काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणबाट करिब डेढ अर्ब रुपैयाँको समग्र आर्थिक कारोबार हुने अनुमान गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) अन्तर्गत प्रतियोगिताबाट ७० देखि ७५ करोड रुपैयाँसम्मको कारोबार हुने र फ्रेन्चाइज टोलीहरूले पनि सोही हाराहारीमा खर्च गर्ने अनुमान गरिएको हो।
क्यानका कोषाध्यक्ष पदम खड्काले आइतबार कीर्तिपुरस्थित क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको प्रायोजन, टिकट बिक्रीलगायतका स्रोतबाट क्यानले ७० देखि ७५ करोड रुपैयाँसम्मको आर्थिक कारोबार गर्ने अनुमान गरिएको जानकारी दिए।
उनका अनुसार एनपीएलको तेस्रो संस्करणबाट प्रायोजनमार्फत मात्रै करिब २० करोड रुपैयाँ प्राप्त हुने अनुमान छ। टिकट बिक्री तथा अन्य स्रोतबाट हुने आम्दानीसमेत जोड्दा क्यानको कारोबार ७० देखि ७५ करोड रुपैयाँसम्म पुग्ने अपेक्षा गरिएको छ।
फ्रेन्चाइज टोलीका मालिकहरूले पनि प्रतियोगिताका लागि क्यानले गर्ने खर्चकै हाराहारीमा रकम खर्च गर्ने अनुमान गरिएको खड्काले बताए। यसअनुसार एक महिनासम्म सञ्चालन हुने एनपीएलको तेस्रो संस्करणमा समग्र आर्थिक कारोबार करिब डेढ अर्ब रुपैयाँ पुग्ने उनको आकलन छ।
प्रतियोगिताको तेस्रो संस्करणमा पुरस्कार राशि पनि बढाइएको छ। खड्काका अनुसार विजेता टोलीले एक करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। उपविजेताले ८० लाख रुपैयाँ पाउँदा तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ पाउनेछन्।
पहिलो र दोस्रो संस्करणमा पनि टोलीगत तथा व्यक्तिगत पुरस्कारको व्यवस्था गरिएको थियो। यस पटक एनपीएल गभर्निङ काउन्सिलको सल्लाह र क्यान अध्यक्षको सहमतिमा पुरस्कार राशि निर्धारण गरिएको खड्काले बताए।
क्यानले नेपाली क्रिकेटलाई आर्थिक रूपमा सबल बनाउने र संस्थाको कार्यकाललाई उपलब्धिमूलक बनाउने लक्ष्यसहित काम गरिरहेको उनको भनाइ छ। पहिलो संस्करणदेखि तेस्रो संस्करणसम्म आइपुग्दा एनपीएलले आर्थिक रूपमा उल्लेखनीय प्रगति गरेको उनले दाबी गरे।
एनपीएलको तेस्रो संस्करणले नेपाली क्रिकेटको व्यावसायिक विकासलाई थप गति दिने क्यानको अपेक्षा छ। प्रतियोगिताबाट हुने आर्थिक कारोबारले क्रिकेटको व्यावसायिक विस्तारसँगै प्रायोजक, फ्रेन्चाइज टोली र अन्य सम्बन्धित क्षेत्रको गतिविधिलाई समेत बढावा दिने अपेक्षा गरिएको छ।
