षति पुगेको उनले जानकारी दिए ।
मध्यपहाडी लोकमार्गको निसीखोलास्थित कानाबगर र झिवाखोला क्षेत्रमा करिब ४०० मिटर सडक बगाएर बगरमा परिणत भएको थियो । ती स्थानमा डाइभर्सन निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको छ । घोडाबाँधे–हटिया खण्डमा पनि एक दर्जनभन्दा बढी स्थानमा पहिरो गएको र सडक भासिएको थियो ।
कालीगण्डकी करिडोरको कालाखोला बगर, बेलबगर र जैमिनीघाट क्षेत्रमा पहिरोले क्षति पुर्याएको थियो । ती स्थानमा अस्थायी पहुँचमार्ग निर्माण तथा मर्मत गरेर यातायात सञ्चालन गरिएको छ । बागलुङ बजारदेखि सिँगाना र तित्याङ जाने सडकमा पनि पहिरोले क्षति पुर्याएको थियो । अवरुद्ध ग्रामीण सडक स्थानीय तहले मर्मत गरेर सञ्चालनमा ल्याएका छन् ।
पूर्वाधार विकास कार्यालय बागलुङका प्रमुख अनुप थापाका अनुसार प्रदेश सरकारअन्तर्गतका सडकमा करिब रु. २० करोडको क्षति भएको प्रारम्भिक अनुमान छ । सबैभन्दा बढी क्षति गलकोट–हरिचौर–ताराखोला सडकमा पुगेको उनले बताए ।
उक्त सडकको आठ किलोमिटर खण्डमा एक दर्जन स्थानमा पहिरो गएको थियो भने तीन स्थानमा ताराखोलाले कालोपत्र सडकको ट्र्याक नै बगाएको थियो । ती स्थानमा माटो भरेर अस्थायी रूपमा यातायात सञ्चालनमा ल्याइएको छ ।
जिल्लाका राष्ट्रिय, सहायक तथा प्रदेशस्तरीय सडकमा गरी करिब रु. ५० करोडको क्षति भएको प्रारम्भिक अनुमान छ । क्षतिग्रस्त सडकको दीर्घकालीन पुनर्निर्माणका लागि रु. एक अर्बभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ । तत्कालका लागि कटिङ, फिलिङ र अस्थायी पहुँचमार्ग निर्माण गरेर सडक सञ्चालनमा ल्याइए पनि स्थायी पुनर्निर्माणको काम भने बाँकी छ ।

